रसुवा भन्सारमा सेटिङ, हाकिम हटाउन व्यापारीदेखि कर्मचारीको मिटिङ

रसुवा भन्सारमा सेटिङ, हाकिम हटाउन व्यापारीदेखि कर्मचारीको मिटिङ

मुलुकको अर्थतन्त्र निकै जर्जर अवस्थामा पुगेको चिन्ता सर्वत्र छ । कर्मचारीलाई तलब खुवाउनसमेत दातासँग हात पसार्नुपर्ने डरलाग्दो चित्र देखाईंदैछ । अर्थतन्त्र यसरी ओरालो लागेको बेलामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ठूलो हिस्सा ओगट्ने राजस्व संकलनको स्थिति भने चिन्ताजनक छ । 

चालू आर्थिक वर्ष ०७९/८० को वैशाखसम्मको तथ्याङ्क हेर्दा राजस्व संकलन प्रत्येक महिना घट्दो प्रवृत्तिमा छ । भन्सार विभागको तथ्याङ्अनुसार साउनमा ८० प्रतिशत राजस्व उठेकोमा त्यसपछि क्रमशः घटेको छ । 

वैशाखको तेस्रो सातासम्म जम्मा ४२.६८ प्रतिशत राजस्व उठेको छ । चैत महिनामा ६०.६८ र फागुनमा ५४ प्रतिशत उठेको देखिन्छ । चालू आर्थिक वर्षको वैशाख २५ सम्ममा कूल ५१.९३ प्रतिशत मात्र राजस्व उठेको बताइन्छ । 

सरकारी अधिकारीहरुका अनुसार राजस्व संकलनको घट्दो क्रम रोकिनेभन्दा अझै बढ्ने अवस्था छ । लक्ष्यअनुसार राजस्व संकलन नहुनुको कारण देशमा आर्थिक गतिविधि कम भएर मात्रै होइन । राजस्व चुहावट नियन्त्रण गर्ने मूल जिम्मेवारीमा रहेकाहरु नै तस्करसँग मिलेर अवैध आर्जनमा लागेपछि यो स्थिति बनेको हो । 

 
राजस्व संकलनको जिम्मा लिएर भन्सार कार्यालयमा खटिएका कर्मचारीहरुले नै तस्करहरुसँगको सेटिङमा राजस्व छली गर्ने गरेको तथ्य एकपछि अर्को खुलासा भइरहेका बेला कोभिड महामारीपछि पूर्णतः बन्द भएर हालै मात्र खुलेको उत्तरी नाकामा रहेको रसुवागढी भन्सारमा पनि करोडौँ राजस्व हिनामिना भएको खबर बाहिरिएको छ । चीनबाट भित्रिने महँगा ब्रान्डेड मालवस्तुलाई सस्तो देखाएर व्यापारी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा करोडौं राजस्व चुहावट भइरहेको गुनासो बढेपछि भन्सार विभागले हालै गरेको छड्के जाँचमा स–प्रमाण बदमासी भेटिएको स्रोतको दाबी छ । 

वैशाख २१ गते प्रज्ञापनपत्र नम्बर १८९१ र १८८९ बाट बा २ ख १७९३ र ना ६ ख ५२७२ का दुई कन्टेनर सिल गरेर भन्सारबाट छुटेका थिए । अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनरमा छ सय बोरा ब्रान्डेड कस्मेटिक सामाग्रीले भरिएका थिए । तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापन बनाई न्यून राजस्व तिरेर छुटाइएका ती कन्टेनर भन्सार बिन्दुबाट १७ किलोमिटर वर स्याफ्रुबेसी आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना पुग्यो । त्यसपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सार यार्डमा छिराइयो । 

