मासिक एक लाख डलरवालालाई जिताउन दुई लाखवाला चितवनमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई चुनाव जिताउन बेल्जियमबाट चितवन आएका एक जनाले दिनको दुई लाख आम्दानी छाडेको बताएका छन् । उनले केही दिनका लागि दैनिक दुई लाख रुपैयाँ अर्थात् युरो १५ सय रुपैयाँको कमाई छाडेको र व्यवसायको ढोका बन्द गराएको भाषण गरेका छन् ।
चितवन २ को उपनिर्वाचनमा उम्मेदवार रहेका लामिछानेले केही समयअघि आफूले अमेरिकामा मासिक एक लाख डलरको आम्दानी छाडेर नेपाल फर्केको बताएका थिए । तर, उनै लामिछानेमाथि अमेरिकाको मेरिल्याण्डलगायत राज्यका अदालतमा बैंकको ऋण र क्रेडिट कार्डको रकम भुक्तानी नगरेको आरोपमा नौ वटा मुद्दा दायर भएको विवरणहरु प्राप्त भएका छन् ।
अहिले उनै लामिछानेलाई जिताउन भन्दै बेल्जियमबाट कृष्णप्रसाद रेग्मी आएका छन् । ३८ वर्षे रेग्मी यसअघि बेल्जियमको डिस्ट्रिक्ट काउन्सिलमा त्यहाँको सबैभन्दा ठूलो पार्टी निउ भ्लाम्से एलिआन्टेको तर्फबाट काउन्सिलरका उम्मेदवार बनेका थिए ।

बेल्जियमको नागरिक बनेपछि मात्रै राजनीतिक अधिकार पाइन्छ । उनी उम्मेदवार पनि सोही आधारमा भएका थिए । तर, नेपाल आउजाउ गर्दा उनले नेपाली राहदानी प्रयोग गर्ने गरेको देखिएको छ । पछिल्लो पटक उनी चार दिनअघि नेपाल आएका हुन् ।
दोहा हुँदै काठमाडौं उत्रँदा उनी कतार एअरवेजको बिजनेस क्लासमा यात्रा गरेका थिए । तर राहदानी नेपाली बोकेको बताइन्छ । उनै रेग्मीले चितवन पुगेर घण्टीको प्रचार प्रसार गर्दै भनेका छन्, ‘मेरो दैनिक आम्दानी नेपाली दुई लाख रुपैयाँ हो । कसैले मेरो स्टेटमेण्ट हेर्न चाहन्छ भने देखाउँछु । मैले आठ दिनलाई व्यवसाय बन्द गरेर आएको छु । पैसा ठूलो कुरो भएन ।’
रेग्मीको भाषणलाई सामाजिक सञ्जालमा सेयर गर्दै ओम शर्माले लेखेका छन्, ‘अमेरिकाबाट मासिक एक लाख डलरको आम्दानी छाडेर हिँडेकालाई जिताउन बेल्जियमबाट दिनको दुई लाख नेपाली (करिब १५००) युरोको कमाई छोडेर हिंडेछन् हाम्रा बहुरुपिया दोस्त, क्या दिन्छन् यार, अलि पच्ने खाले दिनु नि, हाजमोला नै खानुपर्ने भौ हैट !!!’
शर्माको स्टाटसमा प्रकाश अर्यालले कमेन्ट गर्दै रेग्मीको असली रुप उजागर गरिदिएका छन् । अर्याल लेख्छन्, ‘होइन, आफ्नो के कामले नेपाल जानुपर्ने थियो । बेल्जियममा काँग्रेसी भनि टोपल्थे क्या बात एक्कासी । रविलाई भोट हाल्न १६ लाख खर्च गरेर गएँ रे ! कतै रविसँग असुल्न बेर छैन । बेबकुफ बनाउने नि एउटा तरिका हुन्छ ।’
दोहोरो नागरिकता बोकेका रेग्मीलाई श्रीराम खतिवडाले व्यङ्ग्य गरेका छन् । खतिवडाले भने, ‘बेल्जियमको नागरिकता बोकेर नेपालमा मतदान ?? भन्दै गर्दा एनआरएन को एक पटकको नेपाली सँँधैको नेपाली भन्ने नारा खण्डित होला नि दाजै । विचार गरम ।’

टिप्पणीहरू