देश चिनाउने कलामा यिनको देन

देश चिनाउने कलामा यिनको देन

– ईश्वरी राई (इशु)

ललितपुर पाटनका बासिन्दा हुन्– अमीर शाक्य । तीन दशकदेखि कला–साधनामा क्रियाशील छन् । माटोबाट देउता बनाउँछन् । क्यान्भासमा कुचीले रंग भरेर कला सिर्जना गर्छन् । वर्षौंअघि उनी सानै थिए, छिमेकमा अग्रजहरू मूर्ति बनाउँथे । विगतलाई स्मरण गर्दै उनले भने, ‘ठूला मान्छेले मूर्ति, चित्र बनाएको देख्दा खुब राम्रो लाग्थ्यो । चाख दिएर हेर्ने गथेँ म । हेर्दाहेर्दै माटो त देउता पो बन्थ्यो ! त्यसैले म माटोसँगै भुल्थेँ ।’

अमीरले काठमाडौंबाटै ‘मास्टर्स डिग्री’ गरे । अनि अरु मानिसजस्तो जागीर पनि खाए, ‘प्राइभेट’ कम्पनीमा । तर, काममा रुचि भएन । त्यसैले केही महिनामै कामबाट निस्किए ।

बुढेसकालमा पेन्सन पाक्ने र स्थायी हुने हुनाले सरकारी जागीर भन्नेबित्तिकै मान्छे हुरुक्क हुन्छन् तर उनले किन छाडे त ? ‘जागिरे त भएँ तर पनि मनमा शान्ति भएन । त्यसैले सरकारी जागिर छोडेँ ।’ ०४८ सालताका कलाकारितामै ‘करिअर’ बनाउने निधो गरे । अनि माटोसँग खेल्न थाले । माटोलाई देवताको आकार दिँदै रंग्याउन थाले ।

०५४ सालमा परिवारकै राजीखुशीमा विवाह भयो काठमाडौंकी शर्मिला शाक्यसँग । जो पेशाले स्वास्थ्यकर्मी हुन् । ‘जहान स्वास्थ्यकर्मी भए पनि मलाई काममा सघाउँछिन्’, उनले भने, ‘मैले काम गरेको देखेरै उनले पनि सिकेकी हुन् ।’

‘चित्र र मूर्ति त सबैले बनाउने गर्छन् तर मलाई त्योभन्दा केही अलग गर्न मन थियो’, उनले भने । अमीरले आफूले सोचेकोजस्तो काम गर्नका लागि शुरुमा माटो, काठ र रङहरू भेला पारे । काठको साँचोमा माटोबाट विभिन्न प्रकारका भगवान्को मूर्ति बनाए । त्यसलाई कुचीले रंगाउन थाले । जसलाई ‘आर्ट विथ कार्फ’ भनिन्छ । हेर्दै आकर्षक बनेको उनको कला अरुको भन्दा फरक बन्यो । 

‘शुरुमा नयाँ काम गर्दा गाह्रो त भइहाल्छ । तर काम गर्छु भन्ने सोच थियो । कहिल्यै हरेश खाइन ।’ उनका सिर्जना देखेर सबैले भन्ने गर्छन्– आहा ! कति सुन्दर चित्र, कति राम्रा मूर्ति ! आफ्ना सिर्जना नौलो भएको बताउँदै उनले भने, ‘मैले बनाएको ‘स्कल्प्चर कला’ सबैले बनाउन जान्दैनन् । यसका लागि धेरै मेहनत र धैर्य चाहिन्छ ।’ 

जन्मभूमि नेपालको भूगोल तुलनात्मक रूपमा छिमेकीभन्दा सानो भए पनि यहाँका मानिसमा भने तारिफयोग्य गुण भएको उनले बताए । ‘देशका सबै मानिसले कलाकारको सम्मान गर्न जरुरी छ किनकि देशलाई चिनाउने कलाले हो । कला बनाउने कलाकार नै रहेनन् भने कला कहाँ रहला र ?’, उनले भने, ‘कलालाई बनाउने कलाकार जीवित रहनुपर्छ ।’

 

टिप्पणीहरू