सिने क्षेत्रमा राईको पारिवारिक शासन

सिने क्षेत्रमा राईको पारिवारिक शासन

केपी ओलीको झैँ निर्दलीय शासन सिनेमा क्षेत्रतिर पनि चल्न थालेको चर्चा छ । ‘सिनेमासँग सम्बन्धित सबै संघसंस्थामा एउटै व्यक्ति हुनुपर्ने, निर्विरोधको नाममा अधिकांश ठाउँमा उम्मेदवारी दिनै नपाइने भएपछि ती संघसंस्था किन चाहियो ? टिकै लगाएर नियुक्ति गरिने भएपछि किन चुनावको नाटक मञ्चन गरिरहने ? यी पेशागत संघ संस्था अमूक व्यक्तिलाई जिम्मा लगाइदिए भएन ?’ 

अहिले सिने क्षेत्रमा सुनिन थालेको चर्चा र टिप्पणी हो यो । हालै सम्पन्न निर्देशक समाज, चलचित्र कलाकार संघ, प्राविधिक संघदेखि निर्माता संघसम्म राजकुमार राईले आफ्ना एसम्यानहरू मात्र फिट गराएको भन्दै चलचित्रकर्मीले यस्तो आवाज उठाउन थालेका छन्, भित्रभित्रै । 

हालै नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा जनकदिप पराजुली निर्विरोध चुनिए । उनी चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको पकेटका निर्देशक । आजसम्म एउटा मात्र सिनेमा निर्देशन गरेका । आठ वर्षअघि राजकुमार र ज्योतिराज राईकै लगानीमा निर्मित प्रोड्युसरको निर्देशन गरेका, उक्त चलचित्रले पानी पनि पिउन पाएन ।  जनकदिपलाई अगाडि सारेर अस्ति शनिबार अध्यक्षमा टीका लगाउन राई सफल भएको सिने वृत्तमा चर्चा छ । जीवनभर एउटैमात्र सिनेमा निर्देशन गरेका उनी यसअघिका कार्यसमितिमा महासचिव थिए । यस्तै अस्ति निर्वाचित दीपशिखाले हालसम्म एउटै फिल्म निर्देशन गरेका छैनन्, यद्यपि राईकै बलमा निर्देशक समाजको उपाध्यक्षमा चयन हुन सफल भएकी छन् ।

त्यसअघि सम्पन्न कलाकार संघमा मोहन निरौलालाई राजुकमार राईकै ग्रुप लागेर जिताएको र रेजिना उप्रेतीलाई धुलो चटाइएको चर्चा सिने क्षेत्रमा व्याप्त छ । राईकै खास कलाकार भनेर चिनिएका पुष्कर लामा लगातार ०७२ सालदेखि चलचित्र कलाकार प्राविधिक संघको नेतृत्वमा टिकिरहन सफल भएका छन् । चलचित्र प्राविधिक संघ (नेफ्टा)को गत बिहीबार सम्पन्न २०औँ वार्षिक साधारण सभाले लामालाई टीका लगाएर अध्यक्षमा छानेको हो । यसअघि २०७२ र २०७५ साल हुँदै अहिले उनलाई तेश्रो कार्यकालको लागि टीका लगाएर नेतृत्वमा लगिएको छ । 

यसअघि राजकुमार राईकहाँ पुगेर हारगुहार गरेपछि गत भदौमै चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्कालाई लगिएको चर्चा सिने क्षेत्रमा व्याप्त छ । त्यहाँ राजुकमारकै भाइ ज्योतिराज छन् । यसअघि रोज राना सिने क्षेत्रमा सक्रिय हुँदा राजकुमार राईको यतिबिघ्न दबदबा थिएन । राना प्रदेश सांसदमा निर्वाचित भएसँगै अहिले एकपछि अर्काे सिनेमासँग सम्बन्धित संस्था राईको कब्जामा पुगेको छ । निर्माता संघमा रोज आफैँ थिए अनि आकाश अधिकारी राना निकटकै । कलाकार संघमा रोजको खेमाबाट रवीन्द्र खड्का निर्वाचित भएर एक कार्यकाल चलाए पनि । त्यो समयमा राईको समूहबाट सरिता लामिछानेलाई अगाडि सारिएको थियो ।

उनी सो समय एमाले हुँ भन्दै चलचित्र विकास बोर्डको बोर्ड सदस्य बन्न लागिपरेकी थिइन् । सदस्य नपाएपछि आक्रोशित सरिता राजकुमार राईलाई अगाडि लगाएर बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवानिवास पुगी चारतारे किल्लामा उभिन सफल भइन् । अहिले राईकै सक्रियतामा कलाकार संघमा मोहन निरौलालाई जिताउन सक्रिय देखिन्थिन् । यस्तै अघिल्लो पटक निर्देशक समाजमा राजकुमार खेमाबाट सुचित्रा श्रेष्ठलाई अध्यक्षमा अगाडि सारिएको थियो । तर, त्यहाँ रक्षा सिंह राणाको जित भयो । अहिले पनि सुचित्रा श्रेष्ठ र अनन्त तिमिल्सिनाहरूले यी संघ–संगठनको नेतृत्वमा आउन खोजेका थिए तर राजकुमार राईका अगाडि को बोल्ने ? उनले चलचित्र सम्बन्धित संघ÷संगठनमा अहिले यसरी हालिमुहाली जमाएका छन् कि जसलाई चाह्यो त्यही व्यक्ति मात्र ती संघसंस्थामा आउन सक्ने, अरुले चिहाउनै नपर्ने स्थिति बनेको भन्दै कलाकर्मी भित्रभित्रै विरोधका स्वर उँचो पार्दै छन् ।

 

टिप्पणीहरू