सदस्य घटेको हल्ला मात्रै हो, अब १० लाख पुर्याइन्छ : एमाले

सदस्य घटेको हल्ला मात्रै हो, अब १० लाख पुर्याइन्छ : एमाले

नेकपा एमालेले पार्टी सदस्य संख्या घटेको भन्ने समाचार बजार हल्ला मात्रै भएको बताएको छ । एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी सदस्य संख्या घटेको बजार हल्लामा कुनै सत्यता नभएको बताएका छन् । 

उनले सदस्यता नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्र सम्पन्न भइसकेको उल्लेख गर्दै साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइसक्ने जानकारी दिएका छन् । आज जारी विज्ञप्तिमा अधिकारीले लेखेका छन्, ‘यसअघि महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेकपा एमालेको इतिहासमा यसपटक त्यसमा क्रम भंग गरिएको छ ।’

यसअघि नेतृत्वका आकाङ्क्षीहरुले सदस्यको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता कामका कारण अनुचित ढंगले पार्टीको संख्या बढ्न पुगेको दाबी गर्दै उनले इतिहासमा पहिलो पटक क्रम भंग गरिएको बताएका छन् ।

उनले महाधिवेश नभएको समयमा सक्रिय सदस्यहरुको यथार्थ संख्या लिन खोजिएको र योग्य सदस्यहरुको मात्र नवीकरण गर्ने काम भएको उल्लेख गर्दै भने, ‘दशौं महाधिवेशन बेलाको त्रुटिलाई पनि सच्याउन खोजिएको हो । नेकपाकालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या देखिएकाले त्यो पार्टीको वास्तविक सदस्य संख्या होइन ।’

एमालेले पार्टीको एघारौं महाधिवेशनसम्म १० लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्यसमेत लिएको छ ।

टिप्पणीहरू