९ वाणिज्य बैंकमाथि केन्द्रीय बैंकको कारबाही

९ वाणिज्य बैंकमाथि केन्द्रीय बैंकको कारबाही

बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक र तिनका अध्यक्ष सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृत (सिईओ) सम्मलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गर्ने ‘क’ वर्गका नौ वटा वाणिज्य बैंक र तीनका सञ्चालकहरु कारबाहीमा परेका हुन् । 

राष्ट्र बैंकका अनुसार तत्कालिन क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) लाई सहुलियतपूर्ण कर्जा कार्यविधि विपरीत एउटै समूहलाई बढी कर्जा प्रवाह गरेको लगायतका कसूरमा सचेत गराइएको छ । सो बैंकले कतिपय कर्जाहरुको प्रिमियम दर परिवर्तन गर्ने र पर्याप्त कर्जा नोक्सानी व्यवस्थापनसमेत नगर्दा यस बैंकका सिईओ कारबाहीमा परेका हुन् । आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई पाँच लाख रुपैयाँ जरिवानासहित केन्द्रीय बैंकले कारवाही गरेको हो । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराइएको छ । साथै तत्कालिन सेन्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक) लाई गत साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ । 

राष्ट्र बैंकले सोही कसूरमा नेपाल बैंक लिमिटेडलाई १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
 
यसैगरी, अन्य दुई वाणिज्य बैंकलाई पनि भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले जरिवाना गराउने राष्ट्र बैंकको निर्णय छ । त्यसमध्ये कृषि विकास बैंक लिमिटेडलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंक लिमिटेडलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

टिप्पणीहरू