बालकृष्ण खाँणको बयान आज, टोपबहादुरको हिजै

बालकृष्ण खाँणको बयान आज, टोपबहादुरको हिजै

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग आज जिल्ला अदालत, काठमाडौंमा बयान लिने तयारी गरिएको छ । उक्त आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग हिजै बयान लिइएको बताइएको छ ।

आज पूर्वगृहमन्त्री खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिने तयारी गरिएको हो । उक्त प्रकरणमा प्रहरीले प्रतिवादी बनाएकाहरुको बयान जिल्ला अदालतमा जेठ १२ गतेदेखि लिन थालिएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजो रायमाझी, काँग्रेसका पूर्व सांसद आङटावा शेर्पा र नेपाल हज समितिका अध्यक्ष समशेर मियाँसँग बयान लिइएको थियो । आरोपितमध्ये प्रक्राउ परेका १७ जनामध्ये १४ प्रतिवादीले बयान दिइसकेका छन् । ३० आरोपितमध्ये १३ जना अझै फरार छन् ।

टिप्पणीहरू