एनआरएनएका अध्यक्षले भने- म नक्कली शरणार्थी होइन

एनआरएनएका अध्यक्षले भने- म नक्कली शरणार्थी होइन

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । 

‘नक्कली शरणार्थी’ बनेर बेलायत छिरेको विषय उठेपछि लण्डनबाट स्पष्टीकरण दिँदै उनले निराधार र मिथ्या आरोप लगाइएको बताए । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको समेत प्रष्ट पारेका छन् ।

‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ । अहिले एनआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भने, ‘यसमा भन्नु केही छैन् । देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन् । ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन । मिथ्यामात्रै हो ।’

उनले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेको पनि बताएका छन् । ‘२/४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन् । अनेकौं तिकड्म झिक्ने गरेका छन् । तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन् । झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भने ।

पछिल्लो ६ महिनादेखि एनआरएनएको नेतृत्व गरिरहेका आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलिरहेको छ । उनलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाएका थिए ।

मगरले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको बताएका थिए । सरकारले उनको पद खारेज गर्नुपर्ने र राष्ट्रघातको मुद्धा चलाउनुपर्ने मागसमेत मगरले गरेका थिए ।

तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गरेका छन् । उनले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताए ।

‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ । मेरो पहिलाको नेपाली राहदानीमा जनमस्थान पर्वत लेखेको छ,’ आचार्यले भने, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु । विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो ।’

टिप्पणीहरू