सूर्तीजन्य पदार्थ नियन्त्रणमा बलियो ऐन, फितलो कार्यान्वयन

सूर्तीजन्य पदार्थ नियन्त्रणमा बलियो ऐन, फितलो कार्यान्वयन -नमस्कार शाह

सन्दर्भ : विश्व धुम्रपानरहित दिवस

सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघात, क्यान्सर तथा हृदयाघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । दमको रोग लागेर मृत्यु हुने सम्भावना १३ प्रतिशत हुन्छ । यसले मिर्गौलालाई काम गर्न नसक्ने बनाइदिनुका साथै मुख, घाँटी, आन्द्रा, स्तन पिसाबथैली जस्ता अंगमा क्यान्सरको खतरा बढी हुन्छ । मधुमेह रोगको जोखिम पनि उच्च बनाइदिन्छ । 

सूर्तीजन्य पदार्थको सेवनले रक्तनलीको भित्री भागमा कोलेस्टेरोल जम्मा गराउँछ । लामो समयसम्म धुम्रपान सेवन गरेका मानिसमा खान मन नलाग्ने तथा पाचन क्रियामा समस्या हुन्छ । युवा अवस्थामा नै कपाल झर्ने तथा छिटो फुल्ने समस्या पनि हुन्छ । उमेरभन्दा बढी पाको देखिन्छ । कान कम सुन्ने तथा आँखा कमजोर बनाइदिन्छ । गर्भवती महिलाले धूम्रपान गरेमा गर्भको शिशु समय अगावै जन्मिन सक्छ । साथै, सूर्ती सेवन गर्ने महिलामा बाँझोपनको समस्या पनि धेरै हुन्छ । 

चुरोट पिउने व्यक्तिको छालामा समस्या हुने, चाउरी पर्ने, सुख्खा हुने, जिब्रोको स्वाद लिने क्षमता र नाकको सुँघ्ने क्षमता कम हुने, शुक्रकीटको क्षमता घटाउने, दाँत बिग्रिने, मुख गन्हाउने हुन्छ । धुम्रपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछ । यसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । 

सूर्तीमा भएको निकोटिनले अम्मली बनाउनुका साथै मस्तिष्क र स्नायुमा पुगेर रिंगटा लाग्ने, कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्ने, मस्तिष्क शिथिल हुने, दाँत बिग्रने, औंला र नङ पहेंलो हुने, कालो हुने, रक्तनली र भल्भमा निकोटिन जम्दै जाँदा साँघुरिएर मुटुसम्बन्धी रोग, थोम्ब्रोएन्जाइटिस अवलिटरेनस, बर्गर रोग, हृदयाघात, मस्तिष्कघात, कान पाक्ने, श्रवणशक्ति कम हुने, बहिरो हुने, पक्षाघात, स्नायु, नसा र धमनी सुन्निने आदि बनाउँछ । 

चुरोटमा हुने कार्बनमोनोअक्साइड ग्याँसले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले बाधा पुर्याएर हाड कमजोर हुने, घाउ निको हुन लाग्ने समय ८० प्रतिशतले बढ्ने, पाँच गुणा बढी ढाड दुख्ने सम्भावना, दम बढ्ने, दीर्घ खोकी, पिपयुक्त खकार तथा खोक्न र श्वास फेर्न कठिन बनाउँछ । मोतियाबिन्दु पनि धुम्रपानले बनाउन सक्छ भन्ने कुरा ४० प्रतिशतभन्दा बढी धुम्रपान गर्नेमा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै नदेख्ने बनाएकोबाट प्रमाणित भएको छ । 

धुम्रपानको धुवाँले आँखालाई पीडा तथा संवेदनशील बनाउँछ र फोक्सोबाट रगत हुँदै आँखामा पुग्ने सूर्तीका रसायनले रेटिनाको मध्यभागमा क्षति पुयाउँछ । उमेरसँगै बुढो हुँदै जाँदा विकसित हुने फोकस गर्न नसक्ने समस्या धुम्रपान गर्नेमा छिटो शुरु हुने तथा तीव्र गतिमा हुने गर्दछ । मुटुसम्बन्धी रोग उब्जाउने प्रमुख कारण धुम्रपान हो, जसका कारण विकासोन्मुख मुलुकमा १० लाखभन्दा बढी र विकसित मुलुकमा छ लाखभन्दा बढी व्यक्तिको अकालमा ज्यान गरेको छ । 

धुम्रपान मुटुको धड्कन तीव्र पार्ने, रक्तचाप बढाउने, उच्च रक्तचापको सम्भावना हुने, हृदयाघातको कारण बन्न सक्छ । धुम्रपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अंगमा क्यान्सरको जोखिम बढाउँछ ।

