खोइ राष्ट्रपति ?

खोइ राष्ट्रपति ?

राष्ट्रपति रामचन्द्र पौडेल अस्ति संसद्मा कसैले बडो सरल ढंगले आउनुभयो । एउटा गाडी अगाडि, एउटा गाडी पछाडि । बीचमा राष्ट्रपति । बाटोमा राष्ट्रपति आएको हो कि कुनै नारीको पति आएको हो भन्नेसमेत थाहा पाउन सकेन । योभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा यस्तो थिएन । उहाँ त बाटोमा यसरी आउनुहुन्थ्यो जसरी कि कुनै राष्ट्रपति नै आउने गर्छ । बाटोमा राष्ट्रपति आउँदै छ भन्ने कुरा जनतालाई तीन घण्टाअघि नै थाहा भइसकेको हुन्थ्यो ।

किनकि राष्ट्रपति सवारी हुनु तीन घण्टा अघिदेखि नै बाटो ब्लक गरिसकिएको हुन्थ्यो । कुर्नुपरेपछि को आउँदै थाहा भइहाल्छ । यसपालि त्यस्तो कुर्नु परेन । कुर्नु नपरेपछि कुरिरहेका कुनै डाक्टरले प्रहरीको लाठी पनि खानु परेन । बाइकवालाले हर्न बजाएर हैरान पार्नु परेन । उहाँ त यसरी आउनुभयो, बाटोमा आइरहेका मान्छेले समेत देखेनन् । तर, मलाई लागिरहेको छ, यो हाम्रो गणतन्त्रका लागि राम्रो अभ्यास पो होइन कि ?

किनकि मान्छेले बाटोमा आइरहेका राष्ट्रपतिलाई समेत देखेनन् । राष्ट्रपति नदेखिएपछि गणतन्त्र कसरी देखिन्छ ? राष्ट्रपति भनेको त गणतन्त्रको प्रतीक हो । अब राष्ट्रपति नै देखिएन भने गणतन्त्र कसरी देखिन्छ ? कतै भोलि मान्छेले नेपालमा गणतन्त्र छ भन्ने कुरासमेत बिर्सिने पो हो कि ! त्यसैले देशमा गणतन्त्र छ भनेर देखाउनका लागि भए पनि राष्ट्रपतिको तामझाम चालु गराइराख्नुपर्ने हो कि ?
 

टिप्पणीहरू