बताइएअनुसार विभागको टोली पुग्दा तस्कर, प्रहरी र भन्सार कार्यालयको मिलेमतोमा सिलबन्दी गाडीबाट आधा (३०० बोरा) सामान निकालेर अन्यत्र लुकाइएको थियो । तर, विभागको टोलीले सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान गर्दा ती कन्टेनरबाट निकालिएका मालसामान अरु गाडीमा लुकाइएको तथ्य खुलेको हो  । त्यसपछि सामान लुकाइएको गाडीसमेत समातिनुपर्ने निष्कर्ष निकालेको विभागको टोली रसुवागढी भन्सार कार्यालयका प्रमुख र त्यसमा संलग्न कर्मचारीमाथि कारबाही गर्नुपर्ने निचोड निकालेर काठमाडौँ फर्कियो । 

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको विशेष पहलमा समातिएका यी दुई कन्टेनर छुटाउन यतिबेलै राजनीतिक पहुँच र प्रभावको आडमा ठूलै शक्ति केन्द्रको दबाब बढेको बताइन्छ । राजनीतिक प्रभावकै कारण सोही कम्पनीले पछिल्लो तीन महिनामा ४६ वटा नक्कली कागजात बनाएर भन्सार छलीका सामान निर्वाध ढंगले ल्याइसकेको व्यापारीहरुको दाबी छ । 

रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीको अगुवाईमै यस्तो धन्दा चलिरहेकाले यो घटनालाई भित्रभित्रै सामसुम पार्न शक्ति केन्द्र परिचालित भइरहेको जानकार स्रोतको दाबी छ । वर्षौंदेखि चीनबाट लत्ता–कपडाको व्यापार गर्दै आएका एकजना व्यापारीले सुनाए, ‘नियम, कानुनको परिधिमा बसेर काम गर्नेलाई अनेक नाममा दुःख र हैरानी दिने गरिन्छ । तर अवैध धन्दा गर्नेलाई भन्सार कार्यालयका प्रमुख र राजस्वका हाकिमहरु नै जोगाउन दौडधुप गर्छन् । त्यसैले यो केसमा पनि ठूलो शक्ति केन्द्र लागेको देखिन्छ ।’

नेपालमा चीनबाट रक्सी, चुरोट, सुर्तीजन्य वस्तु, खाद्यान्न, रेड्बुल आयात प्रतिबन्ध छ । तर, भन्सारका हाकिम, जाँचकी र प्रहरीलाई ‘कोसेली’ टक्राएपछि त्यस्ता सामाग्री पनि निर्वाध भित्र्याउन पाइन्छ भन्ने उदाहरण पनि बनेको छ, रसुवागढी भन्सार । भन्सार विभागले यस्ता गैरकानूनी हर्कत रोक्न प्रयास गरिरहँदा राजस्व अनुसन्धान विभागको मौनता आफैँमा रहस्यमय रहेको व्यापारीहरु सुनाउँछन् । यसबारे कुरा गर्न जाँदा राजस्वका हाकिमले उल्टै हप्कीदप्की गरेर फर्काएको अनुभव व्यापारीहरुसँग छ ।  

रसुवागढी भन्सारमा अहिले भन्सार पासका लागि करिब दुई सय गाडी यार्डमा छन् । तीमध्ये कम्तीमा सय गाडीमा अवैध सामान रहेको दाबी गर्ने केही व्यापारीले काठमाडौँ ल्याएर खानतलासी लिन राजस्व अनुसन्धानका हाकिमलाई चुनौती दिएका छन् । यसो गर्न सके ठूलो मात्रामा राजस्व उठ्नुका साथै तस्करीसमेत रोकिने उनीहरुको विश्वास छ ।  

कसरी मिलाइन्छ सेटिङ ?

