राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएलगत्तै निर्वाचन आयोगको विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएलगत्तै निर्वाचन आयोगको विज्ञप्ति

निर्वाचन आयोलले उपराष्ट्रपति पदको निर्वाचनको निम्ति प्रचारप्रसार निषेधको अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न आग्रह गरेको छ । 

उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो आग्रह गरेको हो । 

आज विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिताविपरीत वक्तव्य दिन, विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरुको बैठकबाट उम्मेदवारहरुलाई मत दिने वा नदिने निर्णय नगर्न राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ ।’

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वासनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइसकेको समेत आयोगले जनाएको छ ।

त्यसैले, यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा आदि गर्न नपाइने आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराए ।

आजमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न भोलि बिहान बस्नेगरी बैठक बोलाएलगत्तै आयोगले यस्तो विज्ञप्ति निकालेको हो ।

टिप्पणीहरू