व्यस्त समयमा राजधानीका ट्राफिक लाइट बन्द, भीआईपी सवारीलाई सहज पारिएको आरोप

व्यस्त समयमा राजधानीका ट्राफिक लाइट बन्द, भीआईपी सवारीलाई सहज पारिएको आरोप

मुलुकको राजधानी काठमाडौं अस्तव्यस्त शहरको रुपमा परिणत हुँदैछ । बटुवा र सवारी साधनको यहाँ सरोबर चाप हुने गरेको छ । कार्यालय समयमा राजधानीका सडकमा थेगिनसक्नु भिड हुन्छ । भक्तपुर र ललितपुरसहित काभ्रेको बनेपा, धुलिखेलसम्मका सर्वसाधारण कामका लागि काठमाडौं आउने गर्छन् । काठमाडौं जतिबेला पनि एकातिर मान्छेको भिड, अर्कोतिर सवारी साधनको जाम हुने गरेको छ ।  

चार पाङ्ग्रेभन्दा दुई पाङ्ग्रे सवारी साधन धेरै हुँदा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्नै हम्मेहम्मे पर्ने गरेको छ । भक्तपुरबाट काठमाडौं आउने सवारी साधन कौशलटारदेखि नै ट्राफिक जाममा पर्छन् । यता, जडीबुटीमा पनि त्यस्तै जाम हुन्छ । तीनतिरबाट गाडी ओहोरदोहोर गर्ने भएकाले ट्राफिक प्रहरीहरु दौडधुप गर्दै सवारी व्यवस्थापनमा तल्लिन  हुन्छन् ।

जडीबुटी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । तर, उक्त लाइट बलेको प्रायः मात्रै देखिन्छ । झन् ‘पिक आवर’ मा सबैतिरको ट्राफिक लाइट बन्द गरिन्छ । कोटेश्वरमा पनि ट्राफिक लाइट छ । अधिकांश समय उक्त लाइट निभेकै पाइन्छ । असिनपसिनका साथ ट्राफिक प्रहरीले नै हात हल्लाएर सवारी साधन वारपार गराइरहेका हुन्छन् । 

कोटेश्वरमा मात्रै पाँच जनासम्म ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा खटिन्छन् । ललितपुरको सातदोबाटोमा पनि ठूलो संख्यामा ट्राफिक परिचालन गरेर सवारी वारपार गराइन्छ । ट्राफिक प्रहरी सिठ्ठी बजाउँदै यताबाट उता दौडिरहन्छन् । यति गर्दा पनि ट्राफिक व्यवस्थापनको अवस्था भने उस्तै कहालीलाग्दो हुने गरेको छ ।

भएका ट्राफिक लाइट बन्द गरेर ट्राफिक प्रहरीलाई नै सवारी व्यवस्थापनमा खटाउने हो भने लाइट जडानको के औचित्य ? ट्राफिक प्रहरी सवारी व्यवस्थापनमा खटिँदा थप किचलो हुने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । लाइटले जस्तो ठ्याक्कै समयमा ट्राफिकले सवारी साधन रोक्ने र खुल्ला गर्न सक्दैनन् । 

एकातर्फको सवारी जाम खोलेर बस्दा अर्कोतर्फको जाम पल्लो छेउसम्म पुगिसकेको हुन्छ । कहिलेकाँही घण्टौं जाम गराएर राखिदिने गरेको सर्वसाधारणको आरोप छ । यसले तोकिएको समयमा काममा पुग्नुपर्नेहरु मर्कामा परेका छन् । समयमा काममा पुग्नका लागि पहिले लाग्ने गरेकोभन्दा एक घण्टाअगावै घरबाट निस्किनुपर्ने बाध्यता सर्वसाधारणलाई छ । 

