ललितपुरमा दादुराको शंकास्पद बिरामी भेटिए

ललितपुरमा दादुराको शंकास्पद बिरामी भेटिए

ललितपुरमा दादुराको शंकास्पद बिरामी भेटिएका छन् । ललितपुर महानगरको कुपण्डोललगायतका स्थानमा केही बालबालिकामा दादुराजस्तै संक्रमण देखिएको हो । दादुराका शंकास्पद बिरामीलाई रोग पहिचान र आवश्यक उपचारका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा पाटन अस्पताल पठाइएको महानगरपालिकाले जनाएको छ । 

आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर १ को पहलमा उनीहरुलाई त्यहाँ पठाइएको हो । दादुरा रोगको संक्रमण समुदायमा फैलिने सम्भावना उच्च रहेको उल्लेख गर्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । 

दादुरा एक भाइरसको संक्रमणबाट लाग्ने रोग हो । एक जना दादुरा संक्रमितले १८ जना सम्मलाई संक्रमित बनाउन सक्छ । खोक्दा वा हाँच्छ्यु गर्दाको छिटाबाट दादुरा सर्न सक्ने चिकित्सकहरु बताउँछन् । 

दादुरा भएकालाई उच्च ज्वरो आउँछ । त्यस्तै, खोकी लाग्ने, सिंगान बग्ने, आँखा रातो हुने, अनुहार, घाँटी, ढाड, हातखुट्टामा रातो दाना आउनेलगायत दादुराका लक्षण हुन् । महानगरपालिकाले त्यस्तो लक्षण देखिएमा तुरुन्त आधारभूत स्वास्थ्य केन्द्र १ कुपण्डोलमा जानकारी गराउन, संक्रमितलाई एक हप्तासम्म आइसोलेशनमा राख्न तथा हरेक आइतबार सञ्चालित नियमित खोप कार्यक्रममा खोप लगाउन आग्रह गरेको छ ।

टिप्पणीहरू