चर्को ब्याज र मँहगो सटरभाडाले पिरोलिए व्यवसायी

चर्को ब्याज र मँहगो सटरभाडाले पिरोलिए व्यवसायी

ऋषि भट्टराई

सेवा प्रवाह तथा विकास निर्माणबारे नयाँ योजना बनाउन बसेको विभिन्न व्यवसायीहरुको संयुक्त बैठकले बैंक तथा वित्तिय संस्थाको ब्याजदर घटाउन र सटर भाडादरसम्बन्धी मापदण्ड बनाउन सरकारसमक्ष माग गरेको छ । 

बुटवल उपमहानगरपालिकामा अस्ति बसेको सरोकारवालासहितको बैठकमा व्यावसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी र हाटबजार व्यवसायीलगायतले भाडादर अत्यन्तै मँहगो भएको र चर्को ब्याजदरका कारण आफूहरु मर्कामा परेको गुनासो गर्दै  सरकार गुहारेका हुन् । 

उनीहरुले सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडा तय गर्न सुझाव दिँदै व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश राजधानी दाङमा सरेपछि व्यापार व्यवसाय ठप्पझैं बनेको बेला बैंकिङ्ग क्षेत्रको चर्को ब्याजले समस्याग्रस्त बनाएको उनीहरुको दुखेसो छ । 

‘सरकारी कार्यालय यहाँ हुँदा हाम्रो व्यापार व्यवसाय राम्रै चलेको थियो । अहिले प्रदेश राजधानी सरेपछि व्यापार सुकेको छ । चहलपहल हुने बुटवल सुनसान बनेको छ । यस्तोमा यति चर्को भाडा कसरी तिर्ने ?’, एक सहभागीले बैठकमा आफ्नो पीडा पोखे । 

त्यसक्रममा व्यवसायीहरुले तत्काल आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरेका छन् । त्यस्तै, उपमहानगरभित्र निर्माणधीन परियोजनाहरु समयमै सम्पन्न गर्नुपर्ने माग राख्दै सडकमा आउने उनीहरुको तयारी छ । 

यता, उपमहानगरका मेयर खिलराज पाण्डेयले बुटवललाई साझा शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । सहकारी क्षेत्रको समस्या समाधानका लागि विज्ञहरुको सहभागितामा कमिटी गठन गर्ने उनको प्रतिवद्धता छ ।

बुटवललाई चलायमान बनाउन संघ तथा प्रदेश तहमा समेत आवश्यक छलफल गर्ने मेयर पाण्डेयले बताए ।

 

टिप्पणीहरू