बारामा उपेन्द्रविरुद्ध मधेसीकै मोर्चाबन्दी
गत मङ्सिर ४ गतेको आमनिर्वाचनमा व्यहोरेको अप्रत्यासित पराजयको पुर्ताल गर्न आगामी बैशाख १० गतेको उपचुनावमा उठ्न लागेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध मधेसवादी दलहरुले मोर्चाबन्दी कसिलो बनाउने भएका छन् ।
बारा–२ बाट निर्वाचित आफ्ना विश्वासपात्र रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा जिताएर उक्त क्षेत्रमा हुने उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव जित्ने तयारीमा रहेका उपेन्द्रविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी चुनौतीको रुपमा अगाडि आएका हुन् । जनमत र लोसपाले उपेन्द्रलाई हराउन त्यहाँ प्रभावशाली उम्मेदवार उठाउने तयारी थालिसकेका छन् ।
मंसिरको चुनावमा रामसहायसँग जम्मा ३५४ मतले पराजित शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर जनमतले चुनावी तयारी अघि बढाइसकेको छ । माओवादी छोडेर हिजो जनमतमा प्रवेश गरेका कुशवाहा व्यक्तिगतरुपमा पनि बलिया र प्रभावशाली उम्मेदवार मानिएका छन् । हिजो जनमत प्रवेश गर्दै उनले कुनैपनि हालतमा उपेन्द्रलाई हराएरै छोड्ने घोषणा गरेका थिए ।
यता, लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने तयारी गरेको छ । मंसिर ४ को निर्वाचनमा सर्लाही–२ बाट माओवादी उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका महतो उपेन्द्रलाई टक्कर दिनसक्ने प्रभावशाली नेता हुन् । लोसपाले उनलाई उम्मेदवार बनाए उपेन्द्रलाई चुनाव जित्न थप सकस हुने अनुमान गरिएको छ ।
त्यस्तै, बारामा बलियो रहेको एमालेको चुनौती पन्छाउन पनि उपेन्द्रलाई सहज छैन । किनभने मंसिरको चुनावमा एमालेसँग गठबन्धन गरेर बारा–२ मा रामसहायले जितेका हुन् । त्यहाँ एमाले बलियो छ । त्यसैले नेपाली काँग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनले मात्रै उपेन्द्रको जित सहज देखिँदैन । सत्ता गठबन्धन र दुई मधेसवादी पार्टीविरुद्ध प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको एमालेले उम्मेदवारको नाम भने अहिलेसम्म टुंगो लगाएको छैन ।
मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादवले २०६४ को पहिलो संविधानसभापछि २०७४ सम्म लगातार चुनाव जित्दै आएका थिए । पछिल्लो चुनावमा भने उनी त्यसैगरी एकाएक उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरीमा दोब्बर मतान्तरले पराजित भए । निरन्तरको संसद यात्रामा अचानक ब्रेक लागेपछि उपेन्द्रकै योजनामा बारा–२ को निर्वाचन क्षेत्र खालि गराइएको हो ।
टिप्पणीहरू