कालाकोटेले पाउने दुःख,कालाकोटेले दिने दुःख

कालाकोटेले पाउने दुःख,कालाकोटेले दिने दुःख

एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले एक दिन भने, ‘कि कालोकोटेले दुःख पाउँछ, कि उसले दुःख दिन्छ ।’ जिल्ला अदालत काठमाडौंमा मुद्दा–मामिलाको दुःख र झन्झट झेल्दै आएका कोटेश्वरका अनुप श्रेष्ठले ‘आफैँ कानुन पढेर वकिल हुनुपर्ने रहेछ’ भन्दै आक्रोश पोखे । उनी तारेख, पेशी र वकिलसँग सम्बन्धित व्यवहार आदिबाट पीडित, दुखित र दिक्क भएका रहेछन् । उनले सोचे र चाहेअनुसार भएन । हुन सक्ने अवस्था पनि छैन । ‘मुद्दाका नौ सिङ’ भनेजस्तो एकपछि अर्काे संकट आउने नै भयो । प्रक्रिया, विधि, तरिका र कार्य नै त्यस्तै हुन्छ, छ । मुद्दामा फसेका धेरैलाई यस्ता दुःख र पीडा हुने नै भयो । दुःख–कष्ट र पीडा आ–आफ्ना छन् ।

मुुलुकभर सवारी चालकको अनुमतिपत्र लिनका लागि भएको कष्ट भोग्नेलाई मात्र थाहा हुन्छ । त्यस्तै, राष्ट्रिय परिचय–पत्र र जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित सेवा लिनका लागि मान्छेले अनेकौं दुःख झेल्दै छन् । मालपोतको दुःख अर्कै छ । एउटा सानो नेपाली नागरिकताको प्रमाण–पत्र पाउन, सच्याउन, प्रतिलिपि लिनजस्ता काममा पनि सेवाग्राहीले आधा दर्जन पटक धाउनुपर्ने अवस्था पनि देखियो । किन ? सेवाग्राहीका प्रमाण पुग्दापुग्दै पनि काठमाडौँको सिडिओ कार्यालयमा दुःख पाउनेहरू बढ्दै छन् ।

एउटा नागरिकता पाउन घर भएको पुर्जा माग्ने, बत्तीको बिल माग्ने, वडाका पत्र माग्ने गर्दा–गर्दा मान्छे नेपाली नागरिकता बनाउन पनि सास्ती नै सास्ती छ । राजधानी काठमाडौंमा रहेका सरकारी अड्डा–अदालत, डिल्लीबजार मालपोत, यातायात तथा अन्य नागरिक सरोकारका कार्यालयबाट सेवाग्राहीले भोगेका पीडा भनिसाध्य छैनन् । काठमाडौंकै त्रिपुरेश्वरको राहदानी विभाग अहिले तुलनात्मक दृष्टिकोणले व्यवस्थित देखिन्छ । पहिलेको तुलनामा धेरै सुधार गरिएको छ । तैपनि, भीडभाड, प्रक्रिया, दुःख–कष्ट र झन्झट भने व्यवस्थित हुनै सकेन । नागरिकलाई पनि पासपोर्टबारे भनेर र बुझाएर बुझाउन सकिने अवस्था छैन । अनलाइनमा गर्ने काम पनि आएर मान्छेलाई सोध्नैपर्ने संस्कार देखियो । कसले गर्ने सुधार ? प्रश्न गम्भीर छ । 

अर्काेतर्फ राजधानीमा सुधार र परिवर्तन गर्ने नाममा बालेनको अमानवीय, उत्ताउलो, सन्की र हिटलरीपाराले नेपाली नागरिक र राजधानीवासीलाई आफ्नै मुलुकको आन्तरिक शरणार्थीजस्तो बनायो, बनाउँदै छ । के–के न गरेको देखाउन आवश्यक नै नभएका ठाउँमा पनि पार्किङ निषेध गरियो । पुलिस र नागरिक सम्बन्धलाई ‘बाघ र मृगको जस्तो’ बनाइयो । कहिले खाला भनेर भाग्नुपर्ने । कतै सवारी अड्यायो कि ट्राफिक प्रहरीले ‘खाला’ भन्ने त्रास ।

उदाहरणका लागि जिल्ला अदालत काठमाडौंको बाहिर पेटीमा राखिएका सेवाग्राही र वकिलका सवारी साधन किन र के कारणले उठाउनुपर्‍यो ? अर्थात् त्यसले सवारी यातायातमा के अवरोध र असर गर्‍यो ?

दुईतर्फी सडकजस्तो ठूलो फराकिलो पेटीको भित्तामा एकलाइन मोटरसाइकल पार्किङले कसैलाई असर पारेको थिएन, पार्दैन । बरु सेवाग्राहीले सामान्य सहजता पाएका थिए । अब काम देखाउन यस्ता कार्य किन आवश्यक भयो ? भद्रकालीको मन्दिरमा आएर पूजा गर्न खोज्नेको सवारी किन उठाउनुपर्‍यो ? मानिसका सामाजिक, ऐतिहासिक, साँस्कृतिक, धार्मिक कार्य हुँदै आएको भद्रकालीमा दर्जन मोटरसाइकल, एक दुई कार राख्दा कसलाई के असर पर्‍यो ? त्यसकारण यस्ता वाहियात निर्णय गर्ने र कार्यान्वयन गर्ने महानगरपालिकाले के गर्न खोज्यो, खोज्दै छ ? नागरिक र नगरवासीको प्रतिनिधित्व गर्ने कि आफूलाई स्वादलाग्दी आदेश फर्मान गर्ने ? कुनै समय मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउने निर्णय भएको थियो । के त्यो कार्यान्वयन भयो ? पछि फिर्ता लिनुपर्‍यो कि परेन ? 

