चीनबाट सिक्नु नि- के खाने, किन खाने, कसरी खाने ?

चीनबाट सिक्नु नि- के खाने, किन खाने, कसरी खाने ?

विश्वकै पहिलो नम्बरको आर्थिक शक्ति चीनले शिक्षा, स्वास्थ्य, विज्ञान, सूचना प्रविधिजस्ता क्षेत्रमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ । यस क्रममा उसले स्वास्थ्यलाई ध्यानमा राखी मानिसले दैनिक उपभोग गर्ने खाद्यान्न र त्यसको औषधीय उपयोगिताबारे दर्शनमा आधारित नवीन सोचलाई अगाडि सारेको पाइन्छ । यो विचार प्रवद्र्धनका सिलसिलामा चीनले यससम्बन्धी पठन सामग्री उत्पादन गर्ने मात्र नभई विभिन्न देशका अनेक पेशामा आवद्ध व्यक्तित्वहरूलाई विशेष तालिम दिन थालेको छ । 

यस्तो पुण्य कर्ममा संलग्न प्रख्यात संस्था हो– हुनान इन्टरनेशन बिजिनेस भोकेशनल कलेज । छाङ्सा नगरमा यो कलेज स्थापना भएको ६० वर्ष नाघिसकेको छ । व्यापार व्यवसाय, आर्थिक गतिविधिजस्ता विषयमा तालिम दिने यो चीनकै एक महत्वपूर्ण कलेज हो । यसले वाणिज्य मन्त्रालयबाट सहयोग प्राप्त गरी यस्ता तालिमहरू सञ्चालन गर्दै आएको छ । छाङसा नगरको फुरोङ नर्थ रोडमा अवस्थित यो कलेजमा हाल विभिन्न फ्याकल्टीअन्तर्गत ११ हजार विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई पढाउन २२५ जना प्राध्यापक खटिएका छन् । 

यसले बिजनेस म्यानेज्मेन्ट, इञ्जिनियरिङ मेसिनरी, फिल्म तथा टेलिभिजन मिडिया, पब्लिक म्यानेज्मेन्ट, स्वास्थ्य एवं शिक्षासम्बन्धी तालिम प्रदान गर्छ । यो कलेजले अहिलेसम्म प्रत्यक्ष र अनलाइन माध्यम गरी १२० देशका १०, ६७८ जना सम्बद्ध अधिकारीहरूलाई तालिम प्रदान गरिसकेको बताइन्छ । यसरी नै यो कलेजले प्रदान गरेको एउटा विशिष्ट तालिम थियो– स्वास्थ्य हेरचाहका लागि औषधि र खाद्यान्नको प्राकृतिक चिकित्सा । (होमोलोजी अफ मेडिसिन एण्ड फुड फर हेल्थ केयरिङ) ।

स्थानीय जियानसाङ इन्टरनेशनल होटलमा आयोजित २१ दिने तालिममा सहभागी हुने अवसर नेपाललगायत जमैका, कजाकस्तान र जोर्डानका १५ जनाले पाएका थिए गत मे २९ देखि जुन २० सम्म ।
तालिमको मूल विषय थियो– खाद्यान्न र औषधिको प्राकृतिक चिकित्सा । यो दर्शनले भन्छ– हामीसँग त्यस्ता धेरै खाद्यान्न छन् जो औषधि पनि हो । ती खाद्यान्नलाई खानेकुरा हो कि औषधि हो भनेर छुट्याउनै सकिन्न । दर्शनले भन्छ– जब हामी त्यसलाई भोक मेटाउन खान्छौँ त्यो खाद्यान्न बन्छ, जब रोगको उपचार गर्न खान्छौं तब त्यो औषधि बन्छ । 

मानिसको जीवनको लागि पाँच अन्न, पाँच वस्तुभाउ, पाँच तरकारी र पाँच फलफूललाई अत्यावश्यक मानिन्छ । जसले आवश्यक मात्रामा पौष्टिकता प्रदान गर्दछ । खाद्यान्नले भोक मेटाउने मात्र होइन रोग हटाउने काम पनि गरिरहेको हुन्छ । खाँचो चाहिँ यी खाद्यान्नहरूलाई सन्तुलित रूपमा उपभोग गर्ने कुराको मात्रै हो । 

मानिसले सामान्यतया पाँच वटा स्वादको अनुभव गरेका हुन्छन् । अमिलो, तीतो, पीरो, गुलियो र नुनिलो । शरीरमा रहेका विभिन्न विकारलाई पनि यिनै पाँच स्वादले हटाउने गर्दछ । अमिलो खानाले शरीरको के–के विकार निर्मूृल हुन्छ, तीतो खानाले के के विकार उन्मूलन हुन्छ एवं रीतले अन्य स्वादका खाद्यान्न खानाले के के विकार जान्छ भन्ने कुरा पनि तालिममा सविस्तार बताइएको थियो । चिनियाँहरू शायद यस्तै नियमको कडाईका साथ पालनाका कारण तुलनात्मक रूपले विश्वका अन्य नागरिकभन्दा स्वस्थ मानिन्छन् ।

– बिन्दु तुलाधर

 

टिप्पणीहरू