रविको क्षेत्र ताकेका स्वर्णीम रास्वपाको टिकटमा तनहुँ

रविको क्षेत्र ताकेका स्वर्णीम रास्वपाको टिकटमा तनहुँ

गत मङ्सिर ४ गतेको चुनावमा मूलधारका पार्टीहरुले बढो महत्वका साथ नवप्रवेशीहरुलाई हाताहाती टिकट दिएर निर्वाचनमा उठाए । कतिले चुनाव जिते, केही पराजित भए । टिकट सुनिश्चित गर्न चुनावको मुखमा दल बदल्ने प्रवृत्तिलाई संसदीय राजनीतिमा खासै अनौठो मानिँदैन । अझ लोकतान्त्रिक अभ्यासमा भर्खर वामे सर्दै गरेको हाम्रो जस्तो मुलुकमा राजनीतिको सामान्य प्रक्रियाकै रुपमा बुझ्ने गरिन्छ । 

वैशाख १० गतेको उपचुनाव आउन करिब तीन हप्ता बाँकी रहँदा उम्मेदवारीको निम्ति ‘इधर उधर’ गर्नेहरु फेरि प्रकट हुन थालेका छन् । तर, यसपटक भने एउटै घटनाले सिङ्गै राजनीति तरंगित भएको छ । त्यो पनि राजनीतिमा उतिसारो प्रभावी नठानिएका स्वर्णिम वाग्लेको काँग्रेस परित्याग र रास्वपा प्रवेशले । 

५० वर्षदेखिको पारिवारिक विरासत र एक दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्णिमको काँग्रेस छाड्ने निर्णय स्वयम् काँग्रेसीका लागि अपेक्षित थियो कि थिएन ? तर, आम नागरिकको नजरबाट खासै अस्वाभाविक देखिँदैन । सभापति शेरबहादुर देउवाकै छत्रछायाँमा राजनीतिक हाइट बढाएका उनले जुन आरोप लगाएर पार्टी छाडे त्यसले भने बजारमा चर्चा कमाएको छ । 

विदेशी संस्थामा जागिर खाइरहेका वाग्लेलाई राजनीतिमा तान्ने काम स्वयं देउवाबाट भएको बताइन्छ । सुशिल कोइराला प्रधानमन्त्री भएको बेलामा योजना आयोगमा सदस्य रहेका उनलाई देउवाको पालामा उपाध्यक्ष बनाइएको थियो । तर, स्वर्णिमले हिजो पार्टी छाड्ने घोषणा गर्दा देउवामाथि मात्रै गम्भीर आरोप लगाएनन् पत्नी आरजूलाई पनि आरोपित गरे । 

सामाजिक सञ्जाल फेसबुकबाट सभापति देउवा र आरजूले काँग्रेसलाई अक्षम गिरोहमा परिणत गरेको खुलमखुला आरोप लगाएका उनले लेखेका छन्, ‘पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’

फेसबुकमा लेख्नुअघि काँग्रेसको संस्थापन इतर खेमाका नेताहरुलाई मोबाइमा म्यासेज गरेर उनले शेरबहादुर देउवा र आरजू राणाकै कारण पार्टी छाड्न लागेको सन्देश दिएका थिए । डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मोबाइलमा म्यासेज पठाएर उनले देउवा र देउवापत्नी आरजू राणाको निरन्तर हेपाइ र अपमानले पार्टी छाड्नुपर्ने अवस्था आएको जानकारी गराएका थिए । 

स्वर्णिमले काँग्रेस छाड्नुको कारण पार्टीभित्र मौलाएको बेथितिलाई देखाए पनि घटनाक्रमले भने चुनावमा टिकट नपाएको आक्रोश हो भन्ने पुष्टि हुन्छ । किनभने काँग्रेस छाडेलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको टिकटमा तनहुँ–१ बाट उपचुनाव लड्ने तयारीमा रहेको चर्चा चल्यो ।  

त्यसैले वाग्लेले देउवा दम्पत्तीमाथि लगाएको आरोपको काँग्रेसका केही नेताहरुले खण्डन गरेका छन् । युवा नेता नैनसिंह महरले काँग्रेस छाड्ने वाग्लेको कदमलाई अधैर्यताको पराकाष्ठा भनेका छन् । उनले क्षमता पहिचान गर्न नसक्ने अल्पज्ञानीको संज्ञा पनि दिएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले वाग्लेलाई कस्तुरीको विनासँग तुलना गर्दै आफ्नो क्षमता पहिचान गर्न नसकेर भौतारिँदै हिँडेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ’कस्तुरीको नाभीमा रौंले ढाकिएको सानो मासुको डल्ला हुन्छ । जसलाई ’विना’ भनिन्छ । कस्तुरी बिहान उठ्नेबितिक्कै आफ्नै नाभिबाट उत्पन्न भएको सुगन्धित वासले मुग्ध हुन्छ । यति मिठो वासना आफ्नो नाभिबाट उत्पन्न भएता पनि ज्ञान र चेतनाको अभावले उज्यालो हुने बितिक्कै उ उक्त बास्नाको खोजीमा भोक तिर्खाको परवाहा नगरी दिनभर चाहार्छ । परन्तु बास्नादार बस्तु फेला नपरेपछि साँझमा लखतरान हुँदै बासस्थान फर्कन्छ । यसरी नै उसका हरपल बित्न थालेपछि भोक र थाकाइले अल्पायुमै उसको प्राण जान्छ ।’

