सर्वोच्चका उपरजिष्ट्रारद्वारा ‘सिधाकुरा डट कम’ विरुद्ध अवहेलनासम्बन्धी रिट दायर

सर्वोच्चका उपरजिष्ट्रारद्वारा ‘सिधाकुरा डट कम’ विरुद्ध अवहेलनासम्बन्धी रिट दायर
सुन्नुहोस्

‘सिधाकुरा डटकम’ मिडिया र त्यहाँ कार्यरत पत्रकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उक्त मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध आज अवहेलना मुद्दा दर्ता गरेका हुन् । 

मिडियाले ‘चार सय मुद्दा हराउने गोप्य डील, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा एउटा भिडियो रिपोर्ट प्रशारण गरेको थियो । रिर्पोटमा उल्लेख गरिएको विषय भ्रामक, नियोजित र कपोकल्पित रहेको उल्लेख गर्दै उपरजिस्ट्रार घिमिरेले मुद्दा दर्ता गरेका हुन् । 

रिटमा भनिएको छ, ‘नियोजित ढंगले प्रशारित सामाग्रीले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत निवेदन पेश गरेको छु ।’ 

आज दायर गरिएको उक्त रिटको पेशी भोलि तोकिएको छ । यसअघि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले टेलिभिजनमा सञ्चालन गरेको कार्यक्रम ‘सिधाकुरा जनता’ सँग जोडेर यो मिडियाको नाम किटान गरिएको बताइन्छ । यसका प्रकाशक कंडेल गृहमन्त्री लामिछानेका पूर्वसहकर्मी हुन् ।

टिप्पणीहरू