सरकार सशस्त्रले सिमाना जोगाउने कि सामान ?

सरकार सशस्त्रले सिमाना जोगाउने कि सामान ?

सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप रोक्न खटाइएका सशस्त्र प्रहरी नै गलत धन्दामा मुछिन थालेका छन् । वरिष्ठ हवल्दार रत्नबहादुर चौधरी जागिर खाएदेखि एकै ठाउँमा छन् । दाङ्गको तुलसीपुर घर भएका उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको आडमा आफ्नो ठाउँ सुरक्षित गर्दै उनले तस्करसँग मिलेर लमहीमा साढे दुई तलाको घर बनाएको खुलेको छ । 

त्यस्तै, रामप्रसाद यादव भन्ने व्यक्तिसँग ‘पार्टनर सीप’ मा लमहीमा क्रसर उद्योग सञ्चालन गरेका छन् । तस्करबाट असुलेको रकमले दाइलाई एउटा जेसिबी र दुईटा ट्रयाक्टर किनिदिएका छन् । इलाममा दरबन्दी हुँदा भालुवाङबाट जान मानेका थिएनन् । मुलुकभरका सबै घुमुवाको सरुवा हुँदा उनको दरबन्दी जुम्लामा परेको थियो । 

सरुवा भएको तीन दिनभित्र सबै घुमुवा तोकिएको स्थानमा पगे । तर, उनी चाहिँ जान मानेनन् । २०७९ मा दाङ्गबाट नवलपरासी (पश्चिम–बर्दघाट सुस्ता) स्थित सीमा सुरक्षा तालिम केन्द्रमा सरुवा हुँदा नि अटेर गरेरै बसे ।

हालसम्म पनि दाङ्गमै अड्डा जमाएर बसेका छन् । पटक–पटक तस्करीमा मुछिएका भालुवाङ्ग गणका अर्का घुमुवा सहायक हवल्दार यज्ञ केसीमाथि पनि कसैले प्रश्न उठाउन सकेको छैन । राप्तीपारिको डुरुवा गाउँमा घर भएका उनले काठ र गिट्टी तस्करीमा सहयोग पु¥याएर तस्करबाट पैसा असुल्ने गरेको स्रोतले बतायो । 

उनले अवैध कार्य गर्नेहरूबाट उठाएको रकमले गढुवामा घर बनाएका छन् । गणपति गोपाल श्रेष्ठका लागि काम गर्ने गरेको स्रोतको भनाइ छ । यसअघि कोइलाबास नाकाबाट एसी र कुलर तस्करीमा सहयोग पु¥याएको ठहर भएपछि बाहिनी तानिएको थियो । त्यस्तै, हवल्दार राजकुमार चौधरीमाथि पनि अवैध तस्करीको आरोप लागेको छ । उनले पातुखोला बगरका बालुवा चोरीनिकासी गर्ने ट्रयाक्टरबाट पैसा उठाउने गरेको बुझिएको छ । 

श्रीमतीलाई कस्मेटिक्स पसल 

सीमामा बसेर तस्करीको रेकर्ड बनाएका सई हुन्, अञ्जनजंग शाह । सशस्त्र इन्टेलिजेन्स ब्युरोको ५ नम्बर प्रदेश कमाण्डर उनले बाँकेको जमुनाहा नाकाबाट कस्मेटिक्स सामानको तस्करी गर्दै आएका छन् । नेपालगञ्ज र सुर्खेतमा लामो समय घुमुवाको रूपमा खटिने उनै हुन् । 

कोहलपुर मार्गमा श्रीमतीलाई पसल खोलिदिएर तस्करीको सामान पश्चिमका जिल्लामा सप्लाई गर्ने गरेको स्रोत बताउँछ । त्यस्तै, उनले तस्करीको कस्मेटिक्स सामान राख्ने गोदामसमेत बनाएका छन् । ३० नम्बर गणबाट खटिएका घुमुवा प्रहरीकै सहयोगमा उनले धन्दा चलाएका छन् ।  ‘कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भतिज हुँ, माओवादीको सरकार छ, दायाँबायाँ गरे ठेगान लगाइदिन्छौं भन्दै चोरीनिकासीमा दबाब दिन्छन्, मान्न बाध्य बनाउँछन्’, स्रोतले भन्यो । विवादास्पद छवि भएका उनले शैलेन्द्रकुमार श्रेष्ठ संगठन प्रमुख हुँदा मनलाग्दी चलाएका थिए । 

त्यतिबेला पथलैयास्थित पेट्रोल पम्पको जिम्मेवारी दिइएकोमा उनैले पम्प आवश्यक नरहेको भन्दै त्यसलाई भत्काए । ब्यारेकसमेत भत्काएर त्यहीँ नयाँ भवन बनाएका थिए । कोषराज वन्त प्रमुख भएपछि ०६८ सालमा छानबिन समिति गठन गरेर सोको अनुसन्धान गरिएको थियो । लुम्बिनीका घुमुवाबाट उनले मोटो रकम लिएको स्रोतको गुनासो छ । गण, गुल्म, बोर्डर आउटपोष्ट र बेसहरूबाट खटिएका घुमुवालाई ‘ब्ल्याकमेल’ गर्दै उठाएको रकम नदिए तस्करलाई सहयोग पु¥याउने घुमुवाको नाम आईजीसमक्ष खोलिदिने भन्ने गरेका छन् । 

भूपूदेखि घर जान लागेकासम्म भसस्कै 

सशस्त्र प्रहरीका डिआइजी विदुर खड्का भदौमा अवकाश पाएर घर जाँदै छन् । अवकाश पाउने समय नजिकिँदै गर्दा उनी पनि कोशेली उठाउनमा सकृय भएको चर्चा छ । 

पूर्व असई नीलकण्ठ भण्डारीले पनि प्युठानका राजकुमार श्रेष्ठसंग मिलेर अवैधधन्दा चलाएका छन् । खसीबोकादेखि लिएर लत्ताकपडा र विभिन्न सामानको तस्करी मा संलग्न उनी सशस्त्रका डिएसपी विकासभक्त श्रेष्ठका दाजु हुन् । उनी दिनमा दुई पटक ५ नम्बर बाहिनी चन्द्रौटा छिर्छन् । 

दाइको नाम बेचेर भाइ तस्करीमा 

पूर्व आइजी शैलेन्द्र खनालका भाइ भुवनले भैरहवा भन्सारमा रजाइँ चलाएका छन् । गुल्मीका भुवनले यसैगरी मणिग्राममा भवन ठड्याएका छन् भने बुवाले बबरमहलमा घर बनाएका छन् । 

भुवनकी श्रीमती र अर्का घुमुवा सई बाबुराम गैरेले मिलेमतोमा तस्करीको सञ्जाल चलाएको बुटवलभरि चर्चा छ । उनीहरूले एकअर्कालाई आफन्त भन्ने गरे पनि नाता भने सेटिङको मात्रै छ । गैरेको काम भैरहवा भन्सारमा भारतबाट सामान ओसार्दा सहजीकरण गर्नु हो । उनको हर्कतबाट आजित भएपछि आइजी राजु अर्यालले बाहिर निस्किनबाट रोक लगाएका छन् । यद्यपि, उनले मोबाइलबाटै तस्करलाई सहयोग गर्दै आएका छन् । डण्डा बिओपीका डिएसपी अरुण शर्मा र शैलेन्द्र खनालबीच सम्बन्ध राम्रो छैन । 

उनी भैरहवा नाकाबाट भारत जाँदासमेत डिएसपी शर्मा उपस्थित भएनन् । खनालले भारतीय व्यापारीलाई एसपी र डिएसपीको ताँती देखाएर तर्साउन खोजेको भन्दै त्यतिबेला पनि प्रश्न उठेको थियो । यसैवीच एसपी पूर्ण साउद र नन्द साउदले भुजुवा बिओपीका शेखर केसीलाई दक्षिणकाली गणमा फिर्ता पठाएका छन् ।
 

टिप्पणीहरू