दसैँअघि भारतबाट ५० र हजारका नयाँ नोट आउँदै, करोडौं मूल्यका नेपाली नोट झण्डै सखाप

दसैँअघि भारतबाट ५० र हजारका नयाँ नोट आउँदै, करोडौं मूल्यका नेपाली नोट झण्डै सखाप

– द्रव्य शाह 

राष्ट्र बैंकले यो वर्ष ५० रूपैयाँ दरको नोट छाप्ने ठेक्का मुम्बई नजिकै नासिकस्थित भारतीय सेक्युरिटी प्रिण्टिङ कम्पनीलाई दिएको छ । पुस २६ गते ठेक्काको आधिकारिक पत्र पाएको कम्पनीले उक्त दरका ३० करोड थान नोट छाप्न ५० लाख ४८ हजार ७८० अमेरिकी डलरमा ठेक्का पारेको हो । प्रचलित विनिमय दरअनुसार उक्त रकम नेपाली रूपैयाँ ६६ करोड ६४ लाख ३८ हजार ९६० र भारतीय रूपैयाँ ४१ करोड ६५ लाख २४ हजार ३५० हुन आउँछ । बैंकले नोट छापेबापतको रकम अमेरिकी डलरमा नै भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था छ । यता, ठेक्का पाएको तीन महिनापछि ३० करोड नोट थान छाप्न तयारी गरिएको बैंकलाई औपचारिक जानकारी गराइएको छ । सँगसँगै नमुना नोटको ‘डिजिटल भर्सन’ बैंकको केन्द्रीय कार्यालय, बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागमासमेत पेश गरिएको छ । विशेष कागजमा छापिने ती नमुना नोटबारे बैंकका अधिकारी अहिले पनि भारतीय कम्पनीसँग छलफलमा रहेको बताइन्छ । 

निकै महँगो त्यस्तो कागज प्रारम्भिक चरणमा नै पानीछाप, सेक्युरिटी थ्रेड हालेर बनाइएको हुन्छ । भारतीय कम्पनीले महँगोमा त्यस्तो कागजको आवश्यक व्यवस्थापन गरीवरि छाप्न लागिएको ५० दरको नोटमा केही त्रुटि फेला परेको छ । 

बैंक स्रोत भन्छ, ‘यसपटक ५० दरको नोटमा वाटरमार्क अर्थात् पानीछापको समस्या फेला पर्‍यो । दायाँतर्फको खाली भागमा लालीगुराँसको पानीछाप राख्नुपर्नेमा टेण्डरअघि तोकिएको साइजभन्दा अहिले सानो र निश्चित बोर्डरबाट बाहिर आएको पाइएको छ । तर सम्झौताबमोजिम टाइममा नोट डेलिभरी गर्न कम्पनीलाई जानकारी गराएका छौं ।’ 

उक्त नोट यसअघि फ्रान्सको ओबर्थर फिदुसियारे एसएएस कम्पनीले छापेको थियो । उसले पछिल्लो समय ५०, १० दरलगायतका नोट छापिसकेको छ । भारतीय कम्पनीले भने ५० सँगै यसपटक एक हजार दरको नोट पनि छाप्ने टेण्डर गत मंसिरमै हात पारेको छ । हजार दरका ४३ करोड थान नोट एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरमा छाप्ने अनुमति दिइएकोमा अहिले ५० दरको नोटमा समस्या देखिएपछि छाप्नुअघि बैंकका अधिकारीहरू र नासिकस्थित भारतीय कम्पनीका प्रतिनिधिहरूबीच धेरै चरणमा कुराकानी भइसकेको छ । मुद्रा व्यवस्थापन विभाग स्रोत भन्छ, ‘यसअघि ५० दरको नोट छापेको फ्रान्सेली कम्पनीको कमजोरी देखिएकाले लिखितपत्रका साथ सचेत गराएका छौं । उता भारतीय कम्पनीलाई सम्झौताबमोजिमको नोटबाहेक अन्य स्वीकार गर्न नसक्ने मौखिक जवाफ पनि दिइसक्यौँ ।’ 

