जेठीलाई लत्याएर कान्छी ल्याएका चार्टर्ड एकाउण्टेण्टसामु अर्को ‘डिभोर्स’ को झटारो

जेठीलाई लत्याएर कान्छी ल्याएका चार्टर्ड एकाउण्टेण्टसामु अर्को ‘डिभोर्स’ को झटारो

नेपाली समाजमा महिलाहरु महिलाकै कारण पीडित बन्न थालेका छन् । एउटी नारीको पीडामा अर्की नारीले मल्हमपट्टी लगाउनुको साटो ‘नुनचुक’ छर्किने गरेका छन् ।  महिलाको कारण महिला नै प्रताडित बन्नुपरेको घटना पाइलैपिच्छे भेटिन र सुनिन थालेका छन् । 

एउटी नारीले अर्को नारीमाथि कतिसम्म अन्याय गर्न सक्छिन् ? चितवनको देवी ज्ञवालीमाथि भएको घटनाले देखाउँछ । महिलाकै कारण उनको जिन्दगी बर्बाद भएको छ । उनले पाएको पीडाको कुनै सीमा छैन । 

मध्यम परिवारमा जन्मिएकी देवीले आफ्नै खुट्टामा उभिने सोच बनाइन् । तर, उनको सपनामा तुषारापात भयो । २०६२ सालमा गुल्मीका शंकर ज्ञवालीसँग उनको मागी विवाह भएको हो । पढेलेखेका र जागिरे देखेपछि बाबुआमाले आफ्नी छोरी शंकरलाई जिम्मा लगाइदिए । 

बाबुआमाले राम्रो देखेर छोरीको जिम्मा दिएका शंकरले नै देवीको जिन्दगी तहसनहस पारिदिए । विवाहपछि दिनदिनै कुटपिट सहिन् । शंकरले मर्नेगरी कुट्थे र कुटाइबाट कैयौंपटक उनको टाउको फुटेको थियो । बियरको बोतलले टाउकोमा हान्दा सात वटा टाँका लगाउनुपरेको उनी बताउँछिन् ।

शंकरले उनको हातको औंला पनि भाँचिदिए र धेरै पटक आइरनले पोलिदिए । ती अत्याचार चुपचाप सहेर बसेकी देवीले जबरजस्ती बच्चासमेत जन्माउन परेको यथार्थ सुनाइन् । विवाह गर्ने बेलामा ‘भेजेटेरियन’ हुँ भनेका शंकर रक्सी र मासुको भुक्तभोगी थिए । 

आफूलाई कतै नभएको चोखो देखाउने शंकरजस्तो ‘क्यारेक्टरलेस’ व्यक्ति सायदै देवीले आफ्नो जिन्दगीमा देखेको सुनाउँछिन् । ‘लुगा फेरेजस्तै केटी फेरेपछि विवाहित महिलालाई श्रीमान् अरु केटीसँग देखेपछि त्योभन्दा ठूलो घात के होला ?,’ देवीलाई पनि त्यस्तै भयो । 

देवीले श्रीमान्लाई अर्की केटीसँग रंगेहात फेला पारिन् । त्यसपछि उनीहरुको वैवाहिक सम्बन्धमा दरार आयो । श्रीमानले शुरुमा गल्ती भयो भन्दै माफी पनि मागे । उनले पनि सुध्रिएकै होला भनेर माफ गरिदिइन् । तर, कुकुरको पुच्छर १२ वर्षमा ढुंग्रोमा हाले पनि उस्तै भनैझैँ शंकरमा कुनै परिवर्तन आएन । 

उनले श्रीमानको विषयमा निकै चासो राख्न थालेपछि दिनदिनै विवाद हुन थाल्यो । घर झगडा नभएको दिनै नभएको उनको अनुभव छ । त्यस्तोमा शंकरले जे भेट्यो त्यसले हानिहाल्थे । पेशाले शिक्षक उनी डिल्लीबजारको कन्या क्याम्पसमा पढाउँथे । 

कालोपुलमा डेरा लिएर बसेका उनी कलेज पढाउन भनेर बिहान ४ बजे नै घरबाट निस्किसकेका हुन्थे । जबकी कलेज पुग्न १५ मीनेट लाग्थ्यो । शंकरको फोन जतिबेला पनि व्यस्त सुनिन्थ्यो, नभए घण्टी आइरहन्थ्यो ।

