लाइभ बैठकमा सबैलाई पाँच मीनेट

लाइभ बैठकमा सबैलाई पाँच मीनेट

नेकपा माओवादी केन्द्रले भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा सबै सदस्यलाई धारणा राख्न दिने भएको छ । 

पार्टीको बैचारिक तथा संगठनात्मक विषयमा केन्द्रित रहेर प्रत्येक सदस्यले पाँच मीनेटका दरले आफ्ना धारणा राख्न पाउनेगरी हिजोको पदाधिकारी बैठकले प्रस्ताव तय गरेको हो । सबै सदस्यलाई बोल्न दिने र पाँच मीनेट समय उपलब्ध गराउने निर्णय भएको एक नेताले बताए । 

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक र सङ्गठनात्मक प्रतिवेदन तय गरेको थियो । बैठकले मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने छ । त्यसअघि तीन महिने संगठन निर्माण अभियान सन्चालन गर्ने तयारी छ । 

अभियानअन्तर्गत सरकारी जिम्मेवारीमा रहेका बाहेक अन्य केन्द्रीय सदस्यलाई तोकिएको पालिका र वडालाई आधार बनाएर तीन महिना कार्यक्षेत्रमा खटाउने प्रस्ताव गरिएको छ । बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ ।  माओवादीले केन्द्रीय समिति बैठक अनलाइनबाट लाइभसमेत गर्दैछ । तर, बैठक लाइभ गर्ने निर्णयप्रति कतिपय नेताले असहमति राखेका छन् । पार्टीको आन्तरिक विषय बाहिर ल्याउँदा सांगठनिक अनुशासन कायम नरहने तर्क गर्दै उनीहरुले लाइभ गर्न नहुने मत राखेका हुन् । 

वाइसिएलका इञ्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले भने, 'पार्टी बैठक लाइभ हुनु हॅुदैन,पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर,परिवारका अन्तरंग छलफल लाइभ गर्ने विषय होइनन् ।' उनले फेसबुकमार्फत राखेको सो धारणामा प्रतिक्रिया दिने अधिकांश माओवादी नेता तथा समर्थकले कम्युनिष्ट पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।
 

टिप्पणीहरू