मेयर बालेनलाई झड्का, तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।
सिंहदरबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको निर्णयविरुद्ध परेको रिटको सुनुवाई गर्दै आज न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त आदेश दिएको हो ।
आदेशमा सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न भनिएको छ ।
देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको फोहोर नउठाउने मेयर साहको कदमविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए । महानगरपालिका र मेयर साहसमेतलाई विपक्षी बनाइएको रिटमा फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलने भएकाले अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।
अदालतले रिट निवेदकको मागबमोजिमकै आदेश दिएपछि सुकुम्बासी बस्तीमा डोजर चलाउन गृह मन्त्रालयले सहयोग नगरेको रिसले फोहोरमा राजनीति गरेका महानगरका मेयर साहलाई झड्का लागेको हो ।



टिप्पणीहरू