विशिष्ट (भीआईपी) हरुको सवारी आगमनमा सहजताका निम्ति ट्राफिक लाइट बन्द गरिएको सर्वसाधारणले आरोप लगाएका छन् । ‘ट्राफिक लाइट बन्द गर्नुको कारण प्रष्टै छ । अब ट्राफिक प्रहरीले झैं लाइटले भीभीआईपी र भीआईपी भन्दैन । भीआईपीहरुलाई जाममा राख्ने कुरो भएन् । त्यसैले ट्राफिक लाइट निभाएर प्रहरी खटाइएको हो’, सर्वसाधारण सुदर्शन आचार्यको भनाई हो यो । 

ट्राफिक प्रहरीले लामो समयसम्म सवारी साधन रोकेर राखिदिँदा काम गरेर खाने वर्ग मारमा परेको सर्वसाधारण शान्ति गुरुङ्गले बताइन् । उनी सानेपामा एक निजी कम्पनीमा काम गर्छिन् । भक्तपुरको सिर्जनानगरबाट कार्यस्थलसम्म पुग्न झण्डै दुई घण्टा लाग्ने गरेको उनको पछिल्लो अनुभव छ ।

‘कहिलेकाँही एकै ठाउँमा ३५–४० मीनेटसम्म पनि जाम हुन्छ । बिहान ९ बजे गाडी चढ्यो भने मुश्किलले ११ बजे पुगिन्छ । ठ्याक्कै समय हेरेर जाम खोल्ने गर्नुपर्ने हो । सडक खाली भइसकेको हुन्छ, तैपनि ट्राफिक प्रहरीले अर्कोतर्फको गाडी पठाइरहेका हुन्छन्’, उनले भनिन् । 

यता, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीको ‘फ्लो’ अनुसार ट्राफिक लाइटले काम गर्न नसक्ने भएकाले बन्द गरिएको जनाएको छ । प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पिक आवरमा लाइटले सवारीको चाप नधान्ने भएपछि बन्द गरेर ट्राफिक प्रहरी खटाइएको बताए । 

नेपालमा नयाँ प्रविधिका ट्राफिक लाइट नभएको उल्लेख गर्दै उनले अहिले सञ्चालनमा रहेका लाइटले सवारीको चापअनुसार काम गर्न नसक्ने जानकारी दिए । ‘पिक आवरमा सबैभन्दा धेरै जाम हुन्छ । ट्राफिक लाइटलाई कुन दिशामा सवारीको चाप कस्तो छ ? भन्ने थाहा हुँदैन । यसबाट धेरै सवारी साधन आएकोतर्फ लामो जाम हुन्छ । नयाँ प्रविधि भएको भए समस्या हुँदैनथ्यो । पूरानो प्रविधिबाट ट्राफिक व्यवस्थापन सम्भव नभएपछि ट्राफिक प्रहरी नै खटाएका हौं’, उनले भने । 

त्यस्तै, उनले उपत्यकाका अधिकांश सडकमा रहेको ट्राफिक लाइट काम नलाग्ने भइसकेको जनाए । नयाँ लाइट जडान र बिग्रिएकाको मर्मतका लागि सम्बन्धित निकाय गुहार्दासमेत बेवास्ता गरिएको उनको भनाई छ । मुख्य चोक र राजमार्गको जिम्मा सडक विभागले लिएको छ । 

अन्य स्थानीय तहको मातहतमा पर्छ । तर, स्थानीय तहले चासो नदेखाउँदा रात्रिकालीन लाइटहरु बिगेको अवस्थामा छन् भने सडकमा जेब्राक्रससमेत छैनन् । भएका जेब्राक्रसका धर्काहरु मेटिसकेका छन् । यसबाट पैदल यात्रीलाई सडक पार गर्नसमेत महाभारत हुने गरेको छ । 

राजधानीको अति व्यस्त र बढी सवारी जाम हुनेमध्येको एक कोटेश्वरमा आकाशे पुल छैन । गुडिरहेको सवारीको बीचबाट पैदल यात्रीले बाटो पार गरिरहेका हुन्छन् । यसबाट अत्यधिक सवारी साधन दुर्घटनामा पर्ने गरेको छ ।

टिप्पणीहरू