प्रहरी हेडक्वार्टरको चेतावनी : दोषीमाथि कारबाही नभए सम्बन्धित अधिकृत जिम्मेवार

प्रहरी हेडक्वार्टरको चेतावनी :  दोषीमाथि कारबाही नभए सम्बन्धित अधिकृत जिम्मेवार

नेपाल प्रहरीले सामाजिक सञ्जालको जथाभावी प्रयोग गरेका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही थाल्ने भएको छ । प्रहरी प्रधान कार्यालयले यसअघि पनि सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्न पटक पटक आग्रह गरेको थियो । तर अटेर गर्दै आएका कर्मचारीलाई हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी दिँदा पनि नटेरेपछि अहिले कारबाही गर्ने अन्तिम चेतावनी दिइएको बताइएको छ ।

प्रहरी महानिरीक्षको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले मातहतका सबै कार्यालयमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीतका कार्य पुनरावृति गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुख समेतलाई विभागीय कारबाही हुने चेतावनी दिएको छ । 

परिपत्रमा भनिएको छ, ‘नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीतका कार्य पुनरावृति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत जिम्मेवार बनाई विभागीय कारबाही भइजाने व्यहोरा जानकारी गराइन्छ ।’

त्यस्तै, महाशाखाले सुपरीवेक्षकीय कार्यालयबाट आआफ्नो मातहतका प्रहरी कर्मचारीबाट विभागीय आदेश/निर्देशन परिपालना भए/नभएको समेत अनुगमन गरी कार्यान्वयनतर्फ पहल गर्न पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू