को अनाडि, जान्नेभन्दा नजान्ने अगाडि

को अनाडि, जान्नेभन्दा नजान्ने अगाडि

– तीर्थ सिग्देल

लोभ र लाभ छाडेपछि मान्छे आत्मसम्मानले बाँच्न सक्छ । जब स्वाभिमान धर्मराउँछ, त्यसपछि मान्छे त के पशु पनि मरेतुल्य हुन्छ । अनि त्यही मान्छे आजको सामाजिक संरचनामा आफूलाई जबर्जस्ती उभ्याउन खोज्छ । बाध्यता र रहरको दोसाँधमा उभिएर हुंकार गरेको मान्छे कुनै बेला सुकेको रूखझैँ गर्लम्म ढल्छ । यदाकदा आजको हाम्रो अवस्था यस्तै देखिन्छ । मान्छेले विचार र विवेकभन्दा पनि मान, सम्मान र आदर्शको खोल ओढिरहन्छ, ऊ झट्ट हेर्दा सगरमाथाको चुचुरोमा देखिन्छ । सबैभन्दा माथि पुगेर अरुमाथि शासन गरिरहेको हुन्छ । अनि अरू सबैलाई फुच्चे देख्छ र उस्तै व्यवहार गर्छ । 

पूर्वी एशियातिरका देशमा देखिएको यसखाले प्रवत्ति संस्कृतिजस्तै बनिरहेको छ । जनता त्यसका अनुयायी छन्, जसले बढी झुटको खेती गर्छ, उसले बढी हल्ला गर्छ । मान्छे त्यसमै रमाउँछ । पूर्वबाट दुर्गा प्रसार्इं उर्लिन्छन्, मान्छे त्यसमै खुशी छन् । पश्चिमबाट अरु कोही कराउँछ, मान्छे त्यही भीडमा हुन्छन् । 

नेतृत्वप्रतिको वितृष्णा छ । भीडतन्त्रले राज गरिरहेको छ । मान्छे भीडमा आफूलाई खोज्दै छ । कता–कता भीडभित्रैबाट नेता बन्ने होडबाजी छ । नेता र नेतृत्व सडकबाट मात्र जन्मन्छ भन्ने भाष्य निर्माण भएको छ । कुनै दिन यस्तो पनि थियो । राज्य व्यवस्थाको बर्खिलापमा लाग्दा आजको नेतृत्वले त्यो दिन भोग्यो । आज उनीहरू टाकुरामा छन् । तलबाट मान्छेहरू कराइरहेका छन् । कोही लाइनबाट त कोही लाइन मिचेर । 

रवि लामिछानेहरू पटक–पटक मन्त्री भए । प्रचण्ड र केपी ओलीलाई मार्सी भात खुवाउने दुर्गा प्रसाईंले एउटा मेडिकल कलेजमा पनि स्वीकृति पाएनन् । हर्क साम्पाङले गीत गाएरै मान्छे पट्याए । बालेनहरू अझै डोजर चलाउँदै छन् । उनी युवाका सच्चा प्रतिनिधि सावित हुँदै छन् । मान्छे वैचारिक धार भुत्ते भएपछि पनि साग सब्जी काट्ने तर्खर गर्दै छन् । विचार मरेपछि मान्छे स्वतन्त्र हुन्छ, ऊ त्यसपछि बल्ल स्वतन्त्रताको अनुभूति गर्न थाल्छ । विचार र स्वतन्त्रताका बीचमा खास अन्तर छैन तर मान्छेहरूमाझ भीडतन्त्रले नयाँ परिभाषा जन्माउँदै छ । 

कुनै समय संसारमा अराजकताले शासन गरेको थियो । मान्छेहरू सत्तालाई केन्द्रमा राखेर मात्र आफूलाई सोचिरहेका छन् । सत्ता राजनीति त एउटा माध्यम मात्र हो भनेर बुझ्ने हो भने खासमा मान्छे अलमलमा पर्ने थिएनन् । तर, हाम्रो सामाजिक परिवेशले यही सिकायो कि सबैले माथितिर नै हेर्नुपर्छ किनभने सबथोक माथिबाटै चल्छ । हो, राजनीति केन्द्रबाट निर्देशित हुन्छ, सत्ताको साँचो अझै पनि सिंहदरवारमै छ । नयाँ संविधान आएपछि पनि तलतिर खोलो फर्किएन । अझै राजनीतिको मियो सिंहदरबारमै घुमिरहेको छ । जनता त्यही सिंहदरबारमा पस्न चिट नपाएर बाहिरै छन् । 