एकदिन अति नै भएपछि उनले फोन उठाइन् । बिहानीपख ४ बजे फोनमा युवती बोलेपछि उनले श्रीमानलाई त्यसबारे सोधिन् । श्रीमानले जवाफ दिँदै भने, ‘कपी ल्याइदिनु भनेर फोन गरेकी होलिन् ।’

राति जहिल्यै घर ढिलो आउने उनी मादक पदार्थको औधी पारखी थिए । यो क्रम बढ्दै गयो । घरबेटीले समेत दिनहुँको झगडा देखेर वाक्कदिक्क मानेका थिए । आफूलाई राम्रो देखाउ शंकरले देवीलाई ‘पागल’ बनाउने योजना बुनेको रहस्य खुलेको छ ।

‘मेन्टल डिसअर्डर’ को औषधि खुवाइदिए । तर, यो कुरा देवीले थाहा पाएकीले उनी जोगिइन् । बाहिर केटी डुलाउँदै हिँड्ने बानी परिसकेका शंकरले देवीसँग सम्बन्धविच्छेद गर्न खोजे । पत्नी पीडित भनेर नौटंकी देखाउँदै हिँडे । देशभरका पत्नी पीडितलाई जम्मा गराएर संघ खोल्नेसम्मको योजना बुने । 

शंकरले मूलधारका सञ्चारमाध्यमबाट पत्नी पीडितको समाचार निरन्तर प्रकाशित गराइरहे । जसले देवीमाथि थप पीडा थप्यो । एकातिर अदालतमा सम्बन्धविच्छेदको मुद्दा अर्कोतिर पत्रपत्रिकामा निरन्तर छापिरहेको लाञ्छनायुक्त समाचार । अति नै भएपछि देवीले अदालतको ढोका ढक्ढक्याइन् । २०६८ सालदेखि न्यायको खोजीमा हिँडेकी उनले हालसम्म पनि न्याय पाउन सकेकी छैनन् । 

श्रीमानपछि ‘सौता’ ले दिएको पीडा 

शंकर अर्की श्रीमतीसँग खुशीयालीले भरिपूर्ण जिन्दगी बिताइरहेका छन् । अदालतबाट सम्बन्धविच्छेद भई नसकेकै अवस्थामा उनले रमा पन्थीसँग बहुविवाह गरेका हुन् । प्रहरीदेखि अदालतमा मुद्दा चल्दै गर्दा उनी प्रतिष्ठित कम्पनीको ठूल्ठूला ओहोदामा पुगेका छन् । 

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको काउन्सिल सदस्य र अडिटर एशोसिएशन अफ नेपालको केन्द्रीय सदस्य समेत रहेका उनले अन्य थुप्रै संस्थामा काम गरिसकेका छन् । सोही क्रममा उनी अर्घाखाँचीकी रमासँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । 

यी दम्पतीको एउटी छोरीसमेत छिन् । तर, रमाले आफूलाई कुमारी दाबी गर्दै आएको  बताइन्छ । अदालतमा समेत आफ्नो विवाह नभएको ठोकुवा गरेकी उनले विवाह नै नगरी कसरी छोरी जन्माइन् ? रमा आफैंले आफ्नो कोखबाट जन्मिएकी छोरीको अस्तित्व मेटाउन खोजेको देबीको आरोप छ ।

विवाह पुष्टि गर्ने थुप्रै प्रमाण हुँदाहुँदै पनि कानुनले उनलाई छुनसमेत नसकेको देवी पक्षको भनाइ छ । श्रीमानको आड, पैसा र पहुँचले उनलाई कानुनबाट अस्थायी रुपमा जोगाएको हो । उनले अदालतलाई नै भ्रममा पारेको बताइन्छ । यतिले नपुगेर उनले देवीलाई धम्काउँदै आएकी छन् । अदालत परिसरमै रमाले देवीलाई कपाल भुत्ल्याउँदै लछारपछार गरेको बताइन्छ ।

रमाको कुटाइपछि उनी शारिरिक रुपमा शिथिल बनिन् । रमा पहिलो पति छाडेर शंकरसँग आएकी हुन् । एउटालाई छोडेर अर्कोसँग आएकी महिलाले पुरुषको आडमा कतिसम्मको हर्कत गर्न सक्छ भन्ने जल्दोबल्दो उदाहरण पनि हो यो । 

