बालेन अब गृहमन्त्री बन्लान् त !

बालेन अब गृहमन्त्री बन्लान् त !

कुरा सामान्य होइन, काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आफू ७५३ मध्ये एउटा पालिकाको प्रमुख भएर पनि क्षेत्राधिकारभन्दा बाहिर गई कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । प्रश्न उठ्छ, आखिर किन उनी यस्तो दुस्साहसी काम गर्दैछन् ? 

छिमेकी देशसँगको कूटनीतिक सम्बन्ध व्यवस्थापन, सीमा समस्या समाधानजस्ता विषयमा लामो समयदेखि सत्ता राजनीतिको केन्द्रमा रहँदै आएका प्रमुख दलहरु चुकिरहेका छन् । शायद, तिनलाई देखाइदिऊँ भन्ने भित्री चाहना होला तर यो सामान्य कुरा होइन । ‘मैले चाहेँ भने केसम्म गर्न सक्छु’ भन्ने महत्वाकांक्षा पनि हुनुपर्छ । जसरी रवि लामिछाने गृह मन्त्रालयबाट हट्नासाथ एक दिन बालेनले तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई फोनमा भनेका थिए, ‘तपाईं गृह मन्त्रालय फर्किने सुन्दैछु । मलाई गृहमन्त्री बनाए हुँदैन ? म ६ महिनामा कालापानी, लिपुलेक र लिम्पियाधुरा फर्काएर देखाइदिन्छु !’ 

यस्तो काम उनले कसरी गर्थे, त्यो आफ्नो कुरा हो । उनका विभिन्न वैदेशिक सम्बन्ध र महत्वाकांक्षाबारे बेलाबखत विवादास्पद अभिव्यक्ति आउने गरेको छ । दलहरु छिमेकी देशको सम्बन्धमा बोल्न नसकेको, चुकेको अवस्था छ । होला, जिम्मेवारी पाएको भए गरेर देखाउँथे होलान् । तर, बालेनले काठमाडौंको मेयर छोडी गृहमन्त्री भएर त्यो काम गर्छु भन्ने बाचा आफैंमा अनौैठो हो । दलहरुले नसक्ने, घाउ बल्झाइरहने हो भने उनलाई लौन त गरिखाऊ भनेर प्रयोग गरे पनि हुन्थ्यो । काठमाडौंका सुकुम्बासी बस्ती र टुकुचामा डोजर चलाएजस्तो यिनले कहाँ के चलाउँथे ? सके हाईहाई, नसके पत्रु हुने उनै हुन्थे । रवि लामिछानेले एक महिनामा के गर्छु भनेका थिए, के गरेर निस्किए ? देखिएकै हो ।

टिप्पणीहरू