राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार आफ्नै खर्चमा गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार आफ्नै खर्चमा गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्च आफैंले व्यहोर्ने बताउनुभएको छ । 

राष्ट्रपतिको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको सम्पूर्ण खर्च उहाँ आफैँले व्यहोर्न चाहेको जानकारी दिइएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शुरुमा शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको थियो । तर, स्वास्थ्यमा अपेक्षाकृत सुधार नआएको भन्दै परिवारको चाहानामा उहाँलाई गत वैशाख ६ गते नेपाल एयरलायन्सको विमानबाट भारत लगिएको थियो । राष्ट्रपति पौडेल भारतबाट उपचार गरेर अस्ति स्वदेश फर्किसक्नुभएको छ । 

‘स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको नेपाली दिदीबहिनी दाजुभाइहरुमा विदितै छ’,विज्ञप्तिमा भनिएको छ,‘उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति ज्यू स्वयमले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हिजोमात्रै राष्ट्रपति पौडेलले उपचार खर्च आफैंले व्यहोर्नु उपयुक्त हुने सुझाव दिनुभएको थियो । उच्च पदस्य व्यक्तिहरुले राज्यकोषबाट र आम नागरिकले आफैंले उपचार गर्नुपर्ने विभेदको अन्त्य गर्न पनि राष्ट्रपतिबाट यस्तो सुरुआत हुनुपर्नेमा थापाको जोड थियो ।

यो पनि...

1. नयाँ दिल्लीमा गरिएको उपचार खर्च आफैंले व्यहोर्न राष्ट्रपतिलाई गगन थापाको सल्लाह


 

टिप्पणीहरू