प्राथमिकता, योजना र गर्नुपर्ने कुरा एकातिर, काम र व्यवहारचाहिँ अर्काेतर्फ भयो । काठमाडौं महानगरमा सर्वसाधारण नेपाली र नगरवासीले तत्काल प्रयोग गर्न पाउनुपर्ने आवश्यकताअनुसार ट्वाइलेटको प्रबन्ध गर्न नसक्नेले किन फूर्ति लाउनु ? कार्यालय आसपास र सार्वजनिक स्थानमा दिसा लाग्दा च्याप्दै बस्नुपर्ने अवस्था छ । पहिले हल्ला गरियो । निजीबाट ट्वाइलेट दिने भनियो । त्यो हल्लाले अहिलेचाहिँ पहिले दिइएका ठाउँ र कार्यालयले पनि गेटबाटै ताल्चा लाउन थाले । निजीको कुरा गर्नु परेन । उसको निजी सम्पत्ति उसले चाहेन, दिएन । यहाँ प्रश्न त सार्वजनिक, सरकारी कार्यालय, संस्थानले पनि मान्छे ट्वाइलेटमा आउन थाले भनेर घच्याक्क–घच्याक भोटेताल्चा ठोक्न थाले ! काठमाडौंमा दिसा लाग्दा रोक्नुपर्ने स्थिति भयो । कहीँ ठाउँ छैन । सामान्य मानिसलाई कसैले दिँदैन । एक कप चिनी–तातोपानी (कफी भन्छन्) लाई तीन चार सय तिरेर रेस्टुरेण्टमा दिसा गर्न जानुपर्ने स्थिति छ । त्यो कुराको सत्यता चाहिए त्रिपुरेश्वरको पासपोर्ट विभागबाहिर हेरे हुन्छ । यही हो त लोककल्याणकारी राज्य, महानगर ? 

सामान्य नागरिकका दुःख र कष्ट भनिसाध्य, देखिसाध्य र गनिसाध्य छैनन् । तर, यहाँ ठूला भनिएका र सोचिएका पेशाकर्मीको रोदन र पीडा फेरि अर्कै छ । कार र मोटरसाइकलमा आ–आफ्ना काममा निस्किएका डाक्टर, वकिल, इञ्जिनियर, व्यवसायी र विभिन्न पेशाकर्मीले भोगेको मूल पीडाचाहिँ सवारी साधनको पार्किङ हुन पुग्यो । महानगर र सरकारले यस्तो आतंक मच्चायो । पर्याप्त पार्किङस्थल छैनन् । निजीका पार्किङले अरुलाई दिँदैनन् । सरकारी, सार्वजनिक र संस्थानहरूले नागरिकलाई एक घण्टा पार्किङ गर्न पनि दिएनन्, दिँदैनन् । ‘वारि बसुँ बाघले झम्टने, खोलामा हाम्फालुँ गोहीले खाने’ जस्तो व्यवहार छ ।

सडकको कुनाकाप्चा र गल्लीमा सवारी राख्दा प्रहरीले ताल्चा लगाउने र उठाउने । यसो सरकारी कार्यालयमा राखौं भन्दा उसले गेटै बन्द गर्ने । अब कामकाजी पेशाकर्मीले आफ्ना सवारी कहाँ राख्ने ? के सवारी आफैँ बोकेर जाऊ भन्न खोजेको हो ? जस्तो काठमाडौं जिल्ला प्रशासन कार्यालय बबहरमहलमा काममा आएकाहरूलाई उसले पार्किङ दिँदैन, दिएन र ठाउँ पनि छैन । सवाल त्योभन्दा पनि गम्भीरचाहिँ सँगै रहेका आधा दर्जन बढी सरकारी कार्यालयभित्र प्रशस्त ठाउँ खाली देखिन्छ । तर, गेट नै बन्द गर्छन् । त्यो कसको निजी घर हो ? त्यो कसको बिर्ता हो ? किन त्यो तरिका गरिन्छ ? कसको हितमा छन् सरकारी कार्यालय, निकाय र राज्य ? नागरिकको पीडामा राज्य तमासे बन्ने हो ? कसको आदेश चाहिने हो ? एक दुई घण्टा सैनिक हेडक्वार्टरको त्रिपुरेश्वरतर्फ पार्किङ गर्न दिँदा सेनालाई के घाटा छ ? यसरी नै राज्यप्रति नागरिक अपनत्व बढ्ने हो ? ठुल्ठूलो कुरा किन गर्नु ? शहरबजारमा पेशा, व्यवसाय गर्नेलाई सामान्य गाह्रो नफुकाउने हो भने ती सरकारी अड्डा किन ? यही प्रकारले लोकतान्त्रिक गणतन्त्र नागरिकको आफ्नो प्रणाली बन्ने हो ? 


 

टिप्पणीहरू