बढुवालाई लिएर प्रहरीभित्र चर्को असन्तुष्टि

बढुवालाई लिएर प्रहरीभित्र चर्को असन्तुष्टि

नेपाल प्रहरीमा बढुवाको कारण निकै विवाद उत्पन्न हुने गरेको छ । एउटा सिफारिसमा पर्यो भने अर्को रुष्ट भइहाल्छन् । पारदर्शी, वैज्ञानिक र कार्यक्षमता मूल्याङ्कन गरेर बढुवा गर्ने भनिएपनि त्यो कार्यान्वयनमा जान सकेको छैन । हरेकचोटि बढुवा हुँदा कुनै न कुनै झमेला निस्किनै हाल्छ । 

गृह मन्त्रालयले गत फागुन २६ गते पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गर्यो र आज वसन्तबहादुर कुँवर,टेकप्रसाद राई, दीपक थापा,श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा भएका छन् । 

उनीहरुको बढुवामा परेपछि अर्को टोलीले असन्तुष्टि जनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई बढुवा गरिसकेको छ । कार्यक्षमता नहेरिकन बढुवा गरिएको भन्दै केही प्रहरी अधिकृतले आलोचना गरेका छन् । 

आफूभन्दा एकाध वर्ष ढिला भर्ती भएका र प्रमोशनमा पनि पछि परेकालाई प्राथमिकतामा राखिएको आरोप लगाउँदै सिनियर डिआइजीहरुले विरोध जनाएका छन् । बढुवा निष्पक्ष नहुँदा आफूहरु अन्यायमा परेको उनीहरु बताउँछन् । डिआईजी नलप्रसाद उपाध्याय, मसउद आलम खाँ, मोहनकुमार आचार्य बढुवा सिफारिसमा छुटेका छन् । 

२०४९ चैत ११ गते भर्ती भएका उनीहरुलाई पाखा लगाएर प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अन्यलाई चुनेको आरोप छ । हाल बढुवामा परेका डिआइजीहरु २०५१ चैत ५ गते प्रहरीमा भर्ना भएका थिए । त्यतिबेला उनीहरुसंगै अन्य १७ जनाले जागिर खाएका थिए । 

तिनैमध्येबाट छानेर उनीहरुलाई सिफारिस गरिएको हो । आफूभन्दा तल्ला ब्याच बढुवा भएपछि पुरानो टोली हेरेको हेर्यै भएको छ । प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुने बेलामा समेत उनीहरु पछि परेका थिए । उनीहरु पहिलो टोलीभन्दा तीन महिनापछि डिआइजीमा बढुवा भएका हुन् । 

तर,सिफारिसमा एउटै ब्याचमेटका तीनै जनालाई छुटाइएको छ । आजको मन्त्रिपरिषद बैठकपछि उनीहरु एआइजीको दौडबाटै बाहिरिएका छन् । आफूहरुमाथि गरिएको विभेदका कारण कुरा जागिर छोड्नेसम्म पुगेको बताइन्छ । जबकि यी तीनै जना डिआइजीले चैत ११ गते ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् । 

जानाजान जन्ममिति विवादमा फसाउँदाको असर  

डिआइजीबाट एआइजीमा बढुवा हुन लागेका श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जन्ममिति ढाँटेर जागिर खाएको आरोप लागेका उनी बढुवामा परेपछि अरुहरु मुर्मुरिएका छन् । 

ललितपुर बस्दै आएका शेरबहादुर चन्दले गत फागुन १४ गते उनीविरुद्ध उजुरी दिएका थिए । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५ भदौ २६ गते र नागरिकतामा २०२४ चैत २१ गते उल्लेख छ । 

त्यस्तै,नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका डिआइजी अशोक सिंहले जन्ममितिकै कारण राजीनामा दिनुपरेको थियो । बढुवाको दौडमा रहेका उनी जन्ममिति विवादका कारण राजीनामा दिएर निस्किएका छन्  । 

नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख छ । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिन्छ ।

तत्कालीन अवस्थामा सिंह वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा कार्यरत थिए । प्रहरी नियमावली २०७१ को नियम १२७ अनुसार एसएसपीले अनिवार्य अवकाश पाउने उमेर ५५ वर्ष हो । त्यस हिसाबले सिंहले एसएसपी छँदै २०७९ जेठ २२ गते अनिवार्य अवकाश पाउनुपर्ने थियो ।

सेनाबाट प्रहरीतिर सरेको जन्ममिति रोगले अर्का डिआइजी नलप्रसाद उपाध्यायलाई पनि च्याप्यो । भारतमा जन्मिएका उनको जन्ममितिमा कहिले एक दिन त कहिले दुई दिनको फरक पर्ने गरेको छ । ईस्वी संवत र विक्रम संवतमा फरक पर्ने भएकाले उनको जन्ममिति कहिले २०२४ साउन १९ गते कहिले साउन २० गते पर्न जान्छ । तर,नागरिकतामा भने साउन १९ गते उल्लेख छ । 

अहिले उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा ६ महिना १४ दिनको फरक देखाइएको बताइन्छ ।  यो विषय बाहिर आएपछि उनले तत्कालै कर्मचारी प्रशासन शाखामा सम्पर्क गरेका थिए । शाखाले भूल भयो भने पनि उनलाई छविमा लागेको दाग हटाउन मुश्किल परेको छ ।

टिप्पणीहरू