तिनको कुरा सुन्दा किन नबढोस् तनाव

तिनको कुरा सुन्दा किन नबढोस् तनाव

नेपालमा समाजवादलाई एकदमै सस्तो नारा र मजदुर तथा गरिब जनता झुक्याउने माध्यम बनाइएको छ । समाजवादको मीठो गफले गरिब जनतालाई ठूलो भ्रममा बाँच्न विवश पारिरहेको छ । मेरा एक जना चिनेका मान्छेको जग्गामा मोहियानी हक कायम भएको रहेछ ।

मोही लागेको जग्गा किनबेच, बैंक वा सहकारीमा धितो राखेर ऋण लिई कुनै पनि काम गर्न नमिल्ने हुन्छ । घर व्यवहार चलाउन आफ्नो हिस्सामा पर्ने जग्गा बेच्नुपर्ने भएछ । मोही नछुटाएसम्म जग्गा बिक्री हुन्न र बैंक तथा सहकारीले पनि धितो लिन मान्दैनन् । एकदिन तिनले मलाई जग्गा कमाइरहेको उक्त मोहीको घर लगे । पहिलेदेखि नै मोहियानी छुटाउन हर प्रयत्न गरेका रहेछन् । मोहीकै चाहनाअनुसार नै जग्गा बाँडफाँट गरेमा आफूलाई कुनै आपत्ति नहुने कुरा पनि पटक–पटक गरिसकेका रहेछन् ।

तर, मोहीले उनको हरेक अनुरोधलाई मान्न अस्वीकार गरेका रहेछन् । मैले ती मोहीलाई नियमानुसार पाउने हिस्सा लिएर भागबण्डा गरे के बेठीक हुन्छ र भनेर सोधेँ । उनले मलाई भने, ‘देशमा छिट्टै समाजवाद आउँदै छ । समाजवाद आएपछि मैले जोत्दै आएको यो जग्गा मेरै हुन्छ । त्यसैले नछोडेको ।’ उनको यस्तो कुरा सुनेर म चकित परेँ । हाम्रो समाजवादको अवस्था यस्तो छ । 

समाजवाद आउने हो कि बनाउने हो ? आउने हो भने कहाँबाट र कसरी आउँछ, कसले ल्याउँछ ? यदि बनाउने हो भने कसरी बनाउने हो र कसले बनाउने हो ? यसबारे कोही बोल्दैन । कसैले छलफल पनि गर्दैन । समाजवाद भनेको के हो भनेर जनतालाई बुझाउने काम भएकै छैन । समाजवाद भनेर नथाक्ने र लक्ष्य नै समाजवाद बनाएका वामपन्थी दलले जनतालाई बुझाउनुपर्ने आवश्यकता देखिरहेका छैनन् । नबुझेको अथवा भ्रममा राखिएको जनताले आफूले कमाउँदै आएको जग्गा आफ्नै हुने भन्ठानेपछि जग्गा नियमानुसार बाँडफाँड किन गर्छ ?

साधारण बोलीचालीको भाषामा भन्दा सबैको घर व्यवहार राम्रोसँग चल्ने कुरा नै समाजवाद हो । कुनै ठूलो उल्झनबिना जनताको घर व्यवहार चल्ने आर्थिक–सामाजिक प्रणाली नै समाजवाद हो । यस्तो साधारण विषयलाई धेरै जटिल र बोझिलो बनाएर जनतासामु भनिएको छ । यसलाई टाढाको जूनजस्तो बनाएर राखिएको छ । समाजवाद भनेको मान्छेले पढाइ–लेखाइमा चिन्ता लिनु नपर्ने कुरा हो । बिरामी पर्दा औषधोपचार कसरी गर्ने भनेर चिन्ता लिन नपर्ने व्यवस्था हो । बिहान–साँझ भात, दाल, तरकारी र दिउँसोमा अर्नि खानलाई चिन्ता लिनु नपर्ने अवस्था हो । यति सामान्य छ समाजवाद । 

समाजवाद कतैबाट आउने होइन र कसैले ल्याउने पनि होइन । समाजवाद हामी स्वयंले बनाउने हो, आफैँले निर्माण गर्ने हो । तर, विडम्बना कस्तो छ भने समाजवादको निर्माण कसरी हुन्छ र त्यो कसले गर्छ भनेर कहीँ–कतै छलफल भएको थाहा छैन । यसबारे त हरेक गाउँ र बस्तीमा छलफल हुनुपर्ने हो । वामपन्थीका मेनिफेस्टोहरूमा पनि भेटिन्नन् समाजवाद निर्माण गर्ने कुरा । यिनले गीत भने लेख्छन् है ‘सुनको बिहान आउनेछ’ भनेर । 

