प्रधानमन्त्रीको प्रश्टोक्ति - 'अखण्ड भारत'को नक्साबारे भारतसँग कुराकानी भएको छ

प्रधानमन्त्रीको प्रश्टोक्ति - 'अखण्ड भारत'को नक्साबारे भारतसँग कुराकानी भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साबारे आफ्नो भ्रमणका क्रममा कुरा उठेको बताउनुभएको छ । 

नेपाली भूभागसमेत समेटिएको उक्त नक्सालाई लिएर जनस्तरमा आक्रोश बढिरहेका बेला आज राष्ट्रियसभा बैठकमा उहाँले यसबारे आफ्नो भारत भ्रमणमा गम्भीर रुपले कुरा राखको जानकारी दिनुभएको हो । 'अखण्ड भारत'को नक्साका सम्बन्धमा आफूले सोधखोज गरेको तर, भारतीय पक्षले उक्त नक्सा ऐतिहासिक र सांस्कृतिक रहेको जवाफ दिएको पनि प्रधानमन्त्रीले सुनाउनुभयो । 

‘अखण्ड भारतको नक्साबारे कुरा भयो । मैले गम्भीर रुपले नै कुरा उठाए । त्यो धेरै अध्ययन त भइसकेको थिएन, तर, पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'तर, उहाँहरूले यो कुनै राजनीतिक नक्सा होइन ऐतिहासिक र सांस्कृतिक नक्सा हो राजनीतिक रूपले हेर्न हुँदैन भन्ने कुरा गर्नुभयो ।' 

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्कनु केही दिनअघि सार्वजनिक भएको सो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरिएको छ । त्यस्तै, पाकिस्तान र बंगलादेशका भूभाग पनि नक्सामा समेटिएका छन् ।

टिप्पणीहरू