बाराको उपनिर्वाचन : उपेन्द्रको अग्निपरीक्षा

बाराको उपनिर्वाचन : उपेन्द्रको अग्निपरीक्षा

आज जारी बारा-२ को उपनिर्वाचनलाई उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको जीवनको ठूलो अग्निपरीक्षाको रुपमा लिइएको छ । झण्डै एक महिनादेखि दिनहुँ ठूलो आर्थिक परिचालन गरिएकाले पनि उनको राजनीतिक जीवन र मरणसँग जोडेर हेरिएको विश्लेषकहरु बताउँछन् । 

‘यादवले खर्च गरेको रकम र सीमा भनिसाध्य छैन,’जनमत पार्टी अध्यक्ष सीके राउत निकटस्थहरु भन्छन्, ‘उनलाई वीरगञ्जका दुई जना डनले दिलोज्यानका साथ सहयोग गरेका छन् । वीरगञ्जका मेयर राजेशमान सिंह र प्रदीप यादवको बलियो आर्थिक साथ छ । उनीहरुले वीरगञ्जको व्यापारी समुदायबाट राम्रो जोहो गरिदिएका छन् ।’ सिंह उपेन्द्रकै पार्टी जसपाका नेता हुन् ।

अर्कोतर्फ उपेन्द्र स्वयमको कनेक्सन र स्रोत ठूलो रहेको राउतहरुको भनाइ छ । त्यसबाट पनि उनले मोटो रकम परिचालन गरेको जनमतका नेता तथा कार्यकर्ताको आरोप छ । अस्ति बेलुकी स्वयम् सीकेले सामाजिक सञ्जालमा लेख्दै यादवका छोराले रातको समयमा गाडीबाट रकम बाँडेको आरोप लगाएका थिए ।

यता,बिहीबार निर्वाचन प्रचारप्रसारको अन्तिम क्षण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बारा पुगेर गरेको चुनावी भाषणले पनि यादवको निम्ति ‘ब्याक फायर’ हुनसक्ने अर्थ लगाइएको छ । ‘सर्वसाधारण यादवप्रति थप नेगेटिभ भएका छन्,’ बारा २ का एकथरी काँग्रेसीले बताए ।

काँग्रेसकै अर्काथरीले आफूहरुले यादवलाई जिताउन पूरै शक्ति लगाएको दाबी गरेका छन् । दुई भागमा विभाजित काँग्रेसीहरुमध्ये उपेन्द्र विरोधीले चुनावमा उनलाई विजयी बनाइए आफूहरु सँधैको लागि बारा २ बाट सिध्दिने निचोड निकालेर निस्क्रिय बसेको अनौपचारिक रुपमा बताउँदै आएका छन् ।

तर अर्को पक्षले जे भए पनि यस पटकको निर्वाचनमा जिताएर पठाएपछि उनी अर्को चुनावमा सो क्षेत्रमा नआउने ठोकुवा गरेको छ । काँग्रेसभित्रै अन्तरकलह उब्जेकाले आज भइरहेको मतदानमा काँग्रेसी मतदाताको भोट ट्रान्सफर कति हुन्छ ? त्यसमा उपेन्द्रको विजय र पराजय निर्भर रहेको देखिन्छ । विगतको निर्वाचनलाई हेर्दा काँग्रेसी मतदाताको भोट सजिलै ट्रान्सफर हुने सम्भावना देखिँदैन ।

यादव,जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलहरु चुनावी प्रतिस्पर्धामा भए पनि मुख्य लडाईं यादव र कुशवाहबीच हुने निश्चित छ । चितवन र तनहुँमा घण्टी र सूर्यको प्रभाव भए पनि बारा २ मा त्यस्तो नदेखिएको स्थानीय राजनीतिक विश्लेषकहरुको बुझाई छ । 

जनमत पार्टीका उम्मेदवार कुशवाहले २०६४ देखि निर्वाचनमा भाग लिँदै आएका छन् । यसअघि उनी माओवादी बाराका ठूलै नेता थिए । २०६४ मा पनि माओवादीबाट प्रतिस्पर्धा गरेका उनी त्यसपछिका हरेक निर्वाचनमा सहभागी छन् । गत मंसिरको आमनिर्वाचनमा थोरै मतले पराजय भएका थिए । उपेन्द्रकै पार्टीका कतिपय नेता पनि चुनावमा खुलेर नलाग्नुले अनेक शंका उत्पन्न गराएको छ ।

अर्कोतर्फ मधेशवादी विभिन्न दलका महत्वाकांक्षी सबैजसो नेता सीके राउतसँग डराएको देखिन्छ । ‘बरु उपेन्द्रले जिते हुन्छ,राउतले जित्न हुँदैन,’ महन्थ ठाकुर निकट एक जना नेताले भने । रविको र राउतको उदय र प्रभावलाई हेरेर उनीहरुले त्यस्तो निश्कर्ष निकालेको बताइन्छ ।
 

टिप्पणीहरू