बुटवल उपमहानगरपालिकाको प्राथमिकतामा स्वास्थ्य र शिक्षा

बुटवल उपमहानगरपालिकाको प्राथमिकतामा स्वास्थ्य र शिक्षा

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको १३ औं नगरसभामा नगरप्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्नेदेखि लिएर पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि उपयुक्त विश्रामस्थलको निर्माण गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ । 

त्यस्तै, ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने सोचलाई अगाडि सारेको नीति तथा कार्यक्रमले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहर बनाउने उद्देश्य राखेको छ । 

शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अवलम्बन गर्ने उल्लेख छ ।

नगरप्रमुख पाण्डेयका अनुसार शैक्षिक सुधारका लागि शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ) मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटोभिलेजमा स्नातक तहमा अटो इञ्जिनियरिङको अध्ययन शुरु गर्ने लक्ष्य राखिएको छ । 

बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिइएको बताउँदै नगरप्रमुख पाण्डेयले सिद्धार्थ बाल तथा महिला अस्पतालमा ‘नगरप्रमुख आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने जनाएका छन् ।  त्यस्तै, वडा नम्बर १३ र १७ मा १५–१५ शैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ का अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने नीति बुटवलले लिएको छ ।

बुटवलबासीलाई उपचारको क्रममा आवश्यक पर्ने रगतको शुल्क हटाउने, जेष्ठ नागरिकको घरमै पुगेर उपचार गर्ने जनाइएको छ । ई–रिक्सा र टेम्पो चलाउने महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

लुम्बिनी बस टर्मिनललाई यात्रुमैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय, स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ । उज्यालो बुटवललाई उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ । बुटवलका मुख्य चोकमा हाइमास्ट लाइट र भित्री सडक तथा गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट जडान गरिने योजना अघि सारिएको छ ।  

मुख्य सडकमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्माणका साथै बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीलाई सहुलियत ऋण, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न ‘मेयर कप फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने र खेल मैदानहरुको स्तरोन्नतिलाई प्राथमिकतामा राखिने बताइएको छ । ‘मेरो टोल म सफा गर्छु’ भन्ने नाराका साथ ‘ग्रीन एण्ड क्लिन सिटी’ बनाउन टोलविकास संस्थालाई परिचालन गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ । 

विद्यार्थी लक्षित कमाउँदै–पढ्दै कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न ‘मेयर युवा इलाम कार्यक्रम’, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने उपमहानगरपालिकाको निर्णय छ । 

बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिम रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने बताइएको छ । त्यस्तै, नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्डाखुल्डी पुर्ने, नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जीतगढी किल्लाको संरक्षणलगायतका विषयवस्तु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

टिप्पणीहरू