चुपचाप सल्टाइयो घरबेटीको कागजकाण्ड

चुपचाप सल्टाइयो घरबेटीको कागजकाण्ड

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विकृतिको दलदलमा फसेको छ । कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक, उत्तरपुस्तिकादेखि मतपत्र र सरकारी कागज छपाइ गर्दै आएको केन्द्रमा राम्रैसँग घोटाला हुने गरेको बताइन्छ । 

प्रबन्ध निर्देशक अनिलकुमार झासँग मिलेर कागजदेखि उपकरण खरिदसम्ममा अनियमितता हुँदै आएको गुनासो छ । केन्द्रले आफ्नो कर्तुत ढाकछोप गर्न धनुषाबाट छापिएर आएको कमसल गुणस्तरको किताबसमेत स्वीकारेको तथ्य यतिबेला सार्वजनिक भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का घरबेटी शारदा अधिकारीसंग मिलेर झाले मापदण्डअनुरूप नभएको कागजबाट तयार पारिएको किताब स्विकारेका हुन् । उपनिर्वाचन अघिको कुरा हो, धनुषाको एक प्रेसबाट एक ट्रक किताब छापेर काठमाडौं ल्याइयो । 

कम गुणस्तरको कागज सप्लाई गरेको उजुरी परेपछि पाठ्यक्रम विकास केन्द्रले अनुगमन ग¥यो । कागजको गुणस्तर ९४ जिएसएम र ‘ब्राइटनेश’ हुनुपर्ने सम्झौता थियो । यद्यपि, कम्पनीले ७० जिएसएमको कागज ‘सप्लाई’ गरेको भेटिएको हो । 

सम्झौताअनुसार कागज नभएपछि केन्द्रले किताब फिर्ता पठायो र तोकिएको मापदण्डबमोजिम पुनः पाठ्यपुस्तक छाप्न निर्देशन दियो । तर, सो ट्रक धनुषा फर्किएन । तीन–चार दिन मनोहरा खोलाकिनार ग्यारेजमा ट्रक लुकाएर राखियो । सोही क्रममा ठेक्का लिने अधिकारीको कम्पनीले सिरहाको एक प्रिन्टिङ प्रेसको बिल पेश ग¥यो । 

नयाँ कम्पनीको बिल बुझाएर उही पुराना सामान ल्याउने क्रममा प्रहरीले सो ट्रकलाई पक्राउ ग¥यो । यो कुरा ऋषि धमलाको कानमा प¥यो । रिपोर्टर्स क्लबका संस्थापक तथा प्राइम टेलिभिजनका सञ्चालक धमलाले यसलाई बाहिर ल्याए । तर, पाँच लाख रूपैयाँ हात परेपछि त्यो सामग्री अर्काइभबाट उड्यो । धमलाले बन्द गरेको ‘च्याप्टर’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडिएका केहीले खोतल्न थाले । 

खोज्दै जाँदा पोल खुलिहाल्यो । उसका युट्युबरहरूले छापा हानेजस्तो गरेर घाउ फेरि काृट्याउन थाले । ‘रास्वपाका युट्युबेहरूले छापा हानेर पैसा पाए चुप लाग्नेजस्तो गरेका थिए । तर, केही हात नपरेपछि यो विषय बाहिर ल्याइयो’, स्रोतले भन्यो । 

यता, यो विषयले उग्ररूप लिने देखिएपछि प्रचण्डका घरबेटी अधिकारीले भित्रभित्रै ‘सेटिङ्ग’ मिलाएर कुरा सल्टाएका छन् । जनक शिक्षाले फिर्ता पठाइएको किताब कसैलाई जानकारी नगराई सुटुक्क स्वीकारेको छ । स्रोत भन्छ, ‘यसको पछाडि कुनै कारण त अवश्य पनि होला नि ?’

शिक्षा जीवन हो तर ज्ञान हासिल गर्ने किताबमै भ्रष्टाचार हुने गरेको छ । सरकारी स्तरबाटै किताबमा चलखेल हुनु लज्जास्पद विषय हो । यसअघि विद्यार्थीलाई पाठ्यपुस्तक नभएर पढ्नकै सास्ती हुन्थ्यो । यो वर्ष विद्यार्थीले बेला घर्कन नदिने नाममा पाठ्यपुस्तक त पाए तर उही गुणस्तरहीन । 
 

टिप्पणीहरू