उपराष्ट्रपति चीन जाँदा पर्सि विमानस्थल आधा घण्टा ठप्प

उपराष्ट्रपति चीन जाँदा पर्सि विमानस्थल आधा घण्टा ठप्प
सुन्नुहोस्

उपराष्ट्रपति रामसहायप्रसाद यादव पर्सि सोमबार दिउँसो  चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पहिलो विदेश भ्रमणको क्रममा युन्नान प्रान्तको राजधानी खुनमिङ जान लाग्नुभएको हो । 

खुनमिङमा साउन ३१ देखि भदौ ३ गतेसम्म सातौं ‘चाइना–साउथ एशिया एक्सपो’ हुँदैछ । यस पटकको कार्यक्रममा नेपालका उपराष्ट्रपति र म्यानमारबाट पनि सोही दर्जाका विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।
एक्सपो उद्घाटन समारोहलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम छ ।

यादव १५ सदस्यीय  टोलीसहित जान लाग्नुभएको छ । उहाँलाई लिन चाइना इस्टर्न एअरलाइन्सको विशेष विमान सोही दिन काठमाडौं आउँदैछ । उताबाट आउँदा यात्रु बोकेर आउने विमानले यताबाट उपराष्ट्रपतिको टोली मात्रै लिएर जाने बुझिएको छ ।
सोमबार अपरान्ह ४ बजेर २५ मीनेटमा उक्त विशेष उडान हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा आधा घण्टा अन्य उडान प्रभावित हुने भएको छ । विमानस्थल कार्यालयले उक्त समयमा अन्य उडान रोक्न ‘नोटाम’ जारी गरिँदैछ । भिआइपी मुभमेन्टमा पहिले एक घण्टा अवरुद्ध हुने गरेको यस्तो उडान यस पटक आधा घण्टा मात्रै गर्न लागिएको स्रोतको दाबी छ ।

औपचारिक विदेश भ्रमणमा जान लाग्नुभएकाले उपराष्ट्रपतिलाई विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गर्ने कार्यक्रम छ । ‘उहाँको पहिलो औपचारिक विदेश भ्रमण भएकाले रातो कार्पेट,सलामी र औपचारिक बिदाईको कार्यक्रम राखिएको छ,’ सैनिक स्रोतले भन्यो ।
 

टिप्पणीहरू