पीडक पुरुषले नै पीडक महिलालाई संरक्षण गरिरहँदा समाजले त्यसलाई कसरी हेर्ने ? साँच्नै भन्ने हो भने समाजले नै त्यस्ताको संरक्षण गरिरहेको देखिन्छ । अदालतबाट बहुविवाहको मुद्दामा जेल सजाय तोकिए पनि उनीहरु धरौटी रकम तिरेर खुल्ला हिँडिरहेका छन् । 

सर्वोच्च अदालतमा शंकर र देवीको सम्बन्धविच्छेदको मुद्दा विचाराधीन छ । यद्यपि, शंकरले आफ्नो सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै आएका छन् । कानुनलाई लत्याएर शंकरले देवीमाथि अन्याय गर्नुसम्म गरे । विडम्बना, महिला भएर रमाले समेत देवीको पीडा बुझ्न सकेको देखिएन । 

मल्हम बन्नुको साटो उनले देवीको घाउमा ‘नुनचुक’ छर्किएकी हुन् । देवीले श्रीमान त्यागिसकेकी छन् । तर, उनले आफूले पाउनुपर्ने हकअधिकार भने पाउन सकेकी छैनन् । उच्च अदालत पाटनले माना चामलवापत आमा र छोरालाई मासिक १५–१५ हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको थियो । 

तर, शंकरले अहिलेसम्म एक सुको पनि दिएका छैनन् । देवीले छोराको लालनपालनका लागि १५ हजारले नपुग्ने भन्दै सर्वोच्चमा पुनरावेदन गरेकी छन् । शंकरले लुकाएर रमालाई ललितपुरको भैसेंपाटीमा किनिदिएको अपार्टमेण्टमा छोरासँगै आफूलाई राखेकी छन् । 

रमाले उनलाई त्यहाँ पनि सुःखसँग बस्न दिइनन् । रमाको ‘गुण्डागर्दी’ शैलीमा कुनै परिवर्तन आउन नसकेकाले देवी आफ्नो माइत गएको बेला उनले ललितपुर महानगरपालिका वडा नम्बर २५ को सहयोगमा अपार्टमेण्टको ताला फोडेकी हुन् । 

देवीले वर्षौंदेखि संगालेर राखेका प्रमाणहरु रमाले चोरेको बताइएको छ । तर, उनलाई कसले कारबाही गर्ने ? पुरुषको साथ पाएपछि ‘असभ्य’ महिला पनि समाजको लागि सभ्य बनेको पाइएको छ । आफ्नो बालबच्चाको अस्तित्व नै मेटाउन सक्नेको हर्कत छर्लङ्ग भएको देवीको भनाइ छ ।

यता, महिला अधिकारका लागि खुलेका संघसंस्थाले समेत पीडकको साथ दिएपछि देवीको न्याय पाउने आश मरिसकेको छ । उनी भन्छिन्, ‘मुलुकमा कानुन छ र ? ११ वर्षदेखि न्यायका लागि लडिरहेको छु । उल्टै मलाई पीडा दिने काम भइरहेको छ ।’ 

रमालाई श्रीमानभन्दा सम्पत्तिको चिन्ता 

शंकर र रमाको सम्बन्ध पनि टुंगिने अवस्थामा पुगिसकेको छ । रमाले शंकरसँग ‘डिभोर्स’ मागिसकेको बताइन्छ । शंकरलाई श्रीमान स्वीकार नगरेकी उनले सम्पत्तिमा भने दाबी गर्दै आएकी छन् । 

शंकरले कसैलाई सुईंको नदिई भैसेंपाटीमा किनिदिएको अपार्टमेण्टमा कब्जा जमाउन उनले हरकोशिस गर्दै आएकी हुन् । यतिखेर श्रीमान होइन् सम्पत्ति चाहिएको छ । त्यो अपार्टमेण्ट हात पारेर बेच्ने र पाखा लाग्ने दाउमा छिन्, रमा । 

समाजले के भन्ला ? भन्ने डर रमामा देखिँदैन । देवीलाई अपार्टमेण्टबाट हटाउन उनले हरसम्भव प्रयन्त गरिसकेकी छन् । अपार्टमेण्ट हत्याउनैका लागि आक्रान्त बनेकी रमाले केही गर्ने हो कि भन्ने डर देवीमा सँधै देखिन्छ ।

टिप्पणीहरू