मतदान भइरहँदा रामसहायलाई एमाले सांसदको बधाई

मतदान भइरहँदा रामसहायलाई एमाले सांसदको बधाई

उपराष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सहभागी हुन सांसदहरु मतदानस्थलमा पुग्नेक्रम जारी छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, दुबै तहका सरकारका मन्त्रीहरु, विभिन्न पार्टीका शीर्ष नेता मतदानस्थल पुग्दा संसद भवनको माहोल उत्साहपूर्ण बनेको छ । मतदानका लागि विभिन्न प्रदेशबाट आएका सांसदहरु उम्मेदवारसँग फोटो खिच्ने, मन्त्रीहरुलाई भेटेर योजना माग्नेजस्ता काममा पनि व्यस्त देखिएका छन् । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादव सबैभन्दा बढी व्यस्त बनेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई सांसदहरुले अग्रिम बधाई दिँदै फोटो खिच्न तानातान गरेपछि उनी भ्याईनभ्याईमा परेका हुन् । यादवलाई एमालेका सांसदहरुले समेत अग्रिम बधाई तथा शुभकामना दिइरहेका छन् । 

आफ्नो पार्टीले अर्कै उम्मेदवार उठाएको भए पनि पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद लीला श्रेष्ठले यादवलाई अग्रिम बधाई दिएका छन् । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झाको उम्मेदवारी छ भने एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य मतदाता हुन्छन् ।

टिप्पणीहरू