लापत्ता कामरेड

लापत्ता कामरेड

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव, पार्टीका जुझारु कमरेड, पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी अहिले लापत्ता छन् । जनताले चुनेर पठाएका सांसद लापत्ता हुनु निश्चय पनि दुःखद कुरा हो ।

तर, त्योभन्दा पनि दुःखद पक्ष त के छ भने आफ्नो सांसद लापत्ता हुँदा पनि प्रमुख प्रतिपक्षी पार्टी एमाले मौन छ । आफ्नो सांसद कहाँ छ ? कसले बेपत्ता पा¥यो ? सरकारले किन खोजी नगरेको ? यस्तो कुनै पनि प्रश्न एमालेले गरिरहेको छैन । ऊ त यसरी आरामपूर्वक बसिरहेको छ मानौं टोपबहादुर लापत्ता भएको होइन दशैँ मनाउन ससुराली गएको हो । एमालेको यो ‘आराम’ को रहस्य के होला ?

उसो त टोपबहादुर रायमाझी लापत्ता हुनु कुनै चिन्ताको विषय होइन । उनी लापत्ता दुई किसिमले भएको हुनुपर्छ । पहिलो, आफैँ भूमिगत भएको । वर्षौंसम्म भूमिगतै राजनीति गरेर आएका नेतालाई अहिले पनि चाहियो भने पुनः भूमिगत हुन कुनै गाह्रो छैन । जहाँ जुन बेला चाहिनेबित्तिकै भूमिगत हुनसक्ने क्षमता उनैमा छ । दोस्रो, कसैले अपहरण गरेको हुनुपर्छ । नक्कली शरणार्थी बनाएर कति करोड कमाए भन्ने त सार्वजनिक भइसकेको छ ।

त्यही कारणले उनीमाथि अपहरणकारीको नजर पर्न गएको हुन सक्छ । तैपनि, चिन्ताको कोही बात छैन । फिरौती मागिहाल्यो भने दिनलाई पैसा छँदै छ । शायद एमाले ढुक्क बस्नुको कारण यो पो हो कि ?
 

टिप्पणीहरू