उपनिर्वाचनमा पर्यवेक्षण गर्न चाहनेले अनुमति लिनैपर्ने
आगामी बैशाख १० गते तीन वटा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ संस्थालाई अनुमति लिन निर्वाचन आयोगले माग गरेको छ ।
आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा सात दिनभित्र पर्यवेक्षण स्वीकृतिको निम्ति निवेदन पेश गर्न सूचित गरेको छ । त्यसको निीम्त संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्य समितिका पदाधिकारीहरुको नामावली र राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण बुझाउनुपर्ने छ ।
आयोगको सूचनामा भनिएको छ, ‘आगामी वैशाख १० गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाले यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि देहायका कागजातहरुसहित निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिन आग्रह गरिन्छ ।’
निर्वाचनसम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्थाले पर्यवेक्षण गर्न पाउने छैनन् ।
टिप्पणीहरू