समाजवाद भनेको हाम्रा समस्या र आवश्यकताको सहज समाधान दिने व्यवस्था हो । यसरी बुझेपछि– हाम्रा आवश्यकता के–के हुन् भनेर ठम्याउन सकिन्छ । हाम्रो समाजमा धनी छन्, गरिब पनि छन् । धनी र गरिबका समस्या उस्तै हुँदैनन्, फरक फरक हुन्छन् । गरिब मान्छेका छोराछोरीलाई पढ्नका लागि स्कूल, कलेजहरू चाहिन्छन् । त्यसकारण स्कूल कलेजहरू बनाउनुपर्‍यो । गरिबहरू बिरामी पर्दा तिनीहरूले सहजै उपचार पाउनुपर्छ । त्यसकारण अस्पताल तथा स्वास्थ्यचौकी बनाउनुप¥यो । हामीले पाको गाँस भन्छौं, सबै नेपालीले पाको गाँस खाई अघाएर सुत्न सक्ने अवस्था हुनुपर्छ । त्यसकारण सबैले क्षमताअनुसारको काम पाउनुपर्छ । त्यसकारण साना, मध्यम, ठूला उद्योग तथा कलकारखाना खोलेर चलाउनुपर्छ । समाजवाद भनेकै यही त हो नि ! वामपन्थी विचारधाराले त्यसतर्फ काम गर्न सिकाउँछ, त्यतातिर हिँड्न बाटो देखाउँछ । तर यहाँको वामपन्थ यस्तो देखिएन । 

गाउँको वडाध्यक्षदेखि प्रदेश र केन्द्रसम्मको सरकारमा वामपन्थी दलका सदस्य मन्त्री छन्, प्रधानमन्त्रीसमेत वामपन्थी छन् । तिनीहरू सबै कार्यकारी पद हुन् । कैयौं ठाउँमा नगरपालिका वा गाउँपालिकाको मेयर/अध्यक्ष जितेका छन् वामपन्थी दलले । गाउँ/नगरपालिकाभित्र स्कूल खोल्ने, स्वास्थ्य चौकी बनाउने, पुस्तकालय खोल्ने, कृषि बाटो बनाउने, स–साना उद्योग खोल्ने काम गर्न केले रोकेको छ यी अध्यक्ष/मेयरलाई ? वडाध्यक्षहरूलाई वडाको स्कूललाई राम्रो बनाउन केले छेकेको छ ? प्रदेश तथा केन्द्रका मन्त्रीहरूलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग आदिमा काम गर्न केले रोकेको छ ? नहर बनाउन शुरु गरे रोजगारी सिर्जना हुन्छ । फुटबल मैदान बनाउन शुरु गरे रोजगारी सिर्जना हुन्छ । चक्लाबन्दीमा जग्गा वितरण गरेर कृषि कार्य गरेमा रोजगारी पैदा हुन्छ । स्थानीय उत्पादनको प्रवद्र्धन गरेमा रोजगारी पैदा हुन्छ ।

तर, यस्तो गरेको देखिन्न । यस्तो गर्ने वामपन्थ देशमा तलदेखि माथिसम्म कतै पनि छैन । समाजवादको जग हाल्ने हो भने त्यसको जिम्मा वडाध्यक्षलाई दिनुपर्छ । मेयरलाई यो–यो गर भनेर टास्क दिनुपर्छ । सांसदलाई यस्ता–यस्ता कानुन बनाउनुपर्छ, मस्यौदा तयार गर भनेर भन्नुपर्छ । मन्त्रीलाई यो–यो योजना बनाएर लागू गर भनेर टास्क दिनुपर्छ । विकास के हो ? पर्यावरण के हो ? अर्थतन्त्र के हो ? बजेट के हो ? उत्पादन र बितरण के हो ? कला र संस्कृति के हो भन्ने बारेमा जानकारी नभएका मान्छे कार्यकारी पदमा पुगेपछि हुने भनेको अहिलेकै जस्तै अवस्था हो । 

सारमा कुरा के हो भने समाजवाद बनाउने कामको शुरुआत वडाबाट थाल्नुपर्छ । केन्द्रबाट वृद्धभत्ता वा एकल महिला भत्ता बाँडेर समाजवादको जग खनिन्न । भत्ता बाँड्दा संसदीय राजनीतिमा हुने चुनावमा भोट भने पाइन सक्छ । हाम्रा वामपन्थी दल भोट पाउने राजनीतिमा फसेका छन्् । यिनीहरूको कथित समाजवादको यात्रा भोटदेखि भोटसम्म मात्रै सीमित छ अर्थात् चुनावदेखि चुनावसम्म ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू