एकातिर करुणा रस, अर्कातिर निरन्तर उठबस !

एकातिर करुणा रस, अर्कातिर निरन्तर उठबस !

अलि अगाडितिरको कुरा हो, नेपाल प्रहरीमा एक जना ‘हनुमानप्रसाद’ भनिने प्रहरी अधिकृत थिए । मकवानपुरमा हुँदा उनी सायद डिएसपी थिए । कस्ता भने, चरम धार्मिक अनुयायी । कोही चोर समात्न जाँदा चोरचाहिँ घरमा धोतीपटुका बेरेर पूजापाठ गर्न थालेका रहेछन् भने उनी पनि पण्डितले भनेअनुसार आचरणमा बसेर धार्मिक अनुष्ठान गरिरहेका मान्छेलाई छाड्नुपर्छ भन्ने मान्यता राख्थे । डिएसपी पूजापाठ हेरिरहँदा चोरचाहिँ कपडा फेरेर भागिसक्न भ्याउँथे । प्रहरीको यो करुणाभाव सकियो होला भन्ने लागेको थियो । तर, हालसालै गृहमन्त्रीमा द्वितीय प्रयासमा सफल भएका रवि लामिछानेमा पनि उत्कट ढंगले प्रकट भएर आयो । आयो मात्र होइन, यसले गजबको काम गरेर ‘नयाँ र जान्ने’ हरूलाई ‘कट्टा हान्ने’ अवस्थामा उनीहरूलाई ‘छान्ने’ पनि पुगे । 

सुन व्यापारीसँग कृष्णबहादुर महराको कनेक्सन के हो ? माओवादी नेताहरूको उत्तरबाट बगिरहेको पहेँलो धातुको कालो कारोबारमा बरोबर नाम आइरहन्छ । यिनै रवि लामिछाने पत्रकार हुँदा पनि यो कुरा ‘धुवाँदार’ ढंगले उठाउँथे । फोनमा सैयौँ पटक कुरा भएको, छोरा पुर्पक्षमा गएको, बाबु भाग्न खोज्दा राजमार्गमा बेरियर तेस्र्याएर पक्रनुपरेको, महरालाई ल्याउन एक घण्टा त विमान नै रोक्नुपरेको, अझ अंग्रेजीमा भन्नुपर्दा ‘होल्ड’ गरेको विषय नेपाली पत्रकारिताले भाका पु¥याएर लेखेका थिए । ‘ठूलो माछा’ समातेर रवि लामिछानेले फेरि अर्को लोकप्रियताको शिखर चढे, देख्यौ हाम्रा भगवानलाई ‘प्रांक हान्नेहरू’ भनेर तमाम घण्टीजनले सामाजिक सञ्जाल तिरिमिरी झ्याइँ पारेका थिए । हो त, यस्तै पाराले हो भने त एमालेको मिसन ८४ रास्वपाका लागि पो ०६४ मा माओवादीको सत्तारोहणकै पारामा आउँछ कि क्या हो भन्नेहरू चोकमा भन्न थालेका थिए, ‘देख्यौ, रविले गर्छ भन्दा पत्याएका थिएनौ नि !’ तर पाँचै दिनमा पत्रकार हुँदाको ‘धुवाँदार’ प्रस्तुति ‘धँुवा’ एकातिर ‘दार’ अर्कातिर देखियो । 

हो, रविको नेतृत्वमा ठूलो माछा बेरियर तेस्र्याएर ल्याइएको थियो । अदालत पेश भयो । तर, दृश्यहरू एकाएक ‘बिहेमा बेहुला बनाएर लगिएकाले बाजा बजाउन थाले’ जस्तो भयो । अदालतकै नमुना फैसला आयो, ‘निज बिरामीलाई अस्पतालमा राखेर उपचारको व्यवस्था राम्रो मिलाउनू ।’ जान्नेलाई छान्नेहरूको सामाजिक सञ्जालमा निरीहता हो कि निष्क्रियता, थाहा भएन । एवंरीतले मूलतः अभियुक्तलाई उपचार सेवासँगै पाँच दिनपछि सामान्य हाजिरी जमानीमा छाडियो । जो समातिने डरले भागेर जाँदै थिए, उनलाई विमान चढाएर अस्पताल राखेर घर पठाउने काम रविबाहेक अरू कसैले गर्न सक्छ ? फुर्सद हुँदो हो त, रवि बेलाबेला महराले औषधि खाए–नखाएको हेर्न र हर्लिक्स बोकेर पुग्न पनि भ्याउँथे होला, अरूमाथि पनि करुणाभाव देखाउनुपर्ने व्यस्ततामा छन् सायद ।

रवि ठाउँमा पुगेपछि अर्को न्याय सोमबार मात्रै भएको छ । त्यो हो, दुर्गा प्रसाईंको अस्पताललाई मान्यता । भला यसमा रवि लामिछानेको आइनोसाइनो गोरु बेचेको त गोरु हेर्न गएकोसम्म पनि छैन । तर, ‘बाह्र हातको टाँगो’ ले पनि नभेटिने कुरामा ‘बाह्र–सत्तरी’ कुरा गरेर फेरि जनताले उडाइरहेका छन्, अब बाँकी काम धमाधम फत्ते गरेर सरकार चाँडै गल्र्याम्म हुने हो कि क्या हो ? कति चाँडै काम फटाफट हुन थाल्यो त ? हो, यत्रो वर्षौंदेखिको अनुसन्धान थाती रहँदारहँदै पाँचै दिनमा महरालाई हाजिरी जमानी, प्रसाईंलाई अस्पतालको अनुमति, विनोद चौधरीको अपराधमा लगभग माफिनामा, सहकारी र सुन प्रकरणमा पूर्व उपराष्ट्रपतिपुत्रलाई हिरासतको हावा । सरकारले चाहे त चाँडै काम हुँदो रहेछ नि ! जसरी नागरिकता त्यागेको भोलिपल्ट उनै रवि लामिछानेले लाइन बसेर नागरिकता पाएका थिए । यही अपराध पंक्तिकारबाट या तपाईं पढिरहनेबाट भएको भए अनुमान गर्नुहोस्, यसका लागि कति कष्ट हुन्थ्यो, उस्तै परे नागरिकता किर्ते प्रकरणमा हिरासतको हावा अझ पुर्पक्षमै बसेर चाख्न पाइन्थ्यो । ऐन–मौकामा अवसर छोप्नेहरूका लागि देश फलिफाप छ, राज्यले चाँडै रविलाई नागरिकता दियो, रविले चाँडै करुणाभाव देखाए, महराले उन्मुक्ति पाए । अब दीपेश पुनले उन्मुक्ति पाए अन्यथा हुँदैन । एउटै मुद्दामा अल्झिएर बस्न हुन्न भन्ने पनि हुन सक्छ । 

युक्रेनका जनताले कमेडीका राष्ट्रपतिलाई राष्ट्रपति बनाए । अहिले उनीहरूसँग ‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ जीवित छ । अर्थतन्त्र कैयौँ वर्ष पछाडि धकेलिएको छ । नेपालमा पनि नयाँ शक्तिहरू उम्रेका छन् । तर, तिनीहरू कम विवाद र काण्डरहित छैनन् । पोखराका जनताले होसहवासमै सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध उजुरी गरेका हुन् । उनीहरूको लामिछानेसँग अरू कुनै हरहिसाब छैन र मुद्दा लड्नुपर्ने अवस्था पनि छैन । रविलाई सत्ताको सुराक र खुराक दिने स्वयं गगन थापा यतिखेर रवि लामिछानेको सत्ता ढाल्न प्रयोग भइरहेका छन् । राजनीति यस्तै विषाक्त र कठोर हुन्छ । ‘संसदीय दलको नेता हुन्छु, प्रधानमन्त्रीको उम्मेदवार बन्छु, पार्टी सभापतिका लागि योग्य छु’ भनिरहेको प्रथम महामन्त्री गगन थापासमेत रविसँग यसरी गिजोलिनुपर्ला भन्ने परिकल्पना बाहिर थिए सायद । द्वितीय महामन्त्री विश्वप्रकाश शर्मा पनि गगनभेदी प्रहारमा संसदको समय व्यतित गरिरहेका छन् । राजनीति केपी ओलीको कुटिल चाल र पुष्पकमल दाहाल प्रचण्डको ‘भद्रगोलभित्र गोल’ गर्ने मक्सदमा सफल भइरहेको नयाँ पुस्ताले कहिले थाहा पाउने ? जबकि अहिले रवि लामिछानेको बचाउमा केपी ओली, पुष्पकमल दाहाल, प्रदीप ज्ञवालीहरूबीच होडबाजी छ, स्वयं प्रचण्ड केही साताअघिसम्म गगन थापालाई रोजेको मन्त्रालय दिन राजी थिए । शेरबहादुर देउवा प्रस्तावकै थिए । 

मौकामा हीरा फोर्नुपर्छ भन्छन् पाकाहरू । तर, हाम्रो राजनीति पाको भइरहेको छैन । चुनाव जितेको उत्तेजनामा आफूलाई अब्बल सावित गर्न काम गर्नुपर्नेमा कुरा गर्ने होड छ । कांग्रेसमा प्रतिपक्षी स्वभावका नेता शेखर कोइरालाभन्दा प्रथम र द्वितीय महामन्त्रीका वाणी यस्तै छन् । जबकि, यो प्रकरण आइलाग्नुमा आफ्नो महासमिति बैठक, बैठकमा प्रस्तुत मन्त्री महोदयहरूकै माओवादीप्रतिको धारणा र हिन्दूराज्यका लागि चलाइएको हिन्दू स्टल केही त कमजोरी थियो भनेर कतै अनुभूत गरेको भेटिएको छैन । समीक्षा सबैले गर्नुपर्ने विषय हो । यो रवि लामिछानेको मात्र जिम्मा पनि होइन । अर्कातिर एकपटक गुमेको सत्ता दोहो¥याएर पाउन केपी ओलीलाई कैयौँ महिना कुर्नुप¥यो । चुनाव जितेर पनि रवि लामिछाने प्रतीक्षा सूचीमा थन्किए । पक्कै कांग्रेसका शेखर कोइराला, प्रथम र द्वितीय महामन्त्रीले यति पनि नबुझेरै त होला, भएको सत्ताबाट कांग्रेस खुर्मुरिनुको झोक बिरालाले खाँबो चिथोरेझैँ रवि लामिछानेमाथि खनिएका छन् । रविको सपाट जवाफ सुनियो, ‘झण्डा हल्लाउँदै अख्तियारमा बयान दिन गएकाहरूले सुशासन सिकाए, अनुशासन सिकाए ।’

हो, रवि लामिछाने चौतर्फी घेरिएका छन् । उनी सत्तामा हुँदा एउटा अन्तर्वार्ता छापिदिने, बजाइदिने पत्रकार पनि छैनन् । युट्युब सत्तामा पुग्नलाई चाहिने हो, सत्तामा पुगेपछि युट्युबमा अन्तर्वार्ता दिँदै हिँड्न पनि भ्याइन्न । उनको अन्तर्वार्ता लिने र प्रशंसा गर्ने विजयकुमार र भूषण दाहालहरू पनि फेरि युट्युबमै छन् यतिखेर । बाँकीलाई पत्रकारै नगन्ने, ठूलालाई पनि ‘१२ भाइ’ भन्ने छुद्र जिभ्रोको सत्तारोहणपछिको सुशासन सपना भन्न पनि समस्या छ । हर्क साम्पाङले जस्तो गीत गाउन पनि भ्याउँदैनन्, बालेन्द्र साहजस्तो टिकटक लाइभमा पनि बस्न भ्याउँदैनन् । कठोर यात्रा छ सत्ताको, एउटा प्रश्न छ, ‘गितेन्द्रबाबु राई कहाँ छन्, कहिले पक्राउ पर्छन् ? उनले जनताको १६ अर्ब रूपैयाँ ठगेको प्रकरणमा तपाईंको १५ प्रतिशत शेयर हो कि होइन ?’ यही प्रश्नको उत्तर दिन भ्याउने गरी रवि अहिले बफादार भएर प्रस्तुत भइरहेका छन् । भर्खरै महरालाई उन्मुक्ति दिए । अब पालो कसको होला ? देशै छाडेर भाग्न खोजेकालाई त यस्तो उन्मुक्ति दिन सक्नेले दीपेश पुन र महेश बस्नेतहरूलाई पनि स्वास्थ्य परीक्षण गराएर ‘ठीकठाक’ छन् । राज्यले करुणाभाव देखाउँदै शोभा पाठकहरूको उजुरी खारेज गर्छ भनेछ भने पनि यो ‘गणतन्त्रको संस्थागत कार्यभारको प्रक्रिया’ ठान्दा हुन्छ । किनभने, १३ महिना जुन मन्त्रालय भए पनि ‘मै’ भन्दै सत्तामा लिसोझैँ टाँसिइरहेका नारायणकाजी श्रेष्ठले पनि अचेल माधवकुमार नेपाललाई ‘मलाई के हुन्छ’ मात्रै भनिरहेका छन् भनेर उडाउने देश हो यो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू