वीरगञ्जको कथा: डिआइजी सरुवाको खुशियालीमा १७ किलो मिठाई

वीरगञ्जको कथा: डिआइजी सरुवाको खुशियालीमा १७ किलो मिठाई

वीरगञ्ज वरपरको क्षेत्र तस्करहरुका निम्ति  उर्वरभूमि हो । जग्गा बेचेर फर्केका स्थानीयको रकमलाई स्रोत नखुलेको पैसाको सूचना दिएर पक्रन लगाएपछि उनैसँग बिचौलिया तथा तस्कर मनिष यादवको समूहले तीन लाख ४० हजार रुपैयाँ लिएको तथ्य खुलेको छ ।

प्रहरीले गत वैशाख २६ गते वीरगञ्ज महानगर र विन्ध्यवासिनी गाउँपालिकाबीचको तिलावे पुलबाट मनिषले दिएको सूचनाको आधारमा १२ लाख रुपैयाँ बोक्ने एक जनाको रकम बरामद गरेको थियो । उक्त रकमको स्रोत नखुलेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

पकाहामैनपुर १ धोरे निवासी मनिषले त्यसपछि पीडितको घरमा पुगी प्रहरीका एसपीलाई भनाएर छुटाइदिने प्रलोभनमा तीन लाख ४० हजार रुपैयाँ लिएको सूचना अहिले प्रहरी कार्यालयमा पुगेको छ । वैशाख २६ गतेदेखि साढे तीन लाख रुपैयाँ बुझ्ने बेलासम्मको घटनामा प्रहरीको जिल्ला क्राइम टिम तथा इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टरसमेतको मिलेमतो रहेको उनै यादवले बताएपछि घटनाक्रमले नयाँ मोड लिएको बताइन्छ ।

जिल्ला प्रहरी एसपी कोमल शाहका अनुसार ठगीमा संलग्न यादव र फारुख मियाँलाई पक्राउ परेर अदालतमा मुद्दा चलाइएको छ । शाहले भने, ‘मनिष भन्ने व्यक्ति खेलोफड्कोमा हिँडेको थप जानकारी पनि आएका छन् । उक्त घटनामा ती दुईको प्रमुख भूमिका देखिन्छ ।’

उनै यादवले दुई महिना अगाडि सशस्त्र प्रहरी बलका डिआइजी हेडक्वार्टरबाट मधेस  सरुवा भएको खुशियालीमा १७ किलो मिठाई बाँडेको बताइन्छ । उनले डिआइजी दिपेन्द्र शाहको सरुवापछि तस्करी सहज हुने जनाउँदै मिठाई खुवाएको स्थानीय एक जनाले बताए ।

टिप्पणीहरू