यो खेलाँचीको कुरा होइन । मान्छेको भावनासँग जोडिएको विषय हो । मान्छेको सपनासँग सत्ताको सम्बन्ध हुनुपर्छ । त्यही भएर स्वागत नेपालहरू कुर्लिन्छन् । युवराज सफलहरू जाग्छन् । राजनीति मान्छेको भावनासँग खेल्ने चिज होइन । तर मान्छेहरू नै स्वयं राजनीतिको भावनासँग खेल्दै छन् । नेताहरू सुन तस्करीमा जाकिएका छन् । भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । सँगै स्वतन्त्र भएका छिमेकी देशले कति प्रगति गरिसके । हामी मान्छेको भावना र संवेदनामा खेलिरहेका छौं । 

सायद समृद्ध बन्ने चाहनामाथि खेलवाड नगर्ने हो र प्रचण्डको सत्तारोहण माओवादी पार्टीलाई त्यही नाममा अलि समयसम्म टिकाइरहने हो भने अब दुर्गा प्रसाईंहरूको उदय निश्चित छ । एक जना मान्छेले चिया गफमा भनेको सम्झन्छु, दुर्गा प्रसाईंले जे–जे भनेका थिए, त्यो पुग्दै छ । त्यो बेला मैले भनेको थिएँ, उनले भनेको अझै पुग्न बाँकी छ । रवि, हर्क, बालेनहरूले भनेको पनि पुग्नै बाँकी छ किनभने उनीहरू त्यही जनताका भावनामाथि खेल्ने मान्छे हुन् । 

एउटा समय थियो, जतिबेलाका नेताहरूले सिद्धान्त र नैतिकताको बलमा राजनीति गरे । आज त्यो छैन । मान्छेका अथाह चाहनामाथि रहर थपिएका छन् । आजको सत्ताले कति मान्छेमाथि शासन गर्छ । कति रहरले थिचिएका मान्छेका भावनामाथि खेल्छ । अनि तिनै मान्छेका सपनाको मलामी बनेर केन्द्रले शासन गरिरहेको छ । दलहरूले आफ्ना घोषणापत्रमा जनताको फोटो टाँसेका छन्, हलो जोत्ने किसानका अनुहार हालेका छन् । कतै रेलका फोटो छन् त कतै अग्ला टावरका । तर, जनताका सपना घोषणापत्रमा लेखेका भरमा पूरा हुन्थे भने सुटुक्कै न प्रचण्डले सत्ताका सारथि फेर्थे न विश्वप्रकाश शर्माले संसद्मा त्यसरी कुर्लिनुपथ्र्यो । न केपी ओलीले तीन वर्षसम्म अछुतको जस्तो व्यवहार भोग्नु पथ्र्यो । कुरा चल्ने र नचल्ने राजनीतिको आधार के हो ? जहाँ जनता प्रश्न गर्न नसकेर बसिरहेका छन् । अथवा उनीहरू मूलधारबाट बाहिरिँदै गएका छन् । 

सात सालमै जनताले सोचेको सपना पूरा भएको भए..., ०४६ सालमा आएको प्रजातन्त्रमाथि काँग्रेसको एकलौटी नचलेको भए..., माओवादीले हतियार नउठाएको भए..., ज्ञानेन्द्रलाई प्रत्यक्ष शासन गर्ने रहर नपलाएको भए...के हुन्थ्यो ? अनि केपी ओलीले पुस ५ को कदम नचालेको भए पनि आजसम्ममा के के भइसक्थ्यो । मान्छेहरू धेरैजसो अरुतिर फर्केर कुरा गर्छन् । आफ्नै अनुहारमा थुक लाग्ने गरी आकाशतिर फर्र्किएर थुक्छन् ।

आफ्नो कान नछामी कागको पछाडि दौडिन्छन् । दलतन्त्रभित्र खराबी छ तर राम्रो पछि छ । यहाँ सबथोक बिग्रिएको छैन, सप्रिएका कुरा पनि छन् । तर, बिग्रिएको कुराचाहिँ जसले जे जिम्मेवारी पाएको छ, त्यो समयमा पूरा नगरेर बिग्रिएको छ । जान्नेले अवसर पाएको छैन, नजान्ने एक कदम अगाडि छ । अनि तिनै मान्छे केन्द्रतिर फर्किएर धारे हात लगाइरहेका छन् । तर गर्नुपर्ने काम गरिरहेका छैनन् ।

आज ठुल्ठूला परिवर्तन र धरहराजस्ता विकासभन्दा पनि स–साना कुरामा सुधारको खाँचो छ । शासनमा, प्रशासनमा, सिडिओ कार्यालयमा, शिक्षा कार्यालयमा, भन्सारमा, मालपोलमा, भूमिसुधारमा, प्रहरीमा सुधार जरुरी छ । कर्मचारीको आचरण र व्यवहारमा सुधार आउन आवश्यक छ । खाली यत्ति गरे पुग्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू