बिजुली चुहावटमा कमी, अझै कम गर्ने प्राधिकरणको दाबी

बिजुली चुहावटमा कमी, अझै कम गर्ने प्राधिकरणको दाबी

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिनामा विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताएको छ । प्राधिकरणले वितरणतर्फको विद्युत चुहावट सात दशमलव ९९ प्रतिशतमा सीमित भएको जानकारी दिएको छ । 

नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालित अभियानबाट प्राधिकरणले गत वर्षको तुलनामा एक दशमलव ६६ प्रतिशतले चुहावट घटाएको बताइएको छ । 

गत वर्षको माघ महिनासम्म वितरणतर्फको विद्युत चुहावट ९ दशमलव ३५ प्रतिशत थियो । त्यस्तै, समग्र विद्युत चुहावट १० दशमलव ८६ प्रतिशत रहेको बताइन्छ । गत माघसम्म वितरणतर्फको विद्युत चुहावट तीन दशमलव ९८ प्रतिशत बिन्दुले घटेर चार दशमलव ८९ प्रतिशतमा सीमित भएको छ । 

गत असार मसान्तसम्म चुहावट आठ दशमलव ८७ प्रतिशतमा सीमित थियो । यता, प्रशारणतर्फको माघसम्मको चार दशमलव ६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२ दशमलव ५९ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ । 

समग्र प्रणालीको विद्युत चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । चालु आवको माघसम्म वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत उत्पादन भएकोमा पाँच खर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको पाइएको छ । 

प्राधिकरणकाअनुसार चार करोड ५८ लाख युनिट विद्युत चुहावट भएको छ । प्रणालीमा भएकोमध्ये सबैभन्दा ठूलो चुहावटको हिस्सा वितरणतर्फ हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको चुहावटलाई १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

त्यस्तै, वितरणतर्फको चुहावटलाई आठ दशमलव ५ प्रतिशतमा झार्न सकिनेमा प्राधिकरण विश्वस्त देखिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराईमा केही मात्रामा विद्युतको चोरी बढेपनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएको कदमले यसलाई घटाउने दाबी गरेका छन् ।

विद्युत चोरी न्यूनीकरणका लागि प्राधिकरणले अभियान नै सञ्चालन गरेको उनको भनाइ छ । ‘ग्राहकका घरमा राखिएका मीटर रिसिलिङ, बक्यौता नतिर्ने तथा कालोसूचीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मीटर रिडिङ गर्ने, हुकिङबाट हुने चोरी नियन्त्रणका लागि नियमित अनुगमन गर्ने गरेका छौं’, उनले भने । 

साथै, यस अवधिमा धेरै पूराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरु फेरेको जानकारी पनि दिए । प्राधिकरणले प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरुलाई चुहावट नियन्त्रण गर्न सक्दो उपाय अपनाउन निर्देशन दिएको छ । 

वितरण केन्द्रले स्थानीय तहको सहयोगमा विद्युत चोरी गर्नेलाई कारबाही गर्दै आएको छ । प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा हुने गरेको छ । 

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रले १२ दशमलव ३० प्रतिशत रहेको चुहावट घटाएर ११ दशमलव ७८ प्रतिशतमा झारेको विवरण पनि देखाइएको छ ।

टिप्पणीहरू