कस्तुरीको कथालाई स्वर्णिमको निर्णयसँग जोडेर उनले अगाडि लेखेका छन्, ‘अहिले कतिपय मानिसहरु डिग्री हासिल गरेपनि अल्पज्ञानी जस्तै छन् । क्षमताको सुगन्ध थाहा पाउंदैनन् । जीवनको लक्ष्य र विज्ञताको मार्ग भुल्छन् । छोटो समयमै अथाह सफलता प्राप्तिको अभिष्ट चाहाना राख्छन् । र, त्यस्तै उदय झैँ अस्ताउन बेर लाग्दैन । अलौकिक प्रतिभा, क्षमता एवम् शक्तिलाई चिन्न नसकेर शुख र शान्तिको खोजीमा १० दिशामा भौंतारिरहेको जीवनयात्रा कस्तुरीको झैँ हुनेमा दुइमत छैन ।’

देउवा निकट मानिने महरको यस्तो टिप्पणीको प्रष्ट संकेत छ– काँग्रेसमै अवसरको सम्भावना हुँदाहुँदै स्वर्णिमले धर्यता गुमाएर गल्ति गरे । हुन पनि अमेरिकामा पढेर फर्किएका र नामको अगाडि डा. झुन्ड्याएकाहरुका लागि काँग्रेस उर्वरभूमि हो, जहाँ स्वर्णिम फक्रिन थाल्दै थिए । नुवाकोटका महत दाजुभाईदेखि मिनेन्द्र रिजालसम्मले अमेरिकामा पढेर फर्किएकै आधारमा काँग्रेसमा ठूल्ठूला जिम्मेवारी पाएको उदाहरण छ । योजना आयोगको उपाध्यक्ष हुँदै घोषणापत्र मस्यौदा कमिटीको संयोजक जस्तो महत्वपूर्ण जिम्मेवारी स्वर्णिमले पनि हात पारेकै थिए । 

तर, अहिले भाइरल राजनीतिको प्रभाव छ । त्यसले आफूलाई धुरन्धर विद्धान दाबी गर्नेहरुलाई पनि आकर्षित गरेको देखिन्छ । पार्टी गठनको चार महिनामै चुनावमा गएको रास्वपाले ११ लाख भोट पाएपछि भाइरल राजनीतिले थप महत्व पाएको छ । त्यसमै स्वर्णिम भविष्य देखेका स्वर्णिमहरु थामिन सकेनन् । 

वैशाख १० गते चितवन–२ बाट चुनाव लड्न चाहेका स्वर्णिमले त्यो सम्भावना नदेखेपछि फाल हालेर रास्वपामा मिसिएको आरोप लगाउने काँग्रेसीहरु भन्छन्, ‘रवि लामिछानेको भाइरल राजनीतिले लोभिएर उतै लागेका हुन् । सभापतिमाथि लगाइएका आरोप त टिकट नपाएको रिस मात्रै हो ।’ 

विदेशका प्रतिष्ठित शैक्षिक प्रतिष्ठानबाट डिग्री लिएकै भरमा सबैभन्दा योग्य र भरोसा गर्नलायक ठानेर लगातार अवसर दिइएका उनले सभापति देउवाको पीठमा छुरा रोपेर राजनीतिको छट्टु खेलाडी रवि लामिछानेको दौराको फेर समातेको भन्दै आक्रोश पोख्ने काँग्रेसीहरु यतिबेला सामाजिक सञ्जालमा बेस्कन पोखिएका छन् ।

’यी वाग्लेलाई कति चाहिने रहेछ कुन्नी ! कहिले योजना आयोगको उपाध्यक्ष भएका छन् कहिले राष्ट्रसंघीय क्षेत्रीय समितिका सदस्य । कहिले राजदूत हुनेको सूचीमा नाम निस्किन्छ त कहिले चितवन क्षेत्र नम्बर १ को उमेदवारीमा दावी प्रस्तुत गर्दछन् । कहिले अर्थमन्त्री हुनुपर्ने भनेर मिडियाबाजी गर्छन्’, एक जना कांग्रेस निकट लेखक तथा पत्रकारले भनेका छन् । 

स्वार्णिमलाई बौद्धिक टट्टुको संज्ञा दिएका उनले अगाडि भने, ’यिनको खास योग्यताको क्षेत्र के हो र कसरी देशको उन्नति–प्रगतिमा अवदान गर्न सक्दछन् ? त्यो भने एउटा प्रहेलिका नै भएको छ ।’ सभापति देउवाले नै स्वर्णिम वाग्ले जस्ता ’भुइँफुट्टा’हरूको महत्वाकांक्षालाई उफान दिएको भनेर रिस पोख्नेहरु पनि कांग्रेसमा उत्तिक्कै छन् ।

टिप्पणीहरू