सामान्य व्यक्तिलाई भन्दा धुम्रपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, दुई गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, र्यालग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर, आठदेखि १० गुणा बढी भोजननलीको क्यान्सर, दुईदेखि तीन गुणा बढी आमाशयको क्यान्सर, पाँच गुणा बढी मिर्गौलाको क्यान्सर, दुई–पाँच गुणा बढी प्यान्क्रियाजको क्यान्सर, तीन गुणा बढी आन्द्राको तथा पाँचदेखि छ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ ।

उल्लेखित असरबाहेक धेरै असर सूर्तीजन्य पदार्थको सेवनबाट हुने गरेको छ । तर यो यथार्थ थाहा हुँदाहुँदै पनि सूर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या दिनहुँ बढिरहेको छ । विश्वमा वर्षेनी ८३ लाखको मृत्यु धुम्रपानका कारण हुने गरेको तथ्याङ्क छ । नेपालमा कुल जनसंख्याको १८ दशमलब ५ प्रतिशत जनसंख्याले धूम्रपान तथा सूर्ती सेवन गर्ने तथ्याङ्क छ । सेवन गर्नेहरुको डरलाग्दो तथ्याङ्क छ । तरपनि बेवास्ता गरिँदै आइएको पाइन्छ । 

विश्वमा प्रत्येक छ सेकेन्डमा एक व्यक्ति धुम्रपानको कारणले मर्दछ, जसमा ८० प्रतिशत नेपालजस्तै विकासशील देशका पर्छन् । नेपालमा वार्षिक ३० हजार मानिसले धुम्रपानकै कारणले मृत्यु वरण गर्छन् । १२ वर्षअघि गरेको एक सर्वेक्षणमा नेपालको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धुम्रपान गर्ने गरेको पाइएको छ । विश्वका विभिन्न देशमध्ये नेपाल धुम्रपान सेवन गर्नेमा अग्रस्थानमा रहेको तथा नेपाली महिला विश्वमै प्रथम स्थानमा छन् । 

अरू त अरू शहरी क्षेत्रका स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाले पनि धुम्रपान गरेको पाइन्छ । ७१ दशमलव ४ प्रतिशतभन्दा बढी महिला, ८५ प्रतिशतभन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको अनुमान छ । यही अचाक्लिपनालाई कम गर्न नेपाल सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन, २०६८ ल्याएको पनि एक दशक बढी भइसकेको छ । यसको पूर्ण कार्यान्वयनको अभावमा सूर्तीजन्य पदार्थको खुला संस्कृतिमाथि अंकुश लाग्न सकिरहेको छैन । 

ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा मानिसहरू अहिले पनि विद्यालय, अस्पताल, क्याम्पस, होटल, मठमन्दिर र पाटीपौवालगायत सार्वजनिक स्थलमा खुला रूपमा चुरोट, बिँडी, खैनी, सूर्ती र तमाखुजस्ता सूर्तीजन्य पदार्थ सेवन गरिरहेका हुन्छन् । ऐनमा निजी वा सरकारी कुनै पनि सार्वजनिक स्थलमा धुम्रपान गरेको खण्डमा एक सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, विद्यालय अस्पताललगायत सार्वजनिकस्थल वरपर एकसय मीटरभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्था छ । विडम्बना, विद्यालय वा अस्पताल हाताभित्रै त्यस्ता सूर्तीजन्य पदार्थ बिक्रीवितरण हुँदासमेत सम्बन्धित निकायले कुनै कारवाही गर्न सकेको छैन । गर्भवती र बालबालिकालाई चुरोट बेच्न नपाउने, चुरोट खिल्लीको हिसाबले नभई बट्टा नै बेच्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । जनचेतनाको अभाव, दण्डको व्यवस्था नहुनु र सम्बन्धित निकाय र संघ संस्थाबीच आवश्यक सहकार्य नभएका कारण ऐन कार्यान्वयनमा समस्या देखिएको छ । जबसम्म ऐन कार्यान्वयन हुँदैन तबसम्म सार्वजनिक स्थानमा सूर्ती सेवन निषेध हुन असम्भव छ । तसर्थ, ऐनको अक्षरशः कार्यान्वयन जरुरी भइसकेको छ ।

यही पृष्ठभूमिमा विश्वभर मे ३१ को दिन विश्व धुम्रपानरहित दिवस मनाइन्छ । यस वर्षको नारा ‘हामीलाई खाना चाहिन्छ, सूर्तीजन्य पदार्थ होइन’ रहेको छ । यसको सन्देश हामीलाई खाना जरुरी छ, खाना चाहिएको छ, सूर्तीजन्य पदार्थ होइन भन्ने हो । यही सन्देशअनुरुप सार्वजनिक स्थानलाई मात्रै सूर्तीजन्य पदार्थ निषेध गरिदिने हो भने यसको प्रयोग र यसबाट अरुलाई गर्ने असरबाट बच्न सकिन्छ । यसतर्फ ध्यान दिन जरुरी छ ।

टिप्पणीहरू