विमानस्थलमा हल्ला गरेका निगमका यात्रुलाई ज्ञानेश्वर पुुर्याइयो, साँझ मुम्बई उडाउने तयारी

विमानस्थलमा हल्ला गरेका निगमका यात्रुलाई ज्ञानेश्वर पुुर्याइयो, साँझ मुम्बई उडाउने तयारी

नेपाल वायुसेवा निगमको उडानबाट आज बिहान भारतको मुम्बई जान ठिक्क परेका यात्रुलाई दिनभर ज्ञानेश्वरमा राखिएको छ । बिहान साढे ११ बजेको आरए २०१ को उडानमा मुम्बई जान लागेका उनीहरु बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

तर, लगेज काउण्टरमा चेक इनको क्रममा उडान ढिलो भएको खबर पाएपछि होहल्ला गरेका कारण उनीहरुलाई ज्ञानेश्वरको होटल राजस्थानमा पुर्याइएको बताइन्छ । सोही उडान आज साँझ ७ बजेलाई तय गरिएको निगमले जनाएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएकाले उडान ढिलो भएको निगमको दाबी छ । तर, केही यात्रुले अनावश्यक हल्ला गरेपछि होटल लगेर राखिएको निगम स्रोतले बतायो । विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा १०९ जना यात्रुको चेक इन भइसकेको थियो ।

तर, निगमका कर्मचारीहरुले गैरजिम्मेवारपूर्ण जवाफ दिएकाले आफूहरु विरोधमा उत्रनु परेको यात्रुहरुको भनाई छ । ‘मान्छेको त ग्यारेन्टी हुँदैन, उडानको के ग्यारेन्टी’ भनेपछि उनीहरु रिसले आगो भएका थिए ।

चेक इन प्रक्रिया पूरा भए पनि ती यात्रुको अध्यागमन प्रक्रिया पूरा नभएको बताइन्छ । तर पनि उनीहरुको सुविधाको लागि बिहान सवा १० बजे होटलमा लगेर राखिएको निगमको दाबी छ । सोही उडान राति ७ बजे काठमाडौंबाट मुम्बईतर्फ हुने बताइएको छ ।

टिप्पणीहरू