महिलाको घाँटीबाट सिक्री लुछेर भागेका दुईमध्ये एकजना पक्राउ

महिलाको घाँटीबाट सिक्री लुछेर भागेका दुईमध्ये एकजना पक्राउ

महिलाको घाँटीबाट सुनको सिक्री लुछेर भागेका एकजना प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर १ का ३० वर्षीय पोण्डे भनेर चिनिने विष्णु तामाङ्गलाई दुई महिनापछि समातेको हो ।

गत चैत १८ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलामा रहेको ‘गेटवे मन्टेश्वरी स्कुल’ अगाडि बाटोमा पैदल हिँड्दै गरेकी भक्तपुरको मध्यपुर थिमी बस्ने मनमाया छुजुको सुनको सिक्री लुटिएको थियो । पल्सर मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्ति पछाडिबाट सुनको सिक्री लुटपाट गरी फरार भएका थिए । दुई महिनादेखि फरार रहेका उनीहरुलाई प्रहरीले खोजिरहेको थियो । 

प्रहरीका अनुसार तीमध्ये तामाङ्ग हिजो जोरपाटीबाट पक्राउ परेका हुन् । अर्का प्रतिवादीलाई खोज्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, बानेश्वर पठाइएको छ ।
 

टिप्पणीहरू