सहकारी, रुवाइछाड्यौ धर्धरी

सहकारी, रुवाइछाड्यौ धर्धरी

पछिल्लो समय सहकारीलगायत वित्तीय क्षेत्रमा संकट देखिन थालेको छ । वित्तीय क्षेत्रको अराजकता नियन्त्रण गर्न सरकारले समयमै ध्यान दिन सकेन भने मुलुक थप अराजकतातर्फ उन्मुख हुने निश्चित रहेको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । आइतबार फागुन २८ गते दिउँसो सहकारीका एक जना व्यक्तिलाई सर्वसाधारणले समातेर प्रहरीसामु बुझाए । तर, प्रहरीले कागज गराएर छाडिदियो । बचतकर्ताहरू धुरुधुरु रुन थाले । काभ्रेका रामबहादुर गौतमले काठमाडौँमा शुरु गराएको सहकारी फरार अभियान काभ्रेमा पनि चर्किन थालेको छ । 

‘सहकारीबाट ऋण लिनेहरूले तिर्न छाडेका छन्, बचत फिर्ता माग्नेहरूको हैरानी शुरु भएको छ,’ सहकारीकर्मी एवं नेफ्सकुनका पूर्व अध्यक्ष डिबी बस्नेतले भन्नुभयो, ‘वित्तीय क्षेत्रको अराजकता नियन्त्रण गर्न सरकारले चासो दिएन भने मुलुक थप संकटमा पर्नेछ । सहकारीहरू र वित्तीय क्षेत्र ध्वस्त हुनेछन् । ’ राजधानीलगायत देशका विभिन्न स्थानमा सहकारी र वित्तीय क्षेत्रबाट लिएको ऋण नतिर्न उर्दी लगाउँदै खुलेआम आन्दोलन शुरु भएको छ । काभ्रेपलाञ्चोकमा पनि त्यो संकट देखिन थालेको छ । लगेको ऋण नतिर्ने तर सहकारी असुरक्षित भएको बहानामा बचत फिर्ता लिन आउनेको दैनिक भीड बढ्न थालेको छ । गलत क्रियाकलाप र कारोवार गर्नेलाई कारवाही नगर्दाको परिणाम सिंगो अभियानले भोग्नुपरेको सहकारीकर्मीहरू बताउँछन् । ऋण लिएर नतिर्ने, भाग्ने, उल्टै धम्क्याउने र उजुर हाल्ने क्रम बढेको छ । सहकारीहरूले पनि विना धितो करोडौं रकम लगानी गरी बचतकर्ताहरूको रकम जोखिममा पार्ने गरेका छन् । संस्थागत कारोवार भएका, सहकारीको ऐन नियम पालना गरेका र सामुहिकतामा आधारित संस्थामा वित्तीय संकट देखिएको छैन । 

केही सहकारीका सञ्चालक फरार भइसकेका छन् भने केहीले अभाव भएको रकम बचतकर्तालाई समय दिएर फिर्ता गरिरहेका छन् । बागमती प्रदेशको सहकारी विभागमा जिल्लाबाट १७ वटा सहकारीले रकम फिर्ता गर्न नसकेको उजुरी दर्ता भएको छ । यीमध्ये केही सहकारी यसअघि नै संकटमा परेर भागिसकेका छन् । बनेपास्थित कान्तिपुर सहकारीले केही महिनादेखि बचतकर्तालाई सीमित रकम फिर्ता गर्न सकिरहेको छ भने मुकुल, युनिटी सहकारीलाई रकम फिर्ता गर्न धौधौ भएको छ । स्वर्णिम र एशियन स्टारका सञ्चालक फरार छन् । यी दुवै सहकारी पारिवारिक हुन् । स्वर्णिममा दाजु उमेश राउत अध्यक्ष छन् भने एशियन स्टारमा भाइ दिनेश । प्रवन्धक र सञ्चालक उनीहरू नै हुन् । विनायक र अखण्ड सहकारी गत वर्ष नै बन्द भएका छन् । यसका सञ्चालक रामसुन्दर कार्कीले फेरि काठमाडौमा सहकारी किनेर सञ्चालन गरिरहेका छन् । सत्कार बन्द छ । मालश्री पनि बन्द छ । त्यस्तै पुण्यश्वर र दौप्रदा सहकारी पनि संकटमा पुगेका छन् । कोशिपारी घर भई बनेपा पुलबजार बस्ने कुमार गौतम त्यसका सञ्चालक हुन् । करोडौं रकम फिर्ता गर्न नसकेपछि त्यसका बचतकर्ता पनि तनावमा छन् । 

बनेपामा पारिवारिक रूपमा सञ्चालित अन्य थुप्रै सहकारी भए पनि शहरी क्षेत्रमा व्यक्तिगत रूपमा चलेकाहरु अधिकांश संकटमा छन् तर सामुहिक रूपमा स्थापित सहकारीहरूमा वित्तीय सकंट छैन । अधिकांशले सहकारी ऐन र कार्यविधि पालना गरेका छैनन् । छाता संगठनहरूमा समेत ऐन कार्यान्वयन हुन सकेको छैन । 

– मोतीराम तिमल्सिना

 


 

टिप्पणीहरू