आरोप पुष्टि भए राजीनामा दिन्छु : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाश शरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नताबारे कुनै पुष्टि भएमा राजीनामा दिने बताउनुभएको छ । आज बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकमा मन्त्री महतले उक्त जानकारी दिँदै लाञ्छना लगाउँदैमा राजीनामा नदिने जानकारी पनि दिनुभएको छ ।
पार्टी प्रवक्तासमेत रहेका मन्त्रीले आफूमाथि व्यक्तिगत प्रहार गर्ने काम भइरहेको आरोप लगाउनुभएको छ । संसद र सडकपछि आफूमाथि पार्टीभित्रै पनि उक्त विषयमा अनावश्यक लाञ्छना लगाउन थालिएकोमा रोष व्यक्त गर्नुभएको छ ।
नेता डा. शेखर कोइरालाले बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समितिको कुरो उठाएपछि मन्त्रीको आक्रोशपूर्ण टिप्पणी आएको हो ।
यसैबीच अर्थमन्त्री डा. महतले पार्टीका सांसद पक्राउ प्रकरणले सरकार र गठबन्धनको निरन्तरतामा कुनै प्रभाव नपार्ने बताउनुभएको छ । बैठकमा सांसद सुनिल शर्मा पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीको चर्को विरोध भएको र त्यसले सरकार ढल्ने स्थितिमा पुगेको चर्चा चलेपछि बैठक स्थलबाट बाहिरिनेक्रममा उहाँले सरकारको निरन्तरतामा शंका नगर्न आग्रह गर्नुभएको हो ।
सांसद शर्माप्रति लक्षित गर्दै उहाँले पार्टी सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्रीको भनाई छ, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् ।’
एक क्विन्टल सुन तस्करी प्रकरणमा काँग्रेस सांसद शर्माले प्रतिपक्षका सांसदभन्दा पनि उग्र भएर अर्थमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । उनले सार्वजनिकरुपमै अर्थमन्त्रीलाई नालायकको संज्ञा दिँदै सभापति शेरबहादुर देउवाको निगाहाले पद प्राप्त गरेको आरोप लगाएका थिए ।
सांसद शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै आफ्नै पार्टीका शीर्ष नेताहरुको कडा आलोचना गरिरहेका छन् ।
टिप्पणीहरू