सिन्धुपाल्चोकका कमरेडहरु एमाले फर्कने तयारीमा

सिन्धुपाल्चोकका कमरेडहरु एमाले फर्कने तयारीमा

पार्टीको बैठक सारेर अध्यक्ष माधवकुमार नेपाल बिदेशयात्रामै बढी रमाउन थालेपछि नयाँ राजनीतिक दलको भविष्य अन्यौलग्रस्त र अन्धकारमय भन्दै सिन्धुपाल्चोकबाट नेकपा एसका नेताहरु एमालेतिर फर्कन लागेका छन् । 

एमाले विभाजनपछि एकीकृत समाजवादीतिर लागेका र अब पुरानै पार्टीमा फर्कन खोज्नेहरुमा पूर्व सांसद,समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य,गम्भीरलाल श्रेष्ठ,उपेन्द्र तामाङ,शिवराम भट्टराई,सचिव दीपक नेपाल,उपसचिव रवि भण्डारीलगायत रहेको बुझिएको छ । 

उनीहरुले साउन २० गते गृह प्रवेशका लागि साइत जुराएको चर्चा छ । सो दिन सकेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अन्यथा महासचिव शंकर पोखरेलको हातबाट टिका लगाएर पुरानो घर भित्रिने योजनामा उनीहरु देखिन्छन् । झण्डै १७ महिनाअघि एमालेबाट समाजवादीमा ईश्वरी श्रेष्ठ,यज्ञ सापकोटा,सीता थापा, दीपक नेपाल,फइन्द्र तामाङलगायत नेता,कार्यतकर्ताको अगुवाई गर्दै समाजवादी छिरेका कर्माचार्य फर्कने भएपछि सिन्धुपाल्चोक एमाले वृत्तमा खुशियाली छाएको छ ।

एमालेमा रहँदा ३० वर्षदेखि जिल्लाको राजनीतिमा कर्माचार्यले एकछत्र प्रभाव राख्दै आएका थिए । 
एमाले जिल्ला अध्यक्ष कमल नेपालले कर्माचार्यको अनुपस्थितिमा सिन्धु एमालेले कमजोर महसुस गरेपछि उनलाई भित्र्याउन निकै जोड गरेका हुन् । कुनै बेला माधव नेपालकै पक्षधर कर्माचार्यले एमाले चिरा परेपछि नेपाल नेतृत्वको समाजवादीको सट्टा एमाले नै रोजेका थिए । उनी धेरैपछि मात्र समाजवादी प्रवेश गरेका हुन् ।

पार्टीभित्र फरक अनुभव हुन थालेपछि कर्माचार्यले विशेष जिम्मेवारीसहित सिन्धुको भूगोलबाट काठमाडौंको भूगोलमा जिम्मेवारी सारिदिन प्रदेश कमिटीमा निवेदन दिएको बताइन्छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने केही केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलगायतसँग उनको अन्तरविरोध बढ्दै गएपछि अहिले पुरानै घरको दैलोमा पुगेको एकथरीको भनाई छ ।  

एमाले फर्कन जोखना हेर्दै गरेका उनका लागि गत ८ गते बसेको एमाले जिल्ला कमिटीको बैठकले मार्ग प्रशस्त गरिदिएको हो । बैठकको निम्ति चौतारा पुगेका जिल्ला इञ्चार्ज गोकुल बास्कोटा उनकै होटल अरनिको रिसोर्टमा बसेपछि आफू एमाले फर्कने प्रस्ताव कर्माचार्यले राखेका थिए । सोहीबमोजिम इञ्चार्ज बास्कोटाले चाँजापाँजो मिलाएको स्रोतको दाबी छ ।  

एमालेमा फर्के पनि उनको प्रभाव पहिलेझैँ नरहने एकथरीको भनाई छ । कतिपय एमाले जिल्ला नेताहरुले उनको पुनरागमनलाई सहज ढंगले लिएको देखिँदैन । उनीहरुले कर्माचार्यलाई ढुलमुलेको संज्ञा दिएकाले पनि आगामी दिन उनको निम्ति थप पेचिलो बन्ने सम्भावना छ ।

आफूलगायत केही नेता तथा कार्यकर्ता आगामी शनिबार एमालेमा फर्कने निश्चित गरेपछि समाजवादीका केन्द्रीय सदस्य भगवती नेपाल र इन्द्रमाया गुरुङहरुलाई पनि यसैबमोजिम प्रस्ताव गरिएको बताइन्छ । स्रोतका अनुसार केन्द्रीय सदस्य नेपाललाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै फोन गरेर प्रस्ताव गरेकी थिइन् ।

यता कर्माचार्यलगायतले समाजवादी त्याग्ने योजना बनाएपछि समाजवादीका केन्द्रीय नेताहरुले  बोलाएर छलफल गरिसकेका छन् । छलफलमा टोलीले आफूहरु समाजवादीमै रहने र एमाले प्रवेश गर्न लागेको बजार हल्ला मात्र भएको टिप्पणी गरेका थिए । 

एमालेभित्र १० भाइ पक्षधर भए पनि सिन्धुपाल्चोक समाजवादीका केही जिल्ला नेता तथा कार्यकर्तालाई एमाले प्रवेशबारे  केही बताइएको छैन । विगतमा अध्यक्ष ओली पक्षधर रहेका तर हाल समाजवादीमा पुगेकालाई पनि पार्टी प्रवेशबारे केही नबताइएको उनीहरुको भनाई छ । हालसम्म समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा,जिल्ला अध्यक्ष नवराज पौड्यालहरु भने एमालेमा नजाने कर्माचार्य निकटस्थहरुले बताए ।

जिल्लामा कुनै समय केपी पक्षधर खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको बेला सापकोटाले मात्र आफूलाई केपी पक्षधर बताएका थिए । तर एमाले विभाजनपछि केपीलाई छाडेर माधव नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने सिन्धुपाल्चोकका उनी नै पहिलो नेता बन्न पुगे । जबकि एमालेमा रहँदा उनको प्रभाव राम्रै थियो ।

टिप्पणीहरू