श्री पशुपतिनाथ दर्शन

श्री पशुपतिनाथ दर्शन

प्रचण्ड सरकारको पूरै मन्त्रिमण्डल श्री पशुपतिनाथको दर्शनमा लागेपछि डा. बाबुराम भट्टराईले प्रश्न राख्नुभएछ– मुलुक कता जाँदै छ ?

डा. बाबुरामले नै यस्तो प्रश्न राखेपछि हामी पनि रनभुल्लमा परेका छौँ । वास्तवमा मुलुक कता जाँदै छ ? मुलुकलाई हिँडाउन भनेर कमरेड प्रचण्डले एउटा बाटो पनि निर्माण गर्नुभएको थियो । जसको नाम थियो प्रचण्डपथ । तर, अहिले यस्तो लागिरहेको छ, प्रचण्डपथमा त स्वयम् प्रचण्डै पनि हिँडिरहनुभएको छैन । प्रचण्ड त महेन्द्रपथमा पो देखिनुहुन्छ । प्रधानमन्त्री बन्न महेन्द्रले सिलाइदिएको दौरा सुरुवाल लगाइहाल्नुभयो । त्यसपछि त्यही महेन्द्रले बसाइदिएको पुस २७ को बिदा पनि जारी नै गर्नुभयो । भारत पुगेर कालेश्वरनाथको दर्शन गर्नुभयो । नेपाल फर्केर पशुपतिनाथको दर्शन गर्नुभयो ।

यति गरिसकेपछि प्रचण्ड कता जाँदै हुनुहुन्छ भनेर अनुमान लगाउन गाह्रो भएन । डा. बाबुरामलाई गाह्रो प¥यो होला, त्यो बेग्लै कुरा भयो । हामीलाई चाहिँ गाह्रो भएन । अब शायद ‘गन्तव्य’ मा पनि छिट्टै पुग्नुहुन्छ होला । हिँडाइको रफ्तार यही रह्यो भने ‘गन्तव्य’ शायद टाढा छैन । ‘गन्तव्य’ तिर लम्किरहेका कमरेड प्रचण्डलाई श्री पशुपतिनाथले कल्याण गरून् !
 

टिप्पणीहरू