यदि, भारतले उक्त परिमाणको नोट छाप्न सबै तयारी पूरा गरेर कागज नै खरिद गरेको भए करोडौं रूपैयाँ घाटा सहनुपर्ने अवस्था थियो । नयाँ कागज पुनः खरिद गर्नुपर्दा कम्तीमा २० करोड आइसी घाटा लाग्नेछ । तर भारतीय कम्पनीले नमूनाको निम्ति थोरै परिमाणको विशेष कागजको प्रबन्ध गरिएकाले खासै समस्या नभएको दाबी गरेको छ । जनआस्थासँगको कुराकानीमा भारतीय कम्पनी स्रोतले भन्यो, ‘यसअघि सोही दरको नोट छापेको कम्पनीका कारण डिजाइनमा फरक परेको हो । राष्ट्र बैंकको ५० दरको नोटमा भएका सबै फिचरबमोजिमको नयाँ डिजिटल डिजाइन भइसकेको छ । सम्भवतः आगामी साता नासिकबाट आउने कम्पनी प्रतिनिधिले बैंकको मुद्रा व्यवस्थापन विभागका अधिकारीहरूसँग छलफल गरेपछि अन्तिम टुंगो लाग्नेछ ।’

उता, फ्रान्सको कम्पनीले भारतीय कम्पनीलाई पानीछापलगायत सबै फिचर र विवरण अर्कै दरको नोटको पठाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही कारण फ्रान्सेली कम्पनी ओबर्थरलाई बैंकले सचेत गराउँदै पत्र पठाएको हो । अब राष्ट्र बैंकले फाइनल स्वीकृति दिएपछि नोट छापेर डेलिभरी गर्नुपर्ने समय चार महिना तोकिएको छ । आगामी दसैँअगावै ती नोट बैंकमा आइसक्नुपर्ने हुन्छ । 

दुई दशकअघि पोलिमर (प्लास्टिक) १० रूपैयाँ दरको नोट छाप्ने क्रममा ठूलै गल्ती भएपछि अष्ट्रेलियन कम्पनीले करोडौंको नोट नष्ट गरेर नयाँ छापेको थियो । त्यसबेला अगाडिको भागमा रहेका नम्बरमध्ये दुई वटा पातलो र अरु मोटो देखिएकाले बैंकले बुझ्न अस्वीकार गरेको थियो । भारतले भने १० रूपैयाँ दरको नोट डेढ दशकअघि पहिलो पटक छाप्यो । त्यतिबेला एक सय दरको नोटसमेत छाप्न अग्रसर भएको भारतीय कम्पनी नोटमा थपिएको लुम्बिनीको ‘अशोक स्तम्भ’ र अंग्रेजीमा लेखिएको ‘बुद्धको जन्मथलो’ व्यहोराका कारण पछि हटेको त्यसबेलाका हाकिमहरूको भनाइ छ । 

झण्डै आठ दशकअघि बेलायतको डेलारु कम्पनीले नेपालको नोट पहिलो पटक छापेको हो । त्यसपछि विभिन्न समयमा चीनको बैंकनोट प्रिण्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, फ्रान्सको ओबर्थर, इण्डोनेसियाको पेरुम पेरिरी र नेदरल्याण्डको रोयल डच मिन्टले पनि छाप्दै आएका छन् । यो वर्ष तीबाहेक अन्य पाँच कम्पनी प्रतिस्पर्धामा थिए । ती पोल्याण्डको मेनिका पोल्सका एसए, स्लोभाकियाको मिनकोभ्ना क्रेम्निका स्टाट्नी पोड्निक, फिनल्याण्डको मिन्ट अफ फिनल्याण्ड, स्पेनको रियल कासा डेला मोनेडा र बेलायतको द रोयल मिन्ट लिमिटेड हुन् । इण्डोनेसियाको पेरुम पेरिरीलाई भने कालोसूचीमा राखिएको छ ।
 

टिप्पणीहरू