अतिरिक्त शुल्क असुली नरोके कारबाही : सञ्चार मन्त्रालय

अतिरिक्त शुल्क असुली नरोके कारबाही : सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण संस्थालाई अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न निर्देशनसहितको चेतावनी दिएको छ । 

यसअघि गत चैत २४ गते जारी सूचनमा अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न अनुरोध गरिएको थियो । तर केही वितरक संस्थाले इन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाइरहेको गुनासो प्राप्त भएपछि मन्त्रालयले त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द नगरे प्रचलित कानूनबमोजिम कारवाही गरिने चेतावनी दिँदै भनेको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत चैत २४ गतेको सूचनामा उपभोक्ताले ‘टेलिभिजन प्रसारणबापत मासिक रुपमा अधिकतम रु ५०० भुक्तानी गर्नुपर्दा तथा ईन्टरनेट सेवाबापत दूरसञ्चार ऐन, २०५३ बमोजिम शुल्क भुक्तानी गर्नुपर्दा हाल तिर्नुपरिरहेको संयुक्त शुल्कभन्दा बढी हुन नहुने’ भनी स्पष्ट गरी अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न अन्थया प्रचलित कानूनबमोजिम भईजाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लाथि यो सूचना जारी गरिएको छ ।’

योसँगै मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवा प्रणालीवापत उपभोक्तालाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले आलाकार्ट मूल्य निर्णय गरी सबै वितरण संस्थालाई सो प्रणाली लागू गर्न केही समयअघि गराएको जानकारीको स्मरण गर्न आग्रह गरेको छ ।

सो प्रणाली लागू गर्न आवश्यक पर्ने बुके र टेलिभिजन च्यानलको छुट्टाछुट्टै मूल्यसहित बुकेको मूल्य प्रस्ताव गर्न सूचना तथा प्रसारण विभागले सबै वितरण संस्थालाई पत्राचार गरिसकेको छ । तर त्यस्तो मूल्य हालसम्म प्राप्त नभएकाले मन्त्रालयबाट यस्तो बुकेको मूल्य निर्धारण भइनसकेको जनाइएको छ ।

टिप्पणीहरू