‘आत्महत्याको प्रमुख कारण ऋणभार’

‘आत्महत्याको प्रमुख कारण ऋणभार’

-सन्तोष बराइली

पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा आत्महत्या गर्नेको संख्या हवात्तै बढेको छ । सिरहा जिल्लामा मात्रै पछिल्लो नौ महिनामा एक सय २४ जनाले आत्महत्या गरेका छन् ।
 
तीमध्ये अधिकांशले आर्थिक लेनदेन तथा ऋणलगायत समस्या देखाउँदै आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आत्महत्या गर्नेमा महिलाको संख्या बढी छ । 

चालु आर्थिक वर्षमा मात्रै ५५ जना महिला र ४३ जना पुरुषले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । तीमध्ये १७ जना महिला र नौ जना पुरुषले विष सेवन गरेर आत्महत्या गरेका हुन् । बाँकीले झुण्डिएर र पासो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ । 

उमेरको आधारमा १८ वर्षमुनिका १९ जना, १८ देखि ५९ वर्षमुनिका ९४ जना र ६० वर्षमाथिका १९ जनाले आत्महत्याको बाटो रोजेको देखिन्छ । 

सोही अवधिमा आत्महत्यासँग सम्बन्धित एक सय २४ मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको छ । तीमध्ये अधिकांशले ऋण र आर्थिक लेनदेनकै कारण आत्महत्या गरेको बताइन्छ ।

यस्तो समस्या सिरहाको साथै मधेशका अन्य जिल्लामा पनि विकराल रुपले बढ्दै गइरहेको छ । सम्बन्धित निकाय यसको रोकथाम र नियन्त्रणमा चुकेको देखिन्छ । 

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा मधेशमा छ सय ४७ जनाले आत्महत्या गरेका थिए । कार्यालयका प्रवक्ता उमेशबहादुर श्रेष्ठ त्यसभन्दा अघिको आर्थिक वर्षमा एक हजार १८ जनाले आत्महत्या गरेको विवरण देखाउँछन् । आर्थिक वर्ष २०७६÷०७७ मा आत्महत्या गर्नेको संख्या नौ सय ५९ थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार बैंक र व्यक्तिबाट लिएको ऋण, आर्थिक लेनदेन, वैदेशिक रोजगारलगायत कारणले डिप्रेसनको सिकार बनेकाहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । अति महत्वकांक्षा पनि आत्महत्याको कारण बन्दै गएको उनले बताए । 

‘आत्महत्या रोक्न प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ,’ श्रेष्ठले भने, ‘तर, एकतर्फी प्रयासले मात्र यो सम्भव छैन, स्थानीय तहले पनि आत्महत्या रोकथामका निम्ति विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’ 

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द ईवा लिम्बू तीन वटै तहका सरकार, गैरसरकारी संघसंस्था, प्रहरी प्रशासन, बृद्धिजीवीलगायतको सामूहिक प्रयासमा मात्र आत्महत्या नियन्त्रण गर्न सकिने बताउँछन् । 

उनले स्थानीय तह यसतर्फ संवेदनशील हुन आवश्यक रहेको बताए । ‘प्रहरीले विगतदेखि आफ्नो बलबुताले भ्याएसम्म जनचेतना चलाउँदै आएको छ,’ उनले भने, ‘तर यतिमात्र पर्याप्त छैन । दत्तचित्तले सामूहिक अभियान चलाउन ढिलो भइसक्यो ।’

टिप्पणीहरू