एमालेका कार्यकर्ता चोरिने खतरा

एमालेका कार्यकर्ता चोरिने खतरा

बाहिर जे–जस्ता कुरा गरिए पनि भित्रको दुःख बेग्लै छ, भन्न मात्रै नमिलेको ! एमालेको वर्तमान अवस्था हो यो । ०७९ मंसिरसम्मका चुनावी परिणाम अपेक्षित भएनन् । त्यसैले पार्टी पंक्तिलाई पुनर्ताजगी (रिफ्रेस) गर्न र समस्याहरू बुझ्न उसले ‘मिशन ग्रासरुट’ चलायो । भुइँ तहका कार्यकर्ताको निराशा चिर्ने, पार्टी काममा पुनः उत्साह भर्नेजस्ता लक्ष्य लिइएको त्यस अभियानअन्तर्गत नै सदस्यता नवीकरण गर्ने नीति थियो । अभियान सकिँदासम्म जम्मा ४० प्रतिशतले मात्रै सदस्यता नवीकरण गरे । एमालेकै नेताहरूको दावीअनुसार, सिंगो पंक्तिभित्र माधव–झलनाथद्वारा गरिएको पार्टी विभाजनमा सरिक हुनेको संख्या पुग नपुग ३० प्रतिशत मात्रै हो । यसअनुसार ७० प्रतिशत सदस्यले सदस्यता नवीकरण गर्नुपथ्र्यो । त्यसमा विभाजनका कारण १० प्रतिशतमा निराशा छायो, त्यसैले सदस्यता नवीकरण गर्ने मन भएन भन्दा पनि ६० प्रतिशतले गर्नुपथ्र्यो । तर, यस्तो भएन । फलस्वरूप चैत मसान्तभित्र गरिसक्नुपर्ने सदस्यता नवीकरण असार मसान्तभित्रलाई सारिएको छ ।

नवीकरण नगर्ने ती सारा सदस्य कहाँ गए ? खोजी हुन थालेको छ । केही नेताको ठम्याइ छ, राष्ट्रिय राजनीतिमा नाटकीय तवरबाट उदय भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीतिर मान्छे लागिसके । अहिले सदस्यता नवीकरण नगरेका ३० प्रतिशतमध्ये कति स्वतन्त्र पार्टीमा गए भन्ने यकिन तथ्य निकालिएको छैन । को–को गए ? त्यो पनि पत्तो छैन । शंका गरियो, सुरेन्द्र मानन्धरहरूलाई ।

कीर्तिपुर क्षेत्रका युवामाझ राम्रो पकड भएका, विद्यार्थी राजनीतिबाट खारिएर आएका उनी लामो समय घनश्याम भुसालनिकट भएकै नाममा उपेक्षित थिए । घनश्याम एकीकृत समाजवादीमा गएर महासचिव हुँदा पनि सुरेन्द्र त्यता गएनन् । न एमालेमै फर्किएका थिए । उनीसहित उपत्यकाका स्थानीय युवाहरूको ठूलो पंक्ति स्वतन्त्र पार्टीमा जालान् भन्ने अनुमानका साथ सुरेन्द्रलाई केन्द्रीय सदस्य बनाएर शपथ गराइयो । सुरेन्द्रको शपथपछि कीर्तिपुर त सुरक्षित हुने नै भयो, तर सदस्यता नवीकरण जसरी ह्वारह्वारी हुन्छ भन्ने अनुमान थियो, त्यो पनि भएन । यसपछि अर्का असन्तुष्ट तथा प्रभावशाली मानिने रामवीर मानन्धरको प्रसंग आयो । उनीसँग थुप्रैले पार्टी काममा फर्किनेबारे सल्लाह गरे पनि अहिलेसम्म कसैका कुरा सुनेका छैनन् । अनुमान छ, उनी रास्वपातिर जाँदैछन् । उनीसहित बुद्धिजीवी फाँटका अरु नेता पनि जाने हल्ला छ ।

यसरी भएका कार्यकर्ता कहाँ गए भनेर पत्तो नपाएको पार्टी नेतृत्वलाई भने अरु कुराकै चासो बढी छ । जस्तो कि, अमेरिकामा महासचिव शंकर पोखरेलकी जेठी सासू ( पत्नी सुजिता शाक्यकी दिदी) की छोरीको विवाह छ । उनी त्यतातिर लागे । सीधै विवाहमा सरिक हुन अमेरिका जान लागेको भन्न नमिलेर डा.राजन भट्टराईहरूलाई मिलाउन लगाई अमेरिकास्थित एमाले कमिटीको अधिवेशन राख्न लगाए ।
 

टिप्पणीहरू