नेपाल आयात हुने चिनियाँ सामाग्री खासगरी तयारी पोशाकमा ठूलो मात्रामा राजस्व चुवाहट भएको देखिन्छ । त्यस्ता सामाग्रीको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । र, मूल्यअनुसार राजस्व तोकिन्छ । तर, व्यापारी र भन्सार कार्यालयको मिलेमतोमा एकथरी सामान ल्याएर अर्कै प्रज्ञापनपत्र बनाई वैधानिक लुटधन्दा चलाइन्छ । 

उदाहरणका लागि चीनबाट नेपाल भित्रने जुत्ता र कपडा गुणस्तरका आधारमा दुई फरक मूल्यमा वर्गीकरण गरिएको हुन्छ । ब्रान्डेड कम्पनीका जुत्ताको मूल्य ४० डलर तोकिएको छ । त्यसमा १३ प्रतिशत भ्याट जोडेर मूल्य कायम गरिन्छ । त्यस्तै, ब्रान्डेड कपडाको मूल्य २० डलरमा १३ प्रतिशत भ्याट जोडेर तोकिएको छ । त्यसको ४० प्रतिशत राजस्व तिर्नुपर्छ । तर, अरु सामान्य ब्राण्डका जुत्ता–कपडाको मूल्य ५ देखि ८ डलर कायम गरिएको छ । 

यसैमा तस्कर र भन्सारका कर्मचारीले सेटिङ मिलाउने गर्छन् । ब्रान्डेड सामानलाई साधारण भनिन्छ र ५ डलर मूल्यमा ल्याइन्छ । र, व्यापारी र भन्सार प्रमुखले मिलिजुली ‘भोजन’ गर्छन् । यसरी एक–डेढ वर्ष मालदार ठाउँमा बस्न पाए करोडौं कमाउन सकिने भएकै कारण भन्सार प्रमुख भएर जान मालदार भन्सारमा अर्थका कर्मचारीहरुको मरिहत्ते हुने गरेको हो । 

रसुवागढी भन्सारमा मात्र होइन, देशका अन्य भन्सार कार्यालयमा पनि यस्तो लुटधन्दा खुलेआम चलिरहेको भुक्तभोगीहरु बताउँछन् । हालैमात्र भन्सार विभागले विशेष अप्रेशन चलाएर वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारबाट एक जना व्यापारीलाई एउटा गाडीमा झन्डै तीन करोड तिराएको व्यापारी वृत्तमा चर्चा छ । जबकी ती व्यापारीले यसअघि उत्तरी नाकामा जस्तै सेटिङ मिलाएर ब्रम्हलुट गर्दै आएका थिए ।  

कपिलवस्तुको कृष्णनगर, रौतहटको गौर, मोरङको विराटनगर र मेची भन्सारमा पनि राजस्व चुहावटको स्थति डरलाग्दो रहेको बताइन्छ । यी भन्सारमा सेटिङका भारतीय गाडीहरु त भन्सारमै नछिराई बाहिरैबाट धमाधम पास भइरहेको उच्च स्रोतले बतायो। 

यसैबीच, सामानको गलत घोषणा गरेर भन्सार छली कार्यमा संलग्नता पुष्टि भएपछि भन्सार विभागले रसुवागढी भन्सार कार्यालयका एक भन्सार अधिकृत र नासुलाई कारबाहीका लागि विभागमा तानेको छ । अधिकृत बलराम भण्डारी र नासु इन्दु शर्मालाई विभागीय कारवाही गरिएको हो । भन्सार प्रमुख नारायण भण्डारीले मतियारको भूमिका खेलेको भन्दै आवश्यक कारवाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेर पठाएको हो ।  

व्यापारी पोसेर आफूले कुस्त कुम्ल्याउन राजनीतिक तहमा सेटिङ मिलाउने नासु शर्मा काँग्रेस निकट कर्मचारी युनियनकी केन्द्रीय उपमहासचिव पनि हुन् । उनीसहितको टोलीले अर्थमन्त्रीदेखि काँग्रेसका भाउजूहरुसम्मलाई मनाएर राजस्व चुहावट नियन्त्रणमा  निर्ममतापूर्वक लागेका विभागका महानिर्देशक बूढाको सरुवा गराइएको छ । उनको सरुवा कर्मचारी, व्यापारी र बिचौलियाहरुकै प्रयासमा गत बुधबार भएको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले उक्त विषयमा थप अनुसन्धान गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

